एमाले प्रदेश अधिवेशन: प्रतिनिधिहरूले नेतृत्वसामु राख्नुपर्ने २५ प्रश्न – Nepal Press

एमाले प्रदेश अधिवेशन: प्रतिनिधिहरूले नेतृत्वसामु राख्नुपर्ने २५ प्रश्न

नेकपा एमालेकोे लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६-१७ मा बुटवलमा हुँदैछ । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । प्रादेशिक संरचनामा हुन लागेकोे यस प्रथम प्रदेश अधिवेशनका गतिविधि र निर्णयलाई विशेष महत्वका साथ हेरिएको छ ।

संगठन सुदृढीकरण र विस्तारको दुई महिने ‘मिसन ग्रासरूट’ अभियान सिध्याएर आएको नेकपा एमालेले यस प्रदेश अधिवेशनमार्फत लिने नीति र गर्ने निर्णयले सिङ्गो पार्टी पङ्क्तिलाई प्रभावित गर्ने निश्चित छ । त्यतिमात्रै होइन, उक्त नीति र निर्णयले समग्र मुलुकको राजनीतिक गतिविधिमा समेत असर पर्ने प्रवल सम्भावना छ ।

यो अधिवेशन यस्तो बेला भइरहेको छ, जतिबेला एमाले चौतर्फी घेराबन्दीमा छ । गठबन्धनकोे सरकार देश र जनताप्रति त्यति जिम्मेबार देखिँदैन । फगत सरकार बनाउन र टिकाउन जेजस्ता हर्कत गर्न पनि तयार छ । सरकार आफैंले राजनीतिमा अवसरवाद र अराजकता बढाउँदै छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले मुलुक आहत भएको छ । चारैतिर असन्तुष्टि, अशान्ति, बेरोजगारी र भ्रष्टाचार बढ्दो छ । युवाहरूको डरलाग्दो विदेश पलायनले देश रित्तिन थालेको छ । उद्योग-व्यापार क्षेत्र झनपछि झन धराशायी बन्दैछन् । सरकार, न्याय प्रशासन र राजनीतिक नेतृत्वप्रति जनतामा पटक्कै विश्वास छैन । आर्थिक संकट, राजनीतिक अस्थिरतालगायत चारैतिर निराशाजनक अवस्था छ ।

मुलुकको यस्तो विषम परिस्थितिमा आमजनताले प्रतिपक्षी दल एमालेबाट सकारात्मक निकासको अपेक्षा गरेका छन् । समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचारयुक्त यस परिस्थितिमा प्रमुख प्रतिपक्ष एमाले अत्यन्तै गम्भीर र चनाखो नभए मुलुक असफल राष्ट्र बन्ने सम्भावना प्रबल देखिँदैछ । जनताले भोग्नु परिरहेका कष्ट र समस्याहरूप्रति एमाले अलि बढी जिम्मेवार हुनुपर्ने र यो कहालीलाग्दो स्थितिमा परिवर्तन ल्याउन प्रयत्नशील हुनुपर्ने आवश्यकता देखिन्छ । यस्तो अवस्थामा सम्पन्न हुन लागेको प्रदेश अधिवेशनको सन्देशले मुलुक र जनतालाई संकटबाट निकास दिन सक्ने भएकाले त्यस खालका नीति बनाउनु र निर्णय गर्नु जरूरी देखिन्छ ।

राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले मुलुक आहत भएको छ । चारैतिर असन्तुष्टि, अशान्ति, बेरोजगारी र भ्रष्टाचार बढ्दो छ । युवाहरूको डरलाग्दो विदेश पलायनले देश रित्तिन थालेको छ । उद्योग-व्यापार क्षेत्र झनपछि झन धराशायी बन्दैछन् । सरकार, न्याय प्रशासन र राजनीतिक नेतृत्वप्रति जनतामा पटक्कै विश्वास छैन ।

त्यसो त केही वर्षयता नेकपा एमाले पनि आफ्नै आन्तरिक कारणले तमाम समस्यामा फसेको छ । एकातिर पार्टीभित्रै विकृति, अनुशासनहीनता र अराजकता बग्रेल्ती छन् भने घात-अन्तरघात त्यतिकै ठूलो समस्या बनिरहेको छ । दुई महिने ‘मिसन ग्रासरूट’ अभियानबाट पनि पार्टीभित्रका असन्तुष्टि र घात-अन्तरघातका समस्याहरु पूर्ण समाधान हुन सकेका छैनन् ।

पार्टीका सांगठनिक, वैचारिक, नीतिगत र व्यावहारिकलगायतका समस्या ज्युँका त्युँ छन् । पार्टीमा दक्षिणपन्थी अवसरवाद र दलाल पूँजीवादी प्रवृत्ति बढेको बढ्यै छ । अनुशासनहीनता र अराजकता उस्तै छ । नीतिगत र वैचारिक चेतना स्तर खस्किँदै गएको छ । चौतर्फी घेराबन्दीले झन् समस्यामा पारेकोले नयाँ परिस्थितिका चुनौतीहरूको सामना गर्न पार्टी पंक्ति असक्षम जस्तै भएको छ । यसर्थ पनि प्रादेशिक संरचनाअनुसार हुन लागेको लुम्बिनी प्रदेशको यो प्रथम अधिवेशनको विशेष महत्व छ ।

प्रतिनिधि चयनमा भएन प्रजातान्त्रिक अभ्यास

नेकपा एमालेले यस अधिवेशनमा पूर्ण प्रजातान्त्रिक अभ्यासको सुरूवात गर्ने अपेक्षा गरिएको थियो । अन्ततः त्यसो हुन सकेन । पार्टी सदस्यहरूबाट प्रजातान्त्रिक चुनावी प्रक्रियाले प्रतिनिधिहरू चुनिनुपर्नेमा सर्वसम्मतका नाममा केन्द्रीय नेताहरूकै हालीमुहाली चल्यो । अधिवेशन प्रतिनिधिहरू कार्यकर्ताबाट चुनिनुपर्नेमा नेताहरूको आपसी सल्लाह र विवेकअनुसार छानिए ।

प्रजातान्त्रिक चुनाव भएको भए अहिले छानिएका अधिवेशन प्रतिनिधिमध्ये कति प्रतिशतमात्र प्रतिनिधिहरू चुनिन्थे होला ? यो एउटा छलफल र अनुसन्धानको विषय हो । त्यसो त छानिएकामध्ये कतिपय प्रतिनिधिहरू भने कार्यकर्ताबाट आफू प्रत्यक्ष रूपमा चुनिन नपाएकोमा भित्री रूपमा त्यति सन्तुष्ट देखिँदैनन् । कार्यकर्ताबाट अनुमोदन हुँदा प्रतिनिधिहरूको लोकप्रियताको वास्तविक मापन हुन सक्थ्यो । तर, त्यसो भएन ।

पार्टीका सांगठनिक, वैचारिक, नीतिगत र व्यावहारिकलगायतका समस्या ज्युँका त्युँ छन् । पार्टीमा दक्षिणपन्थी अवसरवाद र दलाल पूँजीवादी प्रवृत्ति बढेको बढ्यै छ । अनुशासनहीनता र अराजकता उस्तै छ । नीतिगत र वैचारिक चेतना स्तर खस्किँदै गएको छ । चौतर्फी घेराबन्दीले झन् समस्यामा पारेकोले नयाँ परिस्थितिका चुनौतीहरूको सामना गर्न पार्टी पंक्ति असक्षम जस्तै भएको छ ।

यस्तो अवस्थामा नेताहरूकै अनुकम्पा र निगाहबाट छानिएका धेरैजसो प्रतिनिधिहरूले नेतृत्वका तमाम कमीकमजोरीहरूमाथि अधिवेशनमा कसरी प्रश्न उठाउन सक्लान् ? स्वाभाविक प्रश्न उठ्छ । अनि सिद्धान्त, कार्यक्रम र नीतिगत छलफलमा कसरी खुलेर बहस गर्न सक्लान् ? आशंकासमेत उब्जिएको छ ।

अधिवेशन नै पार्टीको असल नेतृत्व र सही नीति निर्माण गर्ने उपयुक्त थलो हो । पार्टीलाई कुन दिशामा लैजाने, सही र असल नेतृत्व कसरी छान्ने, पार्टीको सिद्धान्त र उद्देश्यअनुरूप के कस्तो रणनीति र कार्यनीति बनाउने, पार्टीलाई जनमुखी र लोकप्रिय कसरी बनाउने, आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा कसरी पुर्‍याउनेलगायतका नीति र नेतृत्वका बारेमा अधिवेशन प्रतिनिधिहरू केन्द्रित हुनुपर्ने र विवेकपूर्ण ढंगले छलफल गरी निर्णय गर्नु जरूरी हुन्छ । कार्यकर्ताबाट प्रत्यक्ष चुनिएर आएका होऊन् वा नेतृत्वको विवेकमा छानिएर आएका होऊन् करिब एक हजारभन्दा बढी अधिवेशन प्रतिनिधिहरूले पार्टी हितका निम्ति, पार्टीलाई साँच्चिकै जनमुखी र लोकप्रिय बनाउन अधिवेशनमा पार्टी केन्द्रीय नेतृत्वसामु निम्न लिखित २५ प्रश्नहरू राख्न सक्नुपर्छ र ती विषयहरूमा व्यापक छलफल र बहस गरी उचित निष्कर्ष निकाल्न पनि सक्नुपर्छ ।

नेतृत्वसामु राख्नुपर्ने २५ प्रश्नहरू

१. यतिखेर एमाले केन्द्रमा कुनै गुट-उपगुट रहेको पाइँदैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी एक ढिक्का छ । तर, लुम्बिनी प्रदेशको स्थायी राजधानीका विषयमा नेताहरूबीच मतैक्य हुन नसकेको र त्यसपछिका दिनमा नेताहरूले गुट बनाएर एक-अर्काको राजनीति सिध्याउने अनि पार्टीमा एकल वर्चस्व जमाउने षड्यन्त्र गरिरहेको प्रसङ्ग पटक पटक मिडियामा आएका छन् । गत चुनावमा एक-अर्कालाई हराउन ठूलै खेल भएको चर्चा पनि सुनिए । लुम्बिनीमा गुटबन्दीको राजनीति गरेर पार्टीलाई नै समस्यामा पार्ने ती केन्द्रीय नेताहरू को को हुन् ? उनीहरूमाथि किन कारबाही हुँदैन ? प्रतिनिधिले केन्द्रीय नेतृत्वसँग प्रश्न गर्न सक्नुपर्छ ।

२. संघीय निर्वाचनमा लुम्बिनी प्रदेशमा एमाले शीर्ष नेताहरूको चुनावी परिणाम अत्यन्तै निराशाजनक रह्यो । रूपन्देही क्षेत्र नं २ को अप्रत्याशित परिणाम र झिनो अन्तरको जीतले न जित्ने नेताको अनुहारमा खुशी ल्यायो न त खट्ने कार्यकर्ता नै उत्साहित हुनसके । उता पार्टीका महासचिव र उपमहासचिवको पराजयले सिङ्गो पार्टी पङ्क्तिलाई नै स्तब्ध र दुःखी बनायो । यी अप्रत्याशित परिणाम कतै प्रदेशमा केन्द्रीय नेताहरूको गुटबन्दीको असर त हैन ? आफ्नै पार्टीभित्र गुटबन्दी र घात-अन्तरघात खेल खेल्नेहरूको पहिचान गरी कारबाही किन भइरहेको छैन ?

३. प्रदेश निर्वाचनमा एमाले पहिलो भएको पार्टी हो । पहिलो भएको पार्टीले अन्य साना पार्टीसँग समन्वय गरेर सरकार बनाउन किन सकेन र आखिर यो कमजोरी कसको हो ?

४. पार्टीले लुम्बिनी प्रदेशमा अपनाउने पार्टीगत नीति, प्रदेशको समृद्धि र विकासका लागि स्रोत र साधनको उपयोग अनि विकासमा अपनाइने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना के हुन् र ती लक्ष्य हासिल गर्न पार्टीले के कस्ता कार्यक्रम, कार्यनीति र रणनीतिहरू तयार गरेको छ ?

नेताहरूकै अनुकम्पा र निगाहबाट छानिएका धेरैजसो प्रतिनिधिहरूले नेतृत्वका तमाम कमीकमजोरीहरूमाथि अधिवेशनमा कसरी प्रश्न उठाउन सक्लान् ? स्वाभाविक प्रश्न उठ्छ । अनि सिद्धान्त, कार्यक्रम र नीतिगत छलफलमा कसरी खुलेर बहस गर्न सक्लान् ? आशंकासमेत उब्जिएको छ ।

५. पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई अहिलेको विशिष्ट चरणमा थप उन्नत बनाउने सवालमा किन नेताहरूका फरक फरक व्याख्या र विचारहरू आइरहेका छन् ?

६. नेकपा टुक्रियो । एमाले विभाजित भयो । एमालेविरूद्धको मोर्चाबन्दी झन् कसिलो बन्दैछ । संघीय र प्रदेश सरकारबाट बहिर्गमन हुनुप¥यो । तर, एमाले नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा भने कुनै परिवर्तन देखिँदैन । न सत्ताच्युत हुनुपरेकोमा पछुतो देखिन्छ न त पार्टी विभाजन भएकोमा चिन्ता नै । यसरी पार्टी निरन्तर पराजय र एक्लो हुँदै जाँदाको दोष एमाले नेतृत्वलाई दिने कि राष्ट्रविरोधी र बाह्य शक्तिलाई ?

७. वि सं २०४६ सालदेखि हालसम्मको अवधिमा नेकपा एमालेले पटक पटक सरकारमा सहभागी हुँदै ५ पटक त सरकारको नेतृत्व नै गरिसकेको छ । धेरै नेताहरू पटक पटक मन्त्री भइसके । तर, मनमोहन अधिकारी नेतृत्वको सरकारले झैं अन्य प्रधानमन्त्री र मन्त्रीहरूले देश, जनता र कार्यकर्ताहरूले सम्झिने खालका काम कसले के के गरे ?

८. वि.सं २०७४ सालको प्रतिनिधिसभामा १२१ सीट जितेर पहिलो भएको पार्टी २०७९ सालमा ७८ सीटमा सीमित भयो । उक्त निर्वाचनमा ३३ प्रतिशत लोकप्रिय मत पाएकोमा गत निर्वाचनमा २७ प्रतिशतमा झर्‍यो । २०७४ सालमा समानुपातिकतर्फ ४१ सीट पाएको पार्टीले २०७९ सालमा भने ३४ मात्र पायो । हालैको संघीय चुनावमा समानुपातिकतर्फ पहिलो पार्टी देखिए पनि एमालेले विगतभन्दा करिब साढे ३ लाख मत कम पाएको छ । यस चुनावमा एमालेले अन्य पार्टीहरूले भन्दा धेरै क्षति व्यहोरेको छ । यो क्षति र पराजयको दोष कार्यकर्तालाई मात्र दिने कि नेता र नेतृत्वलाई ?

९. कतिपय एमाले जनप्रतिनिधिको सामन्ती चरित्र र दलाली प्रवृत्तिले पार्टीलाई अलोकप्रिय बनाइरहेको छ । उनीहरू पार्टीको निर्देशन र अनुगमनभन्दा बाहिर छन् । उता कतिपय जनप्रतिनिधिहरूले गरेका राम्रा र जनमुखी कामको प्रभावकारी प्रचारप्रसार हुन नसक्दा त्यसको स्वामित्व अर्कैले ग्रहण गर्ने गरेको छ । तसर्थ जनप्रतिनिधिलाई पार्टीको अधिनस्थ राखी निर्देशन र अनुगमनमा राख्ने अनि राम्रो काम गरेकोलाई प्रचाप्रसार र प्रोत्साहन गर्ने परिपाटी कहिलेदेखि सुरू हुन्छ ?

१०. विगतमा सर्वहारा भनिएका कतिपय नेताहरूसँग हाल अकुत सम्पत्ति र करोडौंको आर्थिक कारोबार छ । जीवनशैली विलासी छ । तस्कर र भ्रष्टहरूसँग अस्वाभाविक साँठगाँठ छ । सम्पत्ति विवरण सार्वजनिक नगर्ने, आम्दानीको स्रोत नखुलाउने त्यस्ता भ्रष्ट नेता कार्यकर्तामाथि कडा निगरानी गर्ने र अनुशासनको दायरामा ल्याउने परिपाटी पार्टीमा कहिलेदेखि लागू हुन्छ ?

विगतमा सर्वहारा भनिएका कतिपय नेताहरूसँग हाल अकुत सम्पत्ति र करोडौंको आर्थिक कारोबार छ । जीवनशैली विलासी छ । तस्कर र भ्रष्टहरूसँग अस्वाभाविक साँठगाँठ छ । सम्पत्ति विवरण सार्वजनिक नगर्ने, आम्दानीको स्रोत नखुलाउने त्यस्ता भ्रष्ट नेता कार्यकर्तामाथि कडा निगरानी गर्ने र अनुशासनको दायरामा ल्याउने परिपाटी पार्टीमा कहिलेदेखि लागू हुन्छ ?

११. नेकपा एमाले केही समययता चारैतिरबाट घेराबन्दीमा परेर श्रृङ्खलाबद्ध रूपमा पराजित भइरहेको छ । एमालेले अन्य राजनीतिक दलहरूसँग सहकार्य र समन्वय गर्न सकिरहेको छैन । एमालेविरूद्ध निरन्तर षड्यन्त्र भइरहेको छ । नेकपा एमाले साँच्चिकै देशी–विदेशी शक्ति केन्द्रको षड्यन्त्रको शिकार भएको हो वा नेतृत्वले समन्वय गर्न नसकेको हो ?

१२. नेकपा एमालेमा केही समययता कम्युनिष्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्त भएको छ । पार्टी नेतृत्व, कार्यकर्ता र आमनागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गएको छ । कार्यकर्ता लाखापाखा हुँदै गएका छन् । यसको भरणपोषण कहिले र कसरी हुन्छ ?

१३. आजभोलि नेकपा एमालेमा पार्टीमा योगदान गरेका असली नेता कार्यकर्ताहरू पछाडि पारिएका छन् । सिङ्गो पार्टी माथिदेखि तलसम्म पूँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार समाप्त भएको छ । अब सच्याउने उपाय के हो ?

१४. हिजोका अप्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता कार्यकर्ताहरूले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ । यस्तो कुप्रवृत्ति र दुरवस्थाको अन्त्य कहिले हुन्छ ?

१५. एमालेमा विशाल सांगठनिक संरचना, लाखौं सक्रिय कार्यकर्ता र समर्थक हुँदाहुँदै पनि स्थानीय र संघीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन । यसको सूक्ष्म समीक्षा कसले, कसरी गर्ने ?

१६. पछिल्लो पाँच वर्षको अवधिमा एमालेले संवैधानिक, संस्थागत, सार्वजनिक तहका हरेक निकायमा एकपछि अर्को गरी श्रृङ्खलाबद्ध रूपमा आफ्नो पकड गुमाएको छ । त्यसको दोष कसलाई दिने र यो श्रृङ्खला कहिले रोकिन्छ

१७. एमाले नेतृत्वले अन्य पार्टी तथा निकायसँग उचित कूटनीतिक पहल र रणनीतिक समन्वय गर्न नसक्दा चारैतिरबाट एक्लिँदै गएको छ । एमालेविरूद्धको घेराबन्दी तोड्न नेतृत्व किन असफल भइरहेको छ ?

आजभोलि नेकपा एमालेका थुप्रै नेताहरू आफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । तिनै नेताहरूका व्यवहार र शैलीका कारण आमकार्यकर्ता असन्तुष्ट बन्दै गएका छन् । फलतः कम्युनिष्ट नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ ।

१८. आजभोलि पार्टीमा नेता कार्यकर्ताको योगदान, कामको समीक्षा र मूल्यांकन संस्थागत रूपमा हुन छोडेको छ । पार्टीमा योगदान गरेका, योग्यता र क्षमता भएकालाई भन्दा नेताहरूको चाकरी गर्ने, गफ गर्ने फन्टुसहरूले बढी अवसर पाउन थालेका छन् । पार्टीमा योगदान र कामको वास्तविक मूल्याङ्कन कहिलेदेखि सुरू हुन्छ ?

१९. आजभोलि नेकपा एमालेका थुप्रै नेताहरू आफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । तिनै नेताहरूका व्यवहार र शैलीका कारण आमकार्यकर्ता असन्तुष्ट बन्दै गएका छन् । फलतः कम्युनिष्ट नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ । नेताहरू र आमकार्यकर्ताबीचको अन्तरसम्बन्ध, आत्मीयता र हार्दिकता पहिले जस्तै कसरी बनाउने ?

२०. एमालेले विशेषगरी २०७७ सालदेखि श्रृंखलाबद्ध रूपमा राजनीतिक क्षति व्यहोर्दै आएको छ । प्रतिनिधिसभा विघटनपछि एमाले एक्लिने र पराजय हुने क्रम बढ्दै गएको हो । प्रतिनिधिसभाको पटक पटक विघटन ठीक थियो वा थिएन भनी सूक्ष्म ढंगले समीक्षा भयो कि भएन ?

२१. पार्टीमा काम नगर्ने तर नेताहरूको चाकरी गरी पद र अवसर प्राप्त गर्ने होडबाजी बढ्दो छ । यस्ता प्रवृत्तिहरूलाई कसले र कसरी रोक्ने ?

२२. अधिकांश नेताहरूमा सरल र व्यावहारिक शैली पाइँदैन, कार्यकर्तासँग रूखो व्यवहार देखाउने, आफूले सम्मान खोज्ने तर अरूलाई उचित सम्मान नगर्ने प्रवृत्ति बढेको छ । यो प्रवृत्तिलाई कसले र कसरी नियन्त्रण गर्ने ?

२३. कमिटी तथा संगठन निर्माणमा योग्य, लगनशील, क्षमतावान र लोकप्रिय व्यक्तिभन्दा अमूक नेताका प्रिय व्यक्तिहरू चयन हुने गरेका छन् । सिंगो पार्टी संगठन जनमुखी र कार्यकर्तामुखी हुनुपर्नेमा केन्द्र र फगत नेतामुखी भएको छ । यसलाई पूर्णतः सच्याउने कसले र कसरी ?

२४. आफैंले एकीकरण गरेको नेकपामा अल्पमतमा पर्नुपर्ने अवस्था आयो । अदालतले नेकपा भंग नगरिदिएको भए अहिले एमालेको अवस्था र नेतृत्व के कस्तो हुन्थ्यो होला ?

२५. एमालेको गिरेको साखलाई पुनर्जीवित गर्न नेतृत्व तहबाट थप सघन उपचारको के कस्तो तयारी गरिँदैछ ?

अन्त्यमा, आजभोलि नेकपा एमालेका नेता-कार्यकर्ताहरूमा विकृति बढ्दै गएको यथार्थ हो । सैद्धान्तिक र व्यवहारिक रूपमा च्युत हुँदै गएको पनि साँचो हो । तर, तुलनात्मक रूपमा अरू राजनीतिक दलहरूसँग दाँजेर विश्लेषण गर्दा मूलभूत सैद्धान्तिक धारणाका हिसाबले नेकपा एमाले अन्य पार्टीभन्दा ठीक ठाउँमा देखिन्छ । सङ्गठनका हिसाबले पनि नेकपा एमाले बलियो पार्टी नै हो ।

समाज र राजनीतिका विभिन्न क्षेत्रमा पनि नेकपा एमाले मुलुककै ठूलो शक्ति भएकाले पार्टी सञ्चालन पद्धतिमा नै आमूल परिवर्तन हुनु आवश्यक छ । जसले नेता कार्यकर्तामा हुर्किएका गलत चिन्तन र सोचलाई बदल्न र फेर्न मद्दत गरोस् । यो कार्य अधिवेशनमा प्रतिनिधिहरूको पार्टी र जनताप्रतिको चिन्तन र सचेतनाले सम्भव हुनसक्छ । तसर्थ पार्टीमा गलत प्रवृत्तिका विरूद्ध आवाज उठाऔं, प्रश्न गरौं र पार्टीलाई सुधारौं । अस्तु !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *