एमाले गण्डकी अधिवेशन: १७ गतेभित्रै नेतृत्व चुनिने दाबी – Nepal Press

एमाले गण्डकी अधिवेशन: १७ गतेभित्रै नेतृत्व चुनिने दाबी

पोखरा । नेकपा एमाले प्रदेश कमिटीको पहिलो अधिवेशन चलिरहेको छ । लुम्बिनी र बागमती प्रदेशको अधिवेशन सकिसकेको छ भने बाँकी प्रदेशको प्रक्रिया सुरु भएको छ ।

अधिकांश प्रदेश अधिवेशनमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया पछि धकेलिएको थियो । सोमबार सुरु हुने गण्डकी प्रदेश अधिवेशन पनि पछि धकेलिने संकेत देखिएको छ । पदाधिकारी बन्न धेरैले आकांक्षा देखाउँदै निर्वाचन हुने सम्भावना बढेको छ ।

एमाले प्रदेश कमिटीले भने अधिवेशन तोकिएको मितिभन्दा पछि नधकेलिने विश्वास व्यक्त गरेको छ । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले १७ गतेभित्र गण्डकीमा नयाँ नेतृत्व चुनिसक्ने दाबी गरे ।

‘अधिवेशन सकियो भने प्रतिनिधिलाई व्यवस्थापन गर्न समस्या पर्छ’, उनले भने, ‘१६ गते बेलुकाबाट निर्वाचन प्रक्रिया थालेर सम्भवतः १७ गते बेलुकासम्म नयाँ नेतृत्व चुनिसक्छौं ।’

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९०७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १४६ र मनाङबाट सबैभन्दा कम १४ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।

सोमबार पोखराको अमरसिंह चौरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अधिवेशन उद्घाटन हुनेछ । त्यसपछि सोमबार बेलुकादेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुने शर्माले
जानकारी दिए ।

आन्तरिक जनवादको अभ्यास गर्दै यथाशक्य सहमतिबाट नेतृत्व चयन गर्ने र त्यो सम्भव नभए लोकतान्त्रिक अभ्यास हुने एमाले सचिव एवं गण्डकी इन्चार्ज गोकर्ण बिष्टले बताए ।

‘हामी यथाशक्य सहमतिमै नेतृत्व चुन्छौं । कथंकदाचित त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चुनिन्छ । प्यानल बनाएर चुनाव लड्ने अवस्था आउँदैन र त्यस्तो छुट पनि हुनेछैन’, उनले भने ।

अहिले ४४९ सदस्यीय कमिटी रहेको र अधिवेशनले १६५ सदस्यीय कमिटी चुन्ने अध्यक्ष शर्माले बताए । कास्कीको रुपा गाउँपालिका बाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकीले जनाएको छ ।

प्रदेश कमिटी अध्यक्ष शर्मा, केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थाहा, राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँका पूर्वप्रदेशसभा सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालको प्रदेश अध्यक्षमा दाबी छ ।


प्रतिक्रिया

One thought on “एमाले गण्डकी अधिवेशन: १७ गतेभित्रै नेतृत्व चुनिने दाबी

  1. गलत भयाे न्युज कृष्ण थापा हाे थाहा भयाे केदार सिग्देल प्रदेश सभा सदस्य हाेइनन् उमेदवार हुन चुनाव हारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर