रास्वपा नेता शीतल निवासमा, आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण – Nepal Press

रास्वपा नेता शीतल निवासमा, आममाफीको गलत प्रयोग भइरहेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल) लाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएको हो ।

आममाफीको विरोधमा राष्ट्रपतिकहाँ ध्यानाकर्षण पत्र लिएर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू शीतलनिवास पुगेका थिए ।

रास्वपाले सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी, मुलतबी परिवर्तन वा कम गर्ने व्यवस्था विगतदेखि नै गलत प्रयोग भइरहेको उल्लेख गरेको छ ।

राष्ट्रपतिकहाँ बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘…यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भएपनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ ।’

त्यसो त आइतबारको प्रतिनिधिसभाको बैठकमा पनि सभापति लामिछानेले आममाफीप्रति आपत्ति जनाउँदै राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पाटी गरेको आरोप समेत लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर