भिसा अस्वीकारः प्रतिष्ठा सन्दीपको गिर्‍यो कि देशको ? – Nepal Press
टिप्पणी

भिसा अस्वीकारः प्रतिष्ठा सन्दीपको गिर्‍यो कि देशको ?

कुटनीतिमा एउटा मान्यता छ, देश ठूलो होस् या सानो, समृद्ध होस् या तन्नम, सम्प्रभूता सबैको बराबर हुन्छ । सबैको सार्वभौमिकता उस्तै संवेदनशील हुन्छ । तर, नेपालका हकमा यो विश्वव्यापी मान्यता एकादेशको कथाजस्तो बन्दै आएको छ ।

हामीसँग कहिल्यै पराधीन नभएको गर्विलो इतिहास छ । तर, व्यवहारमा स्वाधीन र सार्वभौम हुन नसकेको लज्जास्पद वर्तमान पनि । पछिल्लो कालखण्डमा राजा महेन्द्रको शासनकाललाई अपवाद मान्ने हो भने विश्वस्तरमा नेपालको स्वाधीनता बलियो बनाउने र नेपालीहरूको आत्मसम्मान माथि उठाउने काम कुनै पनि शासकहरूबाट हुन सकेन । राजतन्त्र उखेलिएर लोकतन्त्र हुँदै देश गणतन्त्रमा त गयो, तर राष्ट्रिय स्वाभिमान झन् झन् गिर्दै रसातलमा पुग्न लागेको तीतो यथार्थलाई हामीले स्वीकार्नैपर्छ । राजतन्त्रकालमा तैबिसेक थियो, गणतन्त्रकालीन नेपालका शासकहरुलाई त विदेशी काउन्टरपार्टले होइन, उनीहरूका आवासीय दूतले नै हाइहुकुम गर्छन् ।

अब अहिलेको मूल प्रसंगमा आउँ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी राजदूतावासले अस्वीकार गर्‍यो । सतहीरूपमा हेर्दा ठूलो मुद्दा लाग्दैन । यसलाई राष्ट्रिय सम्प्रभूतासँग जोड्नु अतिरञ्जना लाग्न सक्छ । दूतावासले दिनहुँ थुप्रै नेपालीको भिसा आवेदन रिजेक्ट गरिरहेको हुन्छ, त्यसमा सन्दीप पनि परे । कसलाई भिसा दिने वा नदिने भन्ने दूतावासको क्षेत्राधिकारको कुरा भएकाले यसमा किन रोइलो गर्ने भन्ने धेरैको मत पाइएको छ । तर, यो यति सरल र मामुली विषय किमार्थ होइन ।

अमेरिकी दूतावासको हर्कतमा खुशीको अट्टहाँस गरिरहँदा उनीहरूले यो भुलिरहेका छन् कि प्रतिष्ठा सन्दीपको होइन देशको गिरेको हो । देशको प्रतिष्ठा गिर्नु भनेको प्रत्येक नागरिकको आत्मसम्मान कमजोर हुनु हो ।

सरकारै लागिपर्दा पनि देशको एउटा राष्ट्रिय क्रिकेटरलाई विश्वकप खेल्ने भिसा दिलाउन नसक्नु भनेको ऐतिहासिक निरिहता हो । विश्व महाशक्ति कहलाएको अमेरिकाले नेपालको सम्प्रभूतालाई गरेको अस्वीकारोक्ति हो । सिंगो देश लज्जित हुनुपर्ने घटना हो । हुन त ‘नयाँ नेपालमा’ हामी लज्जित हुन बानी परेका छौं, थप एकपटक भइयो त के आकाश खस्यो भनेर पनि चित्त बुझाउन पनि सकिएला !

सन्दीप लामिछाने अमेरिकाको भिसा लगाएर उतै सेटल हुने सपना देखेका आम युवक होइनन् । उनी अन्तर्राष्ट्रियस्तरमा सुपरिचित नेपालका प्रख्यात खेलाडी हुन् । नेपाली क्रिकेटका एक धरोहर हुन् । विश्वका अधिकांश देशमा हुने क्रिकेट लिग खेलिसकेका र अमेरिकामै पनि विगतमा खेलेर फर्किएका उनले मागेको समयमा तत्काल भिसा पाउनुपर्थ्यो ।

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीपलाई नेपालबाट विश्वकप खेल्न अनुमति दिइसकेको थियो । त्यही आधारमा नेपालको क्रिकेट बोर्डले उनलाई १५ सदस्यीय स्क्वाडमा सहभागी गराउने निर्णय गरेको हो । आईसीसीको अनुमति र क्यानको निर्णयसहित सन्दीपले आवेदन गरेपछि भिसा नदिनुपर्ने कुनै वैध कारण थिएन । तर, दूतावासले दुईपटक अन्तरवार्तामा बोलाएर सन्दीपलाई अपमानजनक तरिकाले खाली हात फर्कायो । नेपाललाई विश्वकपमा पुर्याउन प्रमुख भूमिका खेलेका खेलाडी नै विश्वकपमा छुटे ।

पहिलोपटक भिसा अस्वीकार गर्नुलाई धेरै अस्वाभाविक नमानौं । अमेरिकी दूतावाससँग सुमधुर सम्बन्ध भएका केही ‘डलरवादी’ अधिकारकर्मी र सेलिब्रिटी छविका नेताको लविङ एवम् अदालतको फैसलापछि पनि सन्दीपका विरुद्ध जारी मिडियाबाजीले दबाब र प्रभाव परेको हुन सक्ला । वा दूतावास आफैंले सन्दीपप्रति कुनै सन्देह राखेको होस् ।

तर, दोस्रोपटकमा नेपालको सरकार नै भिसा प्रक्रियामा संलग्न थियो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले नै दूतावासमा प्रत्यक्ष पहल गरेका थिए । परराष्ट्र मन्त्रालयले कुटनीतिक नोटसमेत पठाएको थियो । तर, अमेरिकी दूतावासले कसैलाई टेरपुच्छर लगाएन । यो चाहीँ अस्वाभाविक हो । यसलाई अमेरिकाले सन्दीपमाथि होइन, नेपालको सरकारमाथि गरेको अपमानका रूपमा लिन सकिन्छ । विश्वकप आयोजक राष्ट्रले एउटा प्रतिस्पर्धी राष्ट्रको प्रमुख खेलाडीलाई भिसा नदिएर रोक्नु अमेरिकाकाे  खेदजनक व्यवहार र `अश्लील कुटनीति’ पनि हो ।

एउटा घटना सम्झिनु सान्दर्भिक हुनेछ । बंगलादेशका क्रिकेटर रुबेल हुसेन सन् २०१५ को जनवरीमा एक अभिनेत्रीले दिएको उजुरीलाई लिएर पक्राउ परे । ती अभिनेत्रीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । रुबेल सोही वर्ष फेब्रुअरीमा आयोजना हुने विश्वकप क्रिकेट खेल्ने बंगलादेशी स्क्वाडमा समावेश थिए । यही आधारमा उनले आफूलाई विश्वकप खेल्ने अनुमति दिन अदालतसँग अपिल गरे । अदालले उनलाई विश्वकपभरिका लागि अन्तरिम जमानत प्रदान गर्‍यो ।

हिरासतमा बसेको तीन दिनमै रुबेल जमानतमा छुटे । उनी विश्वकप खेल्न अष्ट्रेलिया र न्यूजिल्यान्ड गए । दुवै देशले उनलाई भिसा दिन कुनै आनाकानी गरेनन् । सम्बन्धित देशको अदालतको निर्णयलाई सम्मान गर्दै अष्ट्रेलिया र न्यूजिल्याण्डको दूतावासले रुबेललाई विश्वकपका लागि आ-आफ्नो देश आउन अनुमति दिएका थिए । रुबेलले विश्वकप खेले र उत्कृष्ट प्रदर्शन पनि गरे । पछि स्वदेश फर्किएर फेरि हिरासतमा बसे । सात महिनापछि अभिनेत्रीले आरोप फिर्ता लिइन् र अदालतले उनलाई निर्दोष ठहर्‍यायो ।

विश्व महाशक्ति कहलाएको अमेरिकाले नेपालको सम्प्रभूतालाई गरेको अस्वीकारोक्ति हो । सिंगो देश लज्जित हुनुपर्ने घटना हो । हुन त ‘नयाँ नेपालमा’ हामी लज्जित हुन बानी परेका छौं, थप एकपटक भइयो त के आकाश खस्यो भनेर पनि चित्त बुझाउन पनि सकिएला !

रुबेल र सन्दीपको अवस्था एउटै होइन । रुबेलमाथि बलात्कारको मुद्दा अदालतमा विचाराधीन नै रहँदा विश्वकप खेल्न पाएका थिए । तर, सन्दीप अदालतबाट निर्दोष सावित भइसकेका छन् । निर्दोष सावित हुनु भनेको आरोप लाग्नुभन्दा अगाडिको अवस्थामा फर्किनु हो । अदालतबाट सफाइ पाएको व्यक्तिलाई राज्य, समाज र कानूनले आमव्यक्तिभन्दा फरक व्यवहार गर्न मिल्दैन । कुनै पनि देशको कानूनले सन्दीपलाई भिसा पाउनबाट रोक्न सक्दैन ।

सन्दीपलाई भिसा नदिइएको सम्बन्धमा दूतावासले सामान्य प्रतिक्रिया पनि दिन आवश्यक ठानेको छैन । सामाजिक सञ्जालदेखि सडकसम्म उठेको आवाजलाई पूरै बेवास्ता गरेको छ । यस्तो हेपाहा शैली उसले अरु कमै मुलकमा देखाउन सक्ला ।

अनौपचारिकरूपमा बुझिएअनुसार भिसा नदिनुका तीनवटा कारण छन् । पहिलो उनको मुद्दा चाँडै सर्वोच्च अदालत पुग्नसक्ने र सन्दीप अमेरिकाबाट नफर्किने दूतावासको आशंका । दोस्रो सन्दीपमाथि पहिले जारी भएको रेडकर्नर नोटिस नेपालको सरकारले फिर्ता नलिएको दाबी । र, तेस्रो नेपालकै एउटा तप्काबाट सन्दीपका विरुद्धमा भइरहेको लविङ । ज्ञानेन्द्र शाहीको नेतृत्वमा हिजो भएको आन्दोलनलाई पनि दूतावासले सकारात्मकरूपमा नलिएको बुझिएको छ ।

उल्लेखित यी कारणहरू ‘भ्यालिड’ हुन सक्थे, यदि सन्दीपको भिसा प्रक्रियामा नेपालको सरकार संलग्न नभएको भए । परराष्ट्रले कुटनीतिक नोट पठाउनुको अर्थ सन्दीपको जिम्मेवारी नेपालको सरकारले लिएको हो । कुटनीतिक नोटलाई कुल्चिनु भनेको दूतावासले सरकारमाथि नै अविश्वास गरेको हो । परराष्ट्रमन्त्रीले नै ग्यारेन्टी गर्दा पनि दूतावासका कर्मचारीले पत्याएनन् ।

सामाजिक सञ्जालमा एउटा झुण्ड सन्दीपले भिसा नपाउँदा बडो उत्सव मनाइरहेको छ, मानौं यो उनीहरुको भयंकर ठूलो जित हो । खासमा यिनीहरू संख्यामा थोरै छन् तर डाँको निकै ठूलो छ । उनीहरू आफूलाई अब्बल श्रेणीको बौद्धिक मान्छन् र आफ्नो विचारसँग असहमतहरूलाई अबुझ ठान्छन् । तर, मेरो नजरमा उनीहरूको बौद्धिकता गहुँको भुस जति पनि मूल्यवान छैन ।

दूतावासलाई मात्र दोष देखाएर पनि केही हुनेवाला छैन । समस्याको जरो हामीभित्रै छ । यदि नेपाल देश ‘शक्तिशाली’ हुन्थ्यो र राष्ट्रिय सम्प्रभूता बलियो हुन्थ्यो भने कुनै पनि देशले हेपाहा व्यवहार गर्न सक्दैन थिए । यदि सन्दीप नेपालका नभएर भारतीय वा अष्ट्रेलियन क्रिकेटर हुन्थे भन्थे दूतावासले नाकको चालले भिसा टक्रयाउने थियो । देशको निर्धोपनको चपेटामा परेका हुन् सन्दीप ।

यदि नेपाल अलिकति मात्र पनि कुटनीतिक क्षमतावान हुन्थ्यो भने परराष्ट्रमन्त्रीले राजदूतलाई बोलाएर प्रष्टीकरण लिन सक्थे । तर, हाम्रो देशका मन्त्री शक्तिशाली देशका राजदूतहरूसँग आफैं थुरथुर हुन्छन्, प्रष्टीकरण लिनु कल्पनाबाहिरको कुरा हो । राजदूतावासबाट ग्रिन सिग्नल नआएपछि परराष्ट्रले अमेरिकी सरकारसँगै कुरा गर्नुपर्थ्यो । तर, त्यस्तो तत्परता र ल्याकत कसले देखाउने ?

एउटा कुरा लेखेर राख्दा पनि हुन्छ, अमेरिकाको यो निर्णयको विरुद्ध कुनै पनि हाइप्रोफाइल व्यक्तिले आवाज उठाउनेवाला छैन । कुनै राजनीतिज्ञले बोल्नेवाला छैन । कुनै मिडियाले लेख्नेवाला छैन । कारण एउटै छ, अमेरिकाको विरोध गर्दा भोलि दूतावासले आफूलाई नै ब्ल्याकलिस्टमा राखेर भिसा नदिने डर । जोखिम कसले र किन मोल्ने ? पूर्वमन्त्रीहरूसमेत डीभी भर्ने लाइनमा भेटिने देशमा यस्तो सोच अस्वाभाविक पनि होइन ।

सामाजिक सञ्जालमा एउटा झुण्ड सन्दीपले भिसा नपाउँदा बडो उत्सव मनाइरहेको छ, मानौं यो उनीहरुको भयंकर ठूलो जित हो र उनीहरू वरिपरि पुष्पवृष्टी हुन आवश्यक छ । यो झुण्डमाथि पनि केही शब्द न्यौछावर गर्ने अनुमति चाहन्छु ।

खासमा यिनीहरू संख्यामा थोरै छन् तर डाँको निकै ठूलो छ । सामाजिक सञ्जालमा बलियो पकड राख्छन् । उनीहरू आफूलाई अब्बल श्रेणीको बौद्धिक मान्छन् र आफ्नो विचारसँग असहमतहरूलाई अबुझ ठान्छन् । तर, मेरो नजरमा उनीहरूको बौद्धिकता गहुँको भुस जति पनि मूल्यवान छैन । भुस बरू भैंसीलाई खुवाउन काम लाग्छ, तर यो खोक्रो बौद्धिकता सामाजिक सञ्जाल प्रदूषित बनाउनभन्दा अरु काम आएको देखिन्न ।

बंगलादेशका क्रिकेटर रुबेल हुसेन सन् २०१५ को जनवरीमा एक अभिनेत्रीले दिएको बलात्कारको उजुरीमा पक्राउ परे । रुबेल सोही वर्ष फेब्रुअरीमा आयोजना हुने विश्वकप क्रिकेट खेल्ने बंगलादेशी स्क्वाडमा समावेश थिए । यही आधारमा उनले आफूलाई विश्वकप खेल्ने अनुमति दिन अदालतसँग अपिल गरे । अदालले उनलाई विश्वकपभरिका लागि अन्तरिम जमानत प्रदान गर्‍यो । हिरासतमा बसेको तीन दिनमै रुबेल जमानतमा छुटे । उनी विश्वकप खेल्न अष्ट्रेलिया र न्यूजिल्यान्ड गए ।

अदालतको फैसलापछि पनि यो जमात सन्दीपलाई ‘बलात्कारी’ करार गरिरहेकै छ । अदालतको फैसलालाई दूत्कारिहेको छ । यदि अदालतले सन्दीपको विपक्षमा फैसला गरेको भए उनीहरू न्यायिक सर्वोच्चताको महिमागान गाइरहेका हुन्थे । फैसलामा प्रश्न उठाउनेहरूलाई संविधान र कानून पढाइरहेका हुन्थे । अमेरिकी दूतावासको हर्कतमा खुशीको अट्टहाँस गरिरहँदा उनीहरूले यो भुलिरहेका छन् कि प्रतिष्ठा सन्दीपको होइन देशको गिरेको हो । देशको प्रतिष्ठा गिर्नु भनेको प्रत्येक नागरिकको आत्मसम्मान कमजोर हुनु हो ।

अर्को एकथरि छन्, जो अमेरिका मानवअधिकारमा एकदमै कट्टर र महिलाअधिकारमा साह्रै संवेदनशील भएकाले सन्दीपलाई भिसा नदिनु स्वाभाविक हो भन्ने भाष्य बनाइरहेका छन् । नेपाल सरकारले हस्तक्षेप गर्न मिल्ने विषय नै होइन भन्ने उनीहरूको अभिमत छ । यो चाहिँ बुझाइको सीमितता हो । आफ्नो देशको प्रमुख खेलाडीलाई विश्वकप खेल्न भिसा नदिएपछि सरकारले हस्तक्षेप गर्न मिल्छ । हस्तक्षेप गर्नु पर्छ । कुटनीतिक संयन्त्र आखिर केका लागि ? अनि, जतिसुकै मानवअधिकार र महिलाअधिकारका कट्टर देशले पनि एक अर्को देशको न्यायप्रणालीलाई स्वीकार्नैपर्छ । अदालतबाट सफाइ पाइसकेको व्यक्तिलाई अपराधिको व्यवहार गर्न मिल्दैन ।

हुन त अमेरिकाको कानून कति कट्टर छ भन्ने यसैबाट छर्लंग हुन्छ कि एक महिलासँगको याैनकाण्डमा अदालतबाट दोषी ठहर भई जेल सजायसमेत सुनाइएका डोनाल्ड ट्रम्प त्यहाँको आगामी राष्ट्रपतिका बलिया प्रत्याशी हुन् । दोषी ठहरपश्चात पनि माथिल्लो अदालतमा एउटा पुनरावेदन ठेलिदिएपछि उनलाई चुनाव लड्न र राष्ट्रपति बन्न अमेरिकाको कानूनले रोक्दैन ।


प्रतिक्रिया

2 thoughts on “भिसा अस्वीकारः प्रतिष्ठा सन्दीपको गिर्‍यो कि देशको ?

  1. नेपाल प्रेस सन्दिप निर्दोष ठहर हुनु भन्दा पहिले देखि नै उनको पक्षमा बोल्दै, बचाउ गर्दै आइरहेको छ । बलत्कार जस्तो गम्भिर मुद्दामा एउटा अदालतबाट दोषी ठहर भएको, त्यसभन्दा माथिल्लो अदालतबाट निर्दोष ठहर भएपनि फैसलाको पुर्ण पाठ आउन बाकी रहेको, पिडित भनिएको पक्ष सर्वोच्च जाने समय बाँकि नै रहेको बेलामा समेत संदिपलाइ निकै बोकीरहेको छ । यो मिडियाको सम्पादकीय निति कस्तो होला ? मिल्छभने पढ्न दिए हुन्थ्यो। मेरो बुझाईमा मिडियाको काम भिडले जे खोजिरहेको छ, त्यहि बोल्ने होइन, भिडलाई कता लैजाने भन्ने पनि ख्याल गरेर सामाग्री पस्कनु पर्दछ।

  2. प्रश्न: भिसा अस्वीकारः प्रतिष्ठा सन्दीपको गिर्‍यो कि देशको ?
    उत्तर: पूरै टिमलाई नै नदिएको भए देशको, एकजना धुमिल चरित्र भएकालाई मात्रै नदिए त्यै चरित्रको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *