राजनीतिक टाइमपास ! – Nepal Press

राजनीतिक टाइमपास !

म विगत नौ वर्षदेखि यो वा त्यो हिसाबले मूलधारको राजनीतिको केन्द्रीयस्तरको भूमिकामा छु । राजनीतिक भूमिकाका कारण मैले विभिन्न पार्टीका अध्यक्ष, देशका वर्तमान तथा पूर्वप्रधानमन्त्रीहरु, नेता, मन्त्री आदिसँग नजिकबाट संगत गर्ने अवसर पाएँ । यो सबै अनुभव हासिल गर्दैगर्दा नेपालको राजनीतिको मूल प्रवृत्ति निकै अत्यासलाग्दो रहेको निष्कर्षमा पुगेको छु । आजभन्दा नौ वर्ष अगाडि देश बनाउने जुन उत्साह, ऊर्जा र सपना बोकेर म पार्टी राजनीतिमा होमिएको थिएँ, यहाँसम्म आइपुग्दा मेरो उत्साह, ऊर्जा र सपना क्रमिक रुपमा कमजोर हुँदैछ ।

उत्साह किन कमजोर भयो ?

१) मैले कल्पना गरेको राजनीति र यथार्थबीच निकै ठूलो दूरी पाएँ । एमाले, कांग्रेस र माओवादीको पछिल्लो केन्द्रीय समिति बैठकसम्म आइपुग्दा ममा झिनो आशा थियो, अब चाहिँ नेतृत्वको तौरतरिका रुपान्तरण हुन्छ र देश बनाउने स्तरको पार्टी निर्माण हुन्छ । तर, यो अपेक्षा पनि सातुको कथा जस्तै भयो । मूल नेतृत्वको तौरतरिका टसको मस हुने संकेतसम्म देखिएन । परन्तु, नेतृत्वले रुपान्तरणको आवश्यकता चाहिँ महसुस गरेको पाएँ । तर, आफूबाहेकको रुपान्तरण उसको रोजाइ रहेछ ।

२) नेपालको राजनीति भिजन र परियोजनाविहीन छ र त्यसलाई सम्पूर्ण हिसाबले स्क्रिप्टेड गरेर देश बनाउने स्तरको नयाँ र क्रान्तिकारी दुबै गुण भएको पार्टी एकै पटक निर्माण गर्न सकिन्छ भन्ने विश्वास थियो । तर, नेतृत्व र नेतृत्वको डफ्फाले जे सोच्छ र ल्याउँछ, त्यो नै अन्तिम सत्य हुनेरहेछ । चाहे त्यो जतिसुकै अवैज्ञानिक र असान्दर्भिक नै किन नहोस् । सीमित नेताले देखेको र सोचेकोभन्दा सयौं गुणा उत्कृष्टताको सम्भावना हुँदाहुँदै पनि पार्टीको कार्यनीतिमा प्रतिविम्बित गर्न सकिने अवस्था देखिएन ।

३) नेतृत्वले चाहँदा पार्टीलाई भर्खरै रुपान्तरण गर्न सकिन्छ तर नचाहँदो रहेछ । नेतृत्वले आफ्नो अनुकुल मान्छेलाई केन्द्रदेखि प्रदेशसम्म लाभ र जिम्मेवारी वितरणको ठेक्के दिने । मुख्य ठेकेदारले एक जिल्ला एक पेटी ठेकेदार जन्माउने र ऊमार्फत् लाभको पद र सरकारी परियोजना वितरणमा बार्गेनिङ र सौदाबाजी चल्दोरहेछ ।

पार्टीहरु राजनीतिक संस्कार र नेतृत्वको तौरतरिकाका कारण यसरी आन्तरिक द्वन्द्वमा फसेका छन्, जसलाई मिलाउँदै नेतृत्वको सारा समय बर्बाद हुन पुग्छ । छोटो सिरक ओढे जस्तो, टाउको छोपे खुट्टा नांगै, खुट्टा छोपे टाउको नांगै हुने अवस्थामा पुगेका छन् नेतृत्वहरु । जिम्मेवारी प्राप्त गर्न चरण चरणमा अमुक र असम्बन्धित व्यक्तिको निरन्तर चाकडी गर्नुपर्ने ठाउँमा पुगेको छ नेपालको राजनीति ।

४) पार्टी बनाउन सकिन्छ भन्ने पर्याप्त आत्मविश्वास भएको युवा पंक्ति हरेक पार्टीमा म देख्छु । तर, उनीहरुमा पार्टी बनाउन दिइँदैन भन्ने निराशा पनि सँगसँगै छ । पार्टी बनाउने भनेको के हो ? पार्टी बनाउने भनेको सापेक्षित, नीति, नेतृत्व, परियोजना र संगठन निर्माण गर्ने कुरा हो । तर, जालझेल, नकारात्मकता, रोक्ने-छेक्ने, आफूवाद पार्टीहरुमा पर्गेल्नै नसक्ने गरी झाँगिएको छ । आफ्नो र आफ्नाका बारेमा चाहिनेभन्दा बढी चिन्ता गर्ने, अरुका बारेमा बेमतलब ।

५) पार्टीहरु राजनीतिक संस्कार र नेतृत्वको तौरतरिकाका कारण यसरी आन्तरिक द्वन्द्वमा फसेका छन्, जसलाई मिलाउँदै नेतृत्वको सारा समय बर्बाद हुन पुग्छ । छोटो सिरक ओढे जस्तो, टाउको छोपे खुट्टा नांगै, खुट्टा छोपे टाउको नांगै हुने अवस्थामा पुगेका छन् नेतृत्वहरु । जिम्मेवारी प्राप्त गर्न चरण चरणमा अमुक र असम्बन्धित व्यक्तिको निरन्तर चाकडी गर्नुपर्ने ठाउँमा पुगेको छ नेपालको राजनीति । जिम्मेवारी र लाभका लागि चाकडी अनिवार्य बनेपछि कार्यकर्ताले किन पसिना बगाउने ?

६) नेपालको वर्तमान राजनीतिक नेतृत्व पार्टीमा विधि र प्रणाली विकास गर्नै चाहँदैन । प्रणालीविहीन पार्टीमा नेता कार्यकर्ता निराश हुनु अस्वाभाविक हैन । पार्टी प्रणालीविहीन हुँदा नेता कार्यकर्ताले गरेको काम बालुवामा पानी खन्याए जस्तै हुन जान्छ । प्रणालीविहीन पार्टीमा आफ्नो कामको ठीक मूल्यांकन हुनेमा कोही अस्वस्थ हुन सक्दैन । मैले यति गर्दा पार्टी र देशलाई यति योगदान पुग्छ भनेमा ढुक्क भएको पाइँदैन । ससाना हाइड्रोको उत्पादन नेशनल ग्रिड प्रणालीमा जोडेर वितरण गरिए जस्तै हरेक पार्टीमा नेता कार्यकर्ताले प्रणाली खोजिरहेको छ । तर, त्यो सम्भावना देखिएन ।

भ्रष्टाचारको एउटा दृष्टान्त

वर्तमान सरकारले भ्रष्टाचारका केही फाइल खोलेको देखिन्छ । सामाजिक न्याय, सुशासन र समृद्धि यो सरकारको नारा हो । तर, देशको भ्रष्टाचार यति गर्दैमा निरुत्साहित हुन्छ ? विल्कुल हुँदैन । केही दिन अगाडि मसँग दैलेखका युवा नेताहरु भेट्न आउनुभएको थियो । कुरा गर्दैजाँदा भ्रष्टाचारको विषयले प्रवेश पायो । उहाँहरुले गत वर्षको एउटा दृष्टान्त सुनाउनु भयो ।

दृष्टान्त यस्तो छः

उहाँहरुले संघीय सरकारको एउटा कार्यालयमा दैलेखका लागि दश लाख बजेट माग गरिएको फाइल पेश गर्नु भएछ । फाइल पेश गरेसँगै त्यस कार्यालयले दश लाख बजेट हाल्दिन २० प्रतिशत अर्थात् दुई लाख अग्रीम दिनुपर्ने सर्त राखेछ । दुई लाख दिएर दश लाख बजेट पार्नुभएछ । परेको बजेट कार्यान्वयनका लागि संघीय सरकार मातहतको जिल्ला कार्यालयमा पठाइएछ । जिल्ला कार्यालयले फेरि २० प्रतिशत नदिइ पालिकामा निकासा पठाउन मानेनछ । उहाँहरुले जिल्ला कार्यालयमा फेरि २० प्रतिशत दिएर पालिकामा पैसा निकासा गर्नुभएछ । पालिकाले सम्झौता गर्न ३० प्रतिशत मागेछ । नदिएसम्म सम्झौता नहुने भएपछि त्यहाँ फेरि ३० प्रतिशत दिएर सम्झौता गर्नुभएछ । अन्ततः उपभोक्ता समितिको हातमा दश लाखमा जम्मा तीन लाख परेछ ।

भ्रष्टाचारका दुईचार वटा फाइल खोल्दैमा देशमा भ्रष्टाचारको अन्त्य हुन्छ ? विल्कुल हुँदैन । भ्रष्टाचारको अन्त्य गर्न राजनीतिक अठोट, नीति, प्रणाली र संरचनागत पुनर्संरचना एकैपटक गर्नुपर्ने हुन्छ । तर, राजनीतिक नेतृत्व स्क्रिप्ट (रोडम्याप)सहित अग्रसर छैन ।

अब भन्नुस्, भ्रष्टाचारका दुईचार वटा फाइल खोल्दैमा देशमा भ्रष्टाचारको अन्त्य हुन्छ ? विल्कुल हुँदैन । भ्रष्टाचारको अन्त्य गर्न राजनीतिक अठोट, नीति, प्रणाली र संरचनागत पुनर्संरचना एकैपटक गर्नुपर्ने हुन्छ । तर, राजनीतिक नेतृत्व स्क्रिप्ट (रोडम्याप)सहित अग्रसर छैन ।

चन्द्रयान ३ र नेपाल

भर्खरै छिमेकी देश भारतले चन्द्रयान ३ चन्द्रमाको दक्षिणी धु्रवमा सफलतापूर्वक अवतरण ग¥यो । चन्द्रयानको सफल अवतरण गरेकामा भारतको विश्वभरि चर्चा चलिरहेको छ । तर, नेपालमा एउटा सानो परियोजना पनि निर्धारित समय र लागतमा सकिँदैन । इन्डिएन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) ले चन्द्रयान ३ का लागि नेपाली रुपैयाँ करिब १० अर्ब खर्च गरेको छ ।

जबकि नेपालको सिंहदरबारमा निर्माणाधीन संसद भवनको लागत अनुमान पनि १० अर्ब हो । २०७६ असोज १ गते उद्घाटन भएको यो भवन अढाई वर्षमा निर्माण गरिसक्ने भनिएकोमा हाल चार वर्ष बितिसक्दा पनि पूरा भएको छैन । अन्तरिक्षको कुरा त धेरै टाढा भयो, नेपाल सडकका खाल्डाखुल्डी पनि समयमा पुर्न सक्ने अवस्थामा छैन ।

नेतृत्वको असफलता

नेपाल आज यस्तो ठाउँमा छ, जहाँ कतै फर्किंदा पनि नेताको प्रशंसा गर्न सकिँदैन । कता फर्किंदा राजनीतिक नेतृत्व सफल भएको देखिन्छ ? हेरौं त ! रोजगारीतिर ? आर्थिक र भौतिक विकासतिर ? सुशासनतिर ? राजनीतिक पार्टीतर्फ ? सामाजिक न्यायतर्फ ? विज्ञान प्रविधिको विकासतर्फ ? कृषितर्फ ? उद्योग कलकारखानातर्फ ? शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षातर्फ ? देशका नीति नियम, प्रणाली र कर्मचारीतन्त्रतर्फ ? कता फर्किंदा चाहिँ राजनीतिक नेतृत्व सफल भएको देखिन्छ ?

नेतादेखि कार्यकर्तासम्म, कर्मचारीदेखि नागरिकसम्म हरेक मान्छे निराश छ । देशको यो भयावह अवस्था पर्गेल्न राजनीतिक नेतृत्वले कति जायज पहल लियो ? यो गर्दा पो हुन्छ कि, त्यो गर्दा पो हुन्छ कि कुनै योजनाबद्ध प्रयत्न भयो ? प्रयत्न गर्दागर्दै नबनेको देश हैन नि नेपाल !

कुनै एक ठाउँ र क्षेत्रमा मात्र समस्या भएको भए नेतृत्वको ध्यान नपुगेको भन्न सकिन्थ्यो ? तर, सर्वत्रमात्र हैन हावापानी नै खराब हुने ठाउँमा देश पुग्नु भनेको मूलधारका पार्टी र नेतृत्वको असफलता हैन ? जवाफदेहिता र उत्तरदायित्व कुन नेतामा छ ? परन्तु, मैले यहाँ पात्रको मात्र कुरा गरेको हो, व्यवस्थाको हैन है ! हजारौंको बलिदानबाट ढिलै भए पनि प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सवल बनाउन नै यो सवाल उजागर गरेको हो । मेरो असहमति वर्तमान नेतृत्वको तौरतरिका र ढंगप्रति मात्र हो ।

भिजनसहित योजनाबद्ध प्रयत्न नहुनु नेपाली राजनीतिको विडम्बना हो । गर्न सकिन्छ । के के गर्‍यो भने गर्न सकिन्छ, त्यो नेतृत्वलाई राम्रोसँग थाहा छ । तर, गर्नै चाहँदैन । आफ्नो नियन्त्रणबाट पार्टी र सत्ता पुत्किने हो कि भन्ने चिन्ताबाट ग्रसित नेतृत्वले आफ्ना आसेपासे र चाकडीबाजका बीचमा मात्र जिम्मेवारी र लाभ वितरण गर्न पुग्छ । यसबाट पार्टी र राज्यको पर्फमेन्समा नकारात्मक असर गरिरहेको छ । जिम्मेवारी प्राप्त गर्नेलाई पनि म यसका लागि योग्य छु कि छैन, हेक्का हुँदैन । केवल अरुको भन्दा धेरै प्राप्त गर्नुपर्‍यो ।

मसँगको एउटा भेटमा समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष दाताराम खनालले सामाजिक संघसंस्थाका बारेमा प्रतीकात्मक रुपमा भनेका थिए, ‘हरेराम नामको संस्था खोल्छन्, पैसा पाए बुँगुर पनि पाल्छन् ।’ नेपाली राजनीतिमा जिम्मेवारी र लाभको वितरण पनि ठीक यस्तै गरी हुँदोरहेछ । जिम्मेवारी र लाभको न्यायोचित वितरण नभएपछि आम कार्यकर्तामा निराशा पैदा हुनु अस्वाभाविक हैन ।

लोकतान्त्रिक गणतन्त्र आएको झण्डै १५ वर्ष भइसक्दा पनि देशको अवस्था उस्तै हुनुमा नेतालाई लाज लाग्नुपर्ने हैन ? तर, लाज नामको कुनै चिज छैन । देश र नागरिकको अवस्थाले घोच्न, पोल्न छोडेको छ । चीनको दु्रत विकासलाई हेर्ने हो भने त्यहाँ हरेक जिम्मेवारी प्राप्त मान्छेले अरुभन्दा आफू उत्कृष्ट हुने मनोविज्ञानबाट निर्देशित भएर काम गर्दछ । तर, नेपालमा हरेक जिम्मेवारी प्राप्त मान्छे धेरै पैसा कमाउने एकमात्र लक्ष्यबाट निर्देशित छ । स्टेटमेनसिप र राष्ट्र निर्माणको राष्ट्रिय माहोल त राजनीतिले निर्माण गर्नुपर्ने होला नि !

नेतादेखि कार्यकर्तासम्म, कर्मचारीदेखि नागरिकसम्म हरेक मान्छे निराश छ । देशको यो भयावह अवस्था पर्गेल्न राजनीतिक नेतृत्वले कति जायज पहल लियो ? यो गर्दा पो हुन्छ कि, त्यो गर्दा पो हुन्छ कि कुनै योजनाबद्ध प्रयत्न भयो ? प्रयत्न गर्दागर्दै नबनेको देश हैन नि नेपाल ! यो त बनाउन योजनाबद्ध प्रयत्न नै नगरिएको देश हो । नेपालको वर्तमान राजनीतिक नेतृत्व भिजन र दृढताको कमीले मात्र हैन, आफ्नै तौरतरिकाले निरीह बन्न पुगेको छ । यस्तो नेतृत्वबाट देश बनाउने स्तरको पोलिसी सिफ्ट र प्रणालीको विकास एवम् देश नै बनाउन सक्षम पार्टी निर्माणको अपेक्षा राख्नु गलत हुन्छ ।

नेतामा देखिएको उदासीनता र गलत तौरतरिकाले के संकेत गर्छ भने उहाँहरु केवल कालमात्र पर्खिरहनु भएको छ । काल पर्खिन(टाइमपास) मात्र गरिने राजनीतिले देशलाई के दिनसक्छ र आम मान्छे उत्साहित हुने ? म यो निष्कर्ष नजिक पुगेको छु कि नेताले टाइमपास केन्द्रित राजनीति गर्दा चौतर्फी विकृति, विसंगति र अस्तव्यस्तताले सीमा नाघेको हो । देशलाई नै योगदान गर्ने स्तरको परिणाममुखी राजनीति आजकै अवस्थाको पार्टी र राजनीतिक संस्कारमा सम्भव देखिँदैन । नेता कार्यकर्तामा आउने निराशाको प्रभाव यतिमा मात्र सीमित नहुन सक्छ । यसले प्राप्त उपलब्धिमाथि नै संकट नआउला भन्न सकिँदैन । समयमै सचेत हुने कि !


प्रतिक्रिया

2 thoughts on “राजनीतिक टाइमपास !

  1. भएन ! अब गणतन्त्र नै फ्याकौ ! र मुलधारका सबै टाउकेहरुको चाकमा दुर्गा प्रसाईंले भनेजस्तो इलामतिरको अकबरे खुर्सानी ल्य्यायेर हाल्नुपर्यो र हटाउनुपर्यो । व्यवस्था नै फाल्न पर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *