कैलाश सिरोहिया दम्पतीको नागरिकतामा शरद भट्टराईको ‘१५ वर्षान्तर’को संयोग, बुढेसकालमा पक्राउ पुर्जी – Nepal Press

कैलाश सिरोहिया दम्पतीको नागरिकतामा शरद भट्टराईको ‘१५ वर्षान्तर’को संयोग, बुढेसकालमा पक्राउ पुर्जी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई २०३६ सालमा वंशजको नागरिकता प्रदान गर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

नेपाल सरकारको सचिव पदबाट अवकाश भइसकेका भट्टराई धनुषाको प्रमुख जिल्ला अधिकारी हुँदा सिरोहियाको नागरिकतामा हस्ताक्षर गरेका थिए । उनी २०३१ सालमा उदयपुर र त्यसपछि २०३६ सम्म धनुषाको सिडिओ भएको पाइएको छ ।

अंगीकृत नागरिक घाँसीराम सिरोहियाका छोरा कैलाशले वंशजको नागरिकता कसरी पाए भनेर भट्टराईलाई अहिले तानिएको छ । उनको परिवारका अन्य दाजुभाइको अंगीकृत नागरिकता पाएको बताइएको छ ।

सिरोहियाले २०३६ भदौ २५ गते पहिलोपटक नागरिकता पाएका थिए । सिडिओ भएका बेला सयौंलाई नागरिकता प्रदान गरेका र अहिले उमेरले पनि बयोवृद्ध भइसकेका भट्टराईलाई त्यसबेला कसलाई नागरिकता कसरी दिइयो भन्ने स्मरण नहुन सक्छ ।

तर अर्को संयोग चाहिँ के भेटिएको छ भने सिरोहियालाई वंशजको नागरिकता दिएका भट्टराईले नै उनकी पत्नी स्वस्तिका सिरोहिया (स्वार) को नागरिकता सिफारिसमा हस्ताक्षर गरेका रहेछन् ।

नागरिकता ऐन २०६३ भन्दा अघि सरकारका अधिकृत तहभन्दा माथिका कर्मचारीले नाम र छापसहित नागरिकताको सिफारिस गर्ने प्रचलन थियो ।

२०३६ सालमा प्रमुख जिल्ला अधिकारीको हैसियतमा कैलासलाई नागरिकता प्रदान गरेका शरद भट्टराईले २०५१ सालमा स्वस्तिकाको नागरिकताका लागि सिफारिस गरेको ढड्डामा उल्लेख छ । स्वस्तिकाले २०५१ मा माइती जिल्ला बाँकेबाट नागरिकता लिने क्रममा भट्टराईले सिफारिस गरेका थिए । त्यसबेला भट्टराई प्रशासन सुधार अध्ययन समितिका सचिव थिए ।

खोटाङ लामिडाँडाका स्थायी बासिन्दा भट्टराईले निजामति सेवाबाट अवकाश पाएको नै करिब २ दशक भइसकेको छ । उनी निकै सरल र भद्र कर्मचारी रहेको उनका समकक्षीहरु बताउँछन् । भट्टराई गृह मन्त्रालयमा लामो अनुभव भएका अधिकृत मानिन्थे ।

सिडिओ भएका बेला नागरिकता दिनु र संयोगवश उनकै पत्नीलाई १५ वर्षपछि नागरिकताको सिफारिसमा हस्ताक्षर गर्नु चाहिँ एक संयोगमात्र हुनसक्छ । अथवा चिनजानको हिसाबले त्यसबेला जो सहज छ उही अधिकृतबाट सही गराउने चलनसमेत भएकाले यो संयोग जुरेको हुनसक्ने उनका समकालीन एक सचिवले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *