आनन्दको शोकमा विक्षिप्त दुई बहिनी अस्पताल भर्ना, शव ल्याइदिन सीडीओसँग परिवारको गुहार – Nepal Press

आनन्दको शोकमा विक्षिप्त दुई बहिनी अस्पताल भर्ना, शव ल्याइदिन सीडीओसँग परिवारको गुहार

जनकपुरधाम । इजराइलमा भएको आतंकी हमलामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ४ का आनन्द साहले ज्यान गुमाएका छन् । उनको परिवारले मुख हेर्न भए पनि आनन्दको शव ल्याइदिन गुहार गरेका छन् ।

सोमबार दिउँसो मृतक आनन्दको परिवारको अवस्था बुझ्न धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चक्रपाणि पाण्डे पुगेका थिए । सीडीओसँग आनन्दका बुवा सोमनले भने, ‘छोरा मेरो सर्वस्व थियो । उनको मुख हेर्न भए पनि शव ल्याउन पहल गरिदिनुस् ।’

गाउँ र उनको परिवार शोकमा डुबेको देखेर सीडीओ पाण्डे पनि भावुक बने । उनको अनुहार मलिन भयो । सीडीओ पाण्डेले शव ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए ।

कृषि तालिमका लागि इजराइल गएको २४ दिनमै आनन्द मारिएका थिए । उनी एक्लो छोरा थिए । उनका तीन बहिनीमध्ये जेठी सुनिताको विवाह भइसकेको छ ।

आनन्दले आफू कमाउन भएपछि दुई बहिनीको बिहे गर्ने र घर पनि बनाउने सपना परिवारमा बाँडेका थिए । दाइको मृत्युको खबरले तीनै बहिनी, आमा र बुवा विक्षिप्त छन् । हिजोदेखि घरमा चुलो बलेको छैन । रुँदारुँदै कमजोर भएका बहिनीहरु सरस्वती र आरती अस्पताल भर्ना भएका छन् ।

स्थानीयले उनीहरुलाई जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया पुर्‍याएका छन् । आनन्दकी आमा शुभकली अस्पताल जान मानेकी छैनन् । उनी पटक पटक मुर्छित हुन्छन् ।

आनन्दको पढाइमा करिब ३० लाख रुपैयाँ खर्च भएको बुवा सोमनले सुनाए । ‘पढाउन खेत पनि बेचें । साहुबाट ऋण पनि लिएको छु’, उनले भने, ‘छोराले कमाएपछि घर बनाउने भनेको थियो । अब कसले घर बनाइदिन्छ ?’

शोकमा डुबेको आनन्दको घरमा गाउँका महिलाको भीड लागेको छ आनन्दका आमाबुवा भुईंबाट उठ्न सक्ने अवस्थामा छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *