हट्यो कोशीको बजेट शून्यता, प्रदेश प्रमुखद्वारा २ विधेयक जारी – Nepal Press

हट्यो कोशीको बजेट शून्यता, प्रदेश प्रमुखद्वारा २ विधेयक जारी

विराटनगर । कोशी प्रदेशमा भदौ १० यताको बजेट शून्यता आजबाट हटेको छ ।

कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन विधेयक २०८० जारी गरेसँगै बजेट शून्यताको अवस्था हटेको हो ।
नेपालको संविधान धारा २०२ उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले २ अध्यादेश जारी गरेका हुन् ।

जसपा र माओवादी केन्द्रले बजेट ल्याउने बेला समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । उक्त बजेट भदौ १० गतेबाट निष्क्रिय भएको थियो ।उक्त अध्यादेश असार १४ गते प्रदेशसभामा टेबुल भएकोमा अध्यादेश टेबुल भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा बजेट शून्यताको अवस्था उत्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

सर्वोच्चको परमादेशसँगै पुन: नियुक्त भएका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको पहिलो क्याविनेटले बजेट शून्यता अन्त्यका लागि आर्थिक अध्यादेश-२०८० र प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *