बढाइएको ब्याजदर स्थिर राख्नुपर्ने दबाबमा बैंकहरु – Nepal Press

बढाइएको ब्याजदर स्थिर राख्नुपर्ने दबाबमा बैंकहरु

काठमाडौं । बैंकहरुलाई अहिले हरेक महिना ब्याजदर तलमाथि गर्ने सुविधा छ । नेपाल राष्ट्र बैंकले दिएको यो सुविधा लिन बैंकहरु एक कदम अगाडि नै छन् । भदौमा ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका केही बैंकहरुलाई फेरि ब्याजदर बढाउन नैतिक सकस देखिएको छ ।

अर्थ मन्त्रालयले स्थानीय तहमा जाने ६० प्रतिशत रकम बैंकहरुलाई निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएसँगै केही बैंकलाई ब्याजदर बढाउन नैतिक संकट पर्ने देखिएको हो ।

स्थानीय तहको रकम सबैभन्दा बढी तीन वटा सरकारी बैंक राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक तथा निजी क्षेत्रको एनआईसी एसिया बैंक रहेको एक बैंकर्स बताउँछन् । ब्याजदर बढाएको भन्दै तीन वटै सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयमै बोलाएर झपारिसकेका छन् । तर, ती बैंकका सीईओहरुले भने निक्षेप जोगाउन ब्याजदर बढाएको जवाफ अर्थमन्त्रीलाई दिएका थिए । अब यी बैंकहरु थप ब्याजदर बढाउने पक्षमा छैनन् ।

अर्कोतर्फ स्थानीय तहको रकम सबैभन्दा बढी उपभोग गरेको एनआईसी एसिया पनि ब्याजदर बढाउन संकटमा परेको छ । एक बैंकर्स भन्छन्, ‘एनआईसीलाई अर्थमन्त्रीले सहयोग गरेपछि उसले पनि अर्थमन्त्रीलाई ब्याजदर नबढाएर सहयोग गर्नुप¥यो नि ?’

सरकारले स्थानीय तहमा जाने ८० प्रतिशत रकम बैंकहरुलाई निक्षेपमा गणना गर्न दिएको थियाे । चालू आर्थिक वर्षबाट भएको यस व्यवस्थापछि बैंकहरु असन्तुष्ट छन् । स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने व्यवस्थाका कारण ब्याजदर बढाएको ती बैंकहरुको भनाइ छ ।

राष्ट्र बैंकले सोमबार स्थानीय तहमा जाने रकम निक्षेपमा गणना गर्न बैंकहरुलाई पत्राचार गरेको छ । ८० प्रतिशतको सीमालाई घटाएर ६० प्रतिशतमा झारिएको हो । ६० प्रतिशत रकम निक्षेपमा गणना गर्दा पनि बैंकहरुमा ६० अर्ब ९० करोड रुपैयाँ थपिने नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले बताए ।

यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम करिब ६१ अर्बले बढ्नेछ । यससँगै बैंकिङ प्रणालीमा ५ खर्ब अधिक तरलता पुगेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । खालिङका अनुसार अधिक तरलता ५ खर्ब भए पनि कर्जा दिन सक्ने रकम साढे २ खर्बमात्रै रहेको छ । यद्यपि कर्जा माग भने ज्यादै न्यून छ ।

भदौ महिनामा सिद्धार्थ, नेपाल एसबीआई, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, माछापुछ्रे बैंकले कम ब्याजदर (९.९९ प्रतिशत) दिएका थिए । यी बैंकहरुले असोजमा ब्याज बढाउन सक्ने सम्भावना रहेको एक बैंकर्स बताउँछन् । ती बैंकर्स भन्छन्, ‘जसले बढी ब्याज दिन्छ, निक्षेपकर्ता उतै डाइभर्ट हुन्छ । हामीले ब्याज कम भएकै कारण अर्बौं निक्षेप गुमाइसकेका छौं । ब्याजदरको विषयमा निक्षेप जोगाउन नै भए पनि ब्याजदर बढाउनु पर्नेछ ।’

अर्कोतर्फ मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिएको एभरेष्ट बैंकले पनि ब्याजदर बढाउने संकेत गरेको छ । अहिले सबैभन्दा बढी ब्याजदर १०.८९६ प्रतिशत नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कुमारी, एनआईसी एसिया, ग्लोबल आईएमई बैंकको रहेको छ । यस्तै सिटिजन्स र नबिलको पनि ब्याजदर बढी नै छ ।

निक्षेपकर्ताहरुले बढी ब्याज दिने बैंकमा आफ्नो रकम राखे जस्तै ऋणीहरुले पनि कम आधारदर (बेस रेट) भएका बैंकहरुबाट ऋण लिन थालेका छन् । बैंकरहरुका अनुसार ऋणीहरुले कम ब्याजदर भएका बैंकबाट रकम लिएर बढी ब्याजदर लिने बैंकलाई तिर्न थालेका छन् । निक्षेप एक बैंकबाट अर्को बैंकमा गए जस्तै ऋणी पनि बढी ब्याजदर भएको बैंकबाट कम ब्याजदर भएको बैंकमा सिफ्ट हुन थालेको बैंकर्सहरुको भनाइ छ ।

भदौ अघिसम्म बैंकहरुले एकापसको समझदारीमा ब्याजदर तोक्दै आएका थिए । तर, भदौमा बैंकहरुले भद्र सहमति तोडेर आफूखुशी ब्याजदर निर्धारण गरेर प्रतिस्पर्धामा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *