बहुप्रतिभाशाली तिवारी आमा : गाउँमै बसेर देश विदेशमा यसरी बनिन् ‘भाइरल गायिका’ – Nepal Press
तीज विशेष:

बहुप्रतिभाशाली तिवारी आमा : गाउँमै बसेर देश विदेशमा यसरी बनिन् ‘भाइरल गायिका’

रुपन्देही । कला र गला भएपछि गाउँमै बसेर पनि आफ्नो प्रतिभा देखाउन सकिन्छ भन्ने उदाहरण बनेकी छन्, तिवारी आमा । परम्परागत गाउँले भाकालाई टपक्क टिपेर गीतको लयमा लैजाने क्षमताकी धनी तिवारी आमा पाल्पा रामपुरमा स्थायी बस्छिन् ।

रामपुरको वडा नं ५ मा बस्ने उनको नाम लक्ष्मी तिवारी भए पनि तिवारी आमाको नामले परिचित छन् ।

२०१७ सालमा जन्मेकी तिवारी आमाको ०३२ सालमा विवाह भएको हो । पछिल्लो समय देश विदेशका लोकसंगीत पारखीहरूका लागि यो परिचित नाम हो उनको । विशेष गरी परम्परागत तीज गीतलाई आफ्नो प्रस्तुतिको सुरुवात गरेकी उनले त्यसयता धेरै गीत गाएकी छन् ।

उनी धेरैजसो सन्देशमूलक गीतहरू गाउने गर्दछिन् । तिवारी आमाले आफ्नो आमा सानैमा बितेको, आफूले पढ्न नपाएको विषयले मनमा छोएका कारण गीतबाट यस्ता विषयमा सन्देश दिने गरेको बताउँछिन् । आमा बितेपछि पाल्पाको पूर्व खोलामा रहेको मावलीमा उनी हुर्केकी हुन् ।

बुवा रवीन्द्रनाथ ज्ञवाली र आमा पवित्रादेवी ज्ञवालीको कोखबाट जन्मेकी उनका ३ दिदीबहिनी र १ दाजु रहेका थिए ।

उनको रामपुरका डोलाराम तिवारीसँग विवाह भएको हो । तीन छोरा १ छोरी रहेका उनका दुई छोरा विदेशमा छन् । एक छोरा कुवेत, एक छोरा दुई र एक छोरा घरमै रहेका छन् । सामान्य किसान परिवारमा रहेकी उनी गाउँघरमै हुने मेलापातमा जाँदा आउँदा र घरमै काम गर्दा गीत गुनगुनाउने गर्दछिन् ।

गाउँघरमा हुने कार्यक्रम, जमघटमा पहिलेदेखि नै उनले अगाडि सरेर गाउने गर्दथिन् । आफ्नो नाम मात्र लेख्न सक्ने उनले मोबाइलमा नम्बर राखनसमेत अरूको साथ खोज्नुपर्ने भए पनि गाउन र नाच्न अनि गीत जुराउन कसैको साथ चाहिँदैन ।

कसरी गीत जुराएर लेख्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् ‘मेरा गीत सबै आत्माबाट फुरेर आउँछन्, गीत कसरी लेख्ने हो, मैले नाम मात्र लेख्न जानेकी छु, मोबाइलमा नम्बर राख्न त अरूलाई दिनुपर्छ बाबु, उमेरमा पढ्न पाइएन, सानैमा आमा बित्नुभयो, छिटै विवाह भयो, गाउँको व्यथा सबै यस्तै त हो ।’

उनले गाउने गीतहरूमा सामाजिक विकृति, विभेदविरुद्ध सचेतनामूलक सन्देशहरू धेरै समेटिएका हुन्छन् । यसका सार्थ उनले राजनीतिक क्षेत्रमा विकृतिलाई उजागर गर्ने, बाध्यताले विदेशिएकालाई दिने सन्देश र उनीहरूको कर्तव्यका विषयलाई गीतहरूमा समेट्ने गरेकी छन् ।

‘सबै क्षेत्रका विकृतिलाई उठाउने गरेकी छु, राजनीति बिग्रने चिन्ता लाग्छ, सबै क्षेत्रमा गलत राजनीति पुग्यो भने बिग्रने हो भन्ने बुझेकी छु, नपढे पनि यो विषयमा ज्ञान छ, गीतबाट सबैलाई बुझाउन पनि सजिलो हुन्छ’ उनले भनिन् ।

तिवारी आमा अहिले पाल्पामा मात्रै होइन जिल्ला बाहिरका विभिन्न कार्यक्रममा गीत गाउन, सम्मानित हुन दौडिरहने गर्दछिन् । उनका गीतहरू सामाजिक सञ्जालमा भाइरल भएपछि विदेशमा समेत बोलाउन थालिएको छ । उमेर ६ दशक काटे पनि गायन क्षेत्रमा उनको सक्रियता अझै बढेको छ । गाउने रहर उस्तै बढेको छ । बोलाएको सबै ठाउँमा पुग्न सकिन्न, तर धेरै ठाउँमा गएको छु,माया गर्नुहुन्छ, सबैले यसमै खुसी छु, तिवारीले भनिन् ।

अनौपचारिक रूपमा धेरै गीत गाएकी तिवारी आमाको औपचारिक पहिलो गीत पानी मरुवा हो । कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा सँग गाएकी थिइन् । यसबाट उनका पाँच वटा एल्बम बजारमा पुगेका छन् । यो गीतमा धेरै सामाजिक सन्देश दिने खालका छन् ।

त्यसयता उनले नियमित रूपमा गीत निकाल्दै आएकी छन् । केही समयअघि उनी दुई पटक इन्द्रेणीमा पुगेर आफ्नो गीतहरू राखेकी थिइन् । लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा उनी आफ्ना गीतहरू लिएर जाने गरेकी छन् । केही वर्षअघि दुबईमा गएर उनले गीत गाएकी थिइन् । गीत गाउन, मादल बजाउन, नाच्न अनि एक्टिङ गर्नसमेत उस्तै जानेकी भएकाले पनि धेरैको रोजाइमा परेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *