आसन नमिलेपछि मोहन बस्नेतले प्रधानमन्त्रीलाई भने- यो कार्यक्रम बहिष्कार गरिदिउँ ? – Nepal Press

आसन नमिलेपछि मोहन बस्नेतले प्रधानमन्त्रीलाई भने- यो कार्यक्रम बहिष्कार गरिदिउँ ?

सिन्धुपाल्चोक । चिनियाँ सरकारको सहयोगमा सिन्धुपाल्चोक सदरमुकाम चौतारामा निर्माण सम्पन्न भएको भव्य अस्पताल भवनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार दिउँसो साढे १२ बजे चौतारा आइपुगेका थिए ।

अस्पतालको भवन उद्घाटनअघि जिल्ला समन्वय समितिको सभा हलमा माओवादी केन्द्रले कार्यकर्ता भेला आयोजना गरेको थियो । प्रधानमन्त्री दाहालले झण्डै ४५ मिनेट कार्यकर्ता भेलामा बिताएका थिए ।

प्रधानमन्त्री आउनुअघि नै अस्पताल उद्घाटनस्थलमा पूर्व स्वास्थ्यमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पुगिसकेका थिए । बस्नेत कार्यक्रमस्थलमा निकै आक्रोशित मुद्रामा बसिरहेका थिए ।

कार्यक्रम सञ्चालकसँग बस्नेतले कार्यक्रमको तालिका मागेका थिए । तालिकामा आफ्नो नाम मर्यादाक्रम अनुसार चौथो स्थानमा देखेपछि बस्नेत रिसाएका थिए । प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलको मञ्चमा पुगेपछि उद्घोषकले आसन ग्रहणका लागि पहिला प्रधानमन्त्री दाहाल, दोस्रोमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, तेस्रो वरियतामा चिनियाँ राजदुत छन सङ र चौथो वरियतामा पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नाम बोलाए ।

आसन ग्रहणको कार्यक्रम भइरहँदा मञ्चमा रहेका बस्नेतको छटपटाहट र असन्तुष्टि प्रष्टै देखिन्थ्यो । उनी कहिले वागमती प्रदेशका पुर्वाधार विकास मन्त्री युवराज दुलालसँग आक्रोश पोख्दै थिए भने कहिले कार्यक्रम सञ्चालक डम्बर रसिक भारतीसँग ।

अन्तिममा उनले मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगै गुनासो गर्दै भने– सासंदहरुको अपमान भयो । हामी दुई तीनपटक मन्त्री भइसकेको व्यक्तिलाई राजदूत भन्दा पछाडि राख्ने ?

उनको गुनासो र आक्रोश चाहिँ आसन ग्रहणको थियो । आयोजकले वरियता क्रममा चिनियाँ राजदूतभन्दा पछाडि मात्रै सासंदहरुलाई आसन ग्रहण र वरियता दिएपछि बस्नेत सुरुदेखि नै आक्रोशित भएका थिए । पूर्व स्वास्थ्यमन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले वरियताक्रममा राजदूतभन्दा पछाडि सासंदहरुलाई राखेकाले बस्नेत आक्रोशित भएको बताए ।

बस्नेतले प्रधानमन्त्रीसँग कार्यक्रम नै बहिष्कार गर्ने समेत चेतावनी दिन भ्याएका मञ्चमा रहेका एक सहभागीले बताए । बस्नेतले कार्यक्रम सेड्युल नसच्याए प्रधानमन्त्रीलाई भेटेर पत्रकार सम्मेलन गरेर कार्यक्रम बहिष्कार गर्ने समेत चेतावनी दिएका थिए ।

प्रधामन्त्री दाहालले बस्नेतलाई त्यसो नगर्न आग्रह गरेपछि बस्नेत अन्तिमसम्म कार्यक्रममा बसेका थिए । बोल्ने क्रममा भने पूर्वमन्त्री बस्नेतले अधिकांश समय आफ्नो र प्रधानमन्त्री दाहालको प्रशंसामा समय खर्चेका थिए । तर बोल्ने क्रममा बस्नेत र क्षेत्र नम्बर १ का सासंद माधव सापकोटाबीच भने घोचपेच समेत चलेको थियो । उनीहरु दुवै एउटै गठबन्धनबाट चुनाव जितेका थिए ।

कार्यक्रममा आसन ग्रहणमा बस्नेतले आपत्ति जनाएपछि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले भने दुइ देशबीचको सरकारीस्तरको कार्यक्रम भएकाले राजदूतका रुपमा भन्दा पनि अर्काे देशका प्रतिनिधिका रुपमा राजदूतलाई वरियातक्रममा अगाडि राखिएको प्रष्ट पारे ।

 


प्रतिक्रिया

3 thoughts on “आसन नमिलेपछि मोहन बस्नेतले प्रधानमन्त्रीलाई भने- यो कार्यक्रम बहिष्कार गरिदिउँ ?

  1. नेपालका पार्टिका नेता, पुर्ब प्रधान मन्त्री , मन्त्री , साम्सद तथा बुद्धिजीवी , बिश्लेषकहरुकाे हेसियत र मर्यनदनक्म भारतिय दुतावासले अाया्जना गर्ने किभिन्न समाराेह वा जलपान, दारुपान भाेज देखिन्छ । त्यसै भनरतिय, मन्त्री , सत्तनरुढ दलका नेता, रअका कर्मचारिहरु नेपाल भ्रमणमा अाउदा सबै दलका नेता, पुर्व प्रधानमन्त्री , मन्त्री र बुद्भजकि भनाउदाहरु लुरु लुरु काठमाडौ का हाेटेल हनेटेल तहार्दे गरेकाे दृष्यले नेपनल नेपाली काे हिर झुम्दासाेत ला्पसारबादिहरुले सा्मननित भयकाे महशुस गर्छन । लाजकाे पसाराे, जति निन्दन गरे पनि कम हुन्छ यस्तनकाे ।

  2. बहिस्कार गर्न दिएको भए हुन्थ्यो । के नाप्दोरहेछ हेर्न पाईन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *