दाङमा कांग्रेस सभापतिको घरमा प्रहरीबाटै जुवाडे लुटिए, जुवाखालको पैसा लिएर हिँडेपछि जुवाडे अलपत्र – Nepal Press

दाङमा कांग्रेस सभापतिको घरमा प्रहरीबाटै जुवाडे लुटिए, जुवाखालको पैसा लिएर हिँडेपछि जुवाडे अलपत्र

दाङ । दाङमा नेपाली कांग्रेसका नगर सभापतिको घरमा चलिरहेको जुवाखालमा छापा मार्न गएको प्रहरीले उल्टै पैसा लुटेर हिँडेको छ ।

इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) भीमबहादुर रावत नेतृत्वको टोली तुलसीपुर उपमहानगरका कांग्रेस सभापति सुरेश हमालको दंगिशण-३ रावतगाउँस्थित घरमा जुवाखालमा पुगको थियो । उक्त घरमा हमालका बुवा बस्दै आएका छन् ।

मंगलबार राति करिब साढे १० बजे सुरूमा हमालको घरमा जिप्रका दाङका दुईजना सादा पोशाकका प्रहरी खटिएका थिए । उनीहरूले कार्डपत्ति खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएका थिए । त्यसपछि इप्रका हेकुलीका इन्चार्ज सई रावतलाई खबर गरिएको थियो । रावत पुगेपछि जुवाडेले आफूहरू गिरफ्तारी दिन तयार भएका थिए ।

तर, रावतसहित जिप्रकाबाट आएका सहायक हवल्दार बेलबहादुर बोहरा र जवान हिमाल शाहीले जुवाडेलाई पक्राउ नगरी जुवाखालमा रहेको करिब ८० हजार रूपैयाँ लगेर भागेका थिए ।

´हामीलाई पक्राउ गर्नुस् भनेका हौं । तर, पुलिसले हामीलाई नलगी पैसामात्रै लगेर भागे’, जुवामा संलग्न होमर केसीले नेपाल प्रेससँग भने । उनका अनुसार तास खेल्ने ठाउँमा कोही पनि पेशेवार जुवाडे थिएनन् । घरबेटी टोपबहादुर हमाल बिरामी भएकाले भेट्न गएका बेला समय गुजार्न तास खेलेको उनले बताए । सई भीमबहादुर रावतले भने प्रहरीले नलगेको प्रतिक्रिया दिएका छन् ।

´जिप्रकाको टोलीले जुवाडे नियन्त्रणमा लिएको थियो । म गएपछि सम्झाईबुझाई छाडेको हो । पैसा लगेको होइन’, ` सई रावतले भने ।

तर, जिप्रकाबाट गएका दुबैजना प्रहरीले भने पैसा लगेको स्वीकार गर्दै गल्ती गरेको बताएका छन् ।

´जुवाडे समातेर पैसा ल्याई आएका हौं । पैसा ल्याएर जीन्दगीमा ठूलो भूल भयो`, उनीहरूले भने । उनीहरूले यसबारेमा जिप्रकामा भने कुनै जानकारी नदिएको बताएका छन् ।

दाङ प्रहरी प्रमुख रामबहादुर केसीले पनि यसबारेमा आफूलाई थाहा नभएको बताए ।

´प्रहरी त्यस्तो गर्नु अपराध हो । छानबिन गरेर दोषी देखिए कारवाही गर्छौं`, एसपी केसीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *