दुई छोरालाई विष खुवाएर किन झुन्डिइन् २५ वर्षीया आमा – Nepal Press

दुई छोरालाई विष खुवाएर किन झुन्डिइन् २५ वर्षीया आमा

काठमाडौं । झापाको शिवसताक्षी-३ भोटेपुलमा तीन दिनअघि दुई छोरा र आमा मृत भेटिए । आफ्नै घरभित्र दुई छोरा ८ वर्षीय विशाल र २ वर्षीय आयुष खाटमा मुखबाट फिँज काढेको अवस्थामा थिए भने नजिकै २५ वर्षीया अञ्जली सलले पासो लगाएर झुन्डिएकी थिइन् । मृतकहरुको शरीरमा कुनै पनि चोटपटक नरहेका कारण यो हत्या नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

‘प्रारम्भिक अनुसन्धानमा यो हत्या जस्तो देखिँदैन, तर प्राविधिक अनुसन्धानको विस्तृत रिपोर्ट आएपछि के भएको हो, थाहा हुनेछ’, झापा जिल्ला प्रहरीका प्रवक्ता कृष्ण चन्दले भने ।

अञ्जली दुई छोरासहित उक्त घरमा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार शुक्रबार बिहान अबेरसम्म अञ्जलीको घरको बाहिर बत्ती बलिरहेको थियो ।

‘सधैं खेल्न आउने साथीहरुको घर सुनसान देखिएपछि एक जना बालक घर पुगेर हेरेका रहेछन् । त्यसपछि प्रहरीलाई जानकारी भयो’, डीएसपी चन्दले भने ।

प्रहरीले मृत्युको कारण खोज्न भिसेरा परीक्षणका लागि पठाएको छ । यस्तै अञ्जलीले बोक्दै आएको मोबाइलको ‘प्याटर्न लक’ रहेका कारण त्यसलाई पनि डिजिटल फरेन्सिक ल्याबमा पठाइएको डीएसपी चन्दले बताए ।

‘मोबाइलबाट पनि केही कुरा आउला कि’, उनले भने ।

अञ्जलीका श्रीमान सुजन वैदेशिक रोजगारीका लागि कतारमा छन् । उनी गत पुसमा मात्र कतार गएका हुन् । श्रीमान नेपाल फर्किसकेका छैनन् । श्रीमानसँग कुरा गरेपछि पछिल्लो सम्बन्ध र अवस्थाबारे थाहा हुने विश्वास प्रहरीको छ ।

अञ्जली सुजनकी कान्छी श्रीमती हुन् । मृतकमध्ये विशाल सुजनकी जेठी श्रीमतीपट्टीका छोरा हुन् । जेठीले छाडेर गएपछि चार वर्षअघि सुजनले अञ्जलीसँग विवाह गरेका थिए । प्रहरीका अनुसार सुजनले केही समयअघि मात्र परिवारलाई ६० हजार रुपैयाँ पठाएका थिए । मृत भेटिएको अघिल्लो दिन अञ्जली छोरा पढ्ने स्कुल गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।

जावलाखेलमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

ललितपुरको जावलाखेलमा शनिबार कोठामा मृत भेटिएका दम्पतीको घटनामा श्रीमानले श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ । सिन्धुपाल्चोक स्थायी घर भएका २५ वर्षीय उमेश सेन्चुरी र २५ वर्षकै रेणु सेन्चुरी बन्द कोठामा मृत भेटिएका थिए ।

ललितपुर प्रहरी परिसर स्रोतले उमेशले श्रीमतीको हत्यापछि विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने जानकारी दियो ।

‘पोस्ट मार्टममा खटिएका चिकित्सकले श्रीमतीको घाँटी थिचेर मृत्यु भएको जानकारी दिएका छन् । उमेशले विष सेवन गरेको देखिन्छ’, स्रोतले भन्यो ।

उमेश र रेणुबीच सम्बन्ध राम्रो थिएन । त्यही कारण उमेश केही समययता कपनमा बस्दै आएका थिए । शनिबार दिउँसो दिनभर उमेश श्रीमती बस्दै आएको कोठाको आसपास हिँडेको स्थानीयले प्रहरीलाई बताएका थिए ।

‘बाहिरबाट आएकी श्रीमतीले कोठा खोलेलगत्तै उमेशले आफू पनि जबरजस्ती प्रवेश गरेको भन्ने छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

उमेश र रेणुबीच ११ वर्षअघि अन्तरजातीय विवाह भएको थियो । रेणुका माइती श्रेष्ठ हुन् । उनीहरुका ६ वर्षका छोरा छन् । छोरा मामाघरमा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर