देउखुरी क्षेत्रका चार पालिकामा भूमिहीन तथा बटैया लक्षित परियोजनाको शुरुवात – Nepal Press

देउखुरी क्षेत्रका चार पालिकामा भूमिहीन तथा बटैया लक्षित परियोजनाको शुरुवात

काठमाडाैं ।दाङको देउखुरी क्षेत्रमा पर्ने चार पालिकामा भूमिहीन तथा बटैया किसान लक्षित परियोजना सुरु भएको छ ।देउखुरीका लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकामा कार्यक्षेत्र रहेको उक्त परियोजनाको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले शुभारम्भ गरेका हुन् ।

उनले भूमिहीन वर्गको उत्थानमा परियोजना सहयोगी बन्नुपर्ने बताउँदै कृषि प्रदान देशमा उत्पादन र उत्पादकत्वमा देखिएको समस्या, मुलुकले आयातमा गर्नु परेको लगानी र खाद्य सुरक्षाको त्रासकाबीच परियोजनाले भूमिहिन वर्गको उत्थानमा सहयोग पुर्‍याउनु पर्ने बताए ।

भूउपयोग सम्बन्धि अनेकौं समस्या व्याप्त रहेकाले त्यसलाई सम्बोधन गर्न भूउपयोग सम्बन्धि योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्न उनको भनाइ छ । उनले यस्ता परियोजना संचालन गर्दै गर्दा सरकारी र सार्वजनिक जग्गाको संरक्षणमा पनि परियोजनाले ध्यान दिनुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा युएन ह्यबिट्याट नेपालकी बसोबास प्रबन्धक प्रज्ञा प्रधानले परियोजना सञ्चालन हुने स्थानीय तहहरुमा महिला, युवालगायत भूमिहीन र आदिवासीको भूसुरक्षा अभिवृद्धि हुनुका साथै दिगो आजिविका र हरित आर्थिक क्रियाकलापमा पहुँच वृद्धि गर्ने योजना रहेको जानकारी दिइन् ।

हरित र न्यायोचित विकासको राष्ट्रिय जलवायु प्रतिबद्धता पुरा गर्न नविनतम उपायहरुमार्फत भूमिहीन अवस्थालाई कम गर्ने र जीविकोपार्जनमा सुधार तथा उत्थानशील भूउपयोग योजना बनाउने परियोजनाको उद्धेश्य रहेको उनको भनाई छ।

यस्तै, युएन ह्याबिट्याट नेपालका परियोजना संयोजक राजाराम छत्कुलीले विसं २०८४ साल जेठसम्म सञ्चालन हुने परियोजनाले लक्षित क्षेत्रका भूमिहीन र अनौपचारिक बसोबासीको भूसुरक्षा अभिवृद्धि गरी चारवटै स्थानीय तहको जोखिम संवेदनशील भूउपयोग योजना तयार गरेर कार्यान्वयनमा ल्याउने बताए।

कार्यक्रममा सहभागी चारवटै पालिका प्रमुखहरुले आफ्नो क्षेत्रमा रहेको भूमिहीन, अव्यवस्थित बसोबासी एवं बटैया किसानहरुको समस्याबारे चर्चा गर्दै परियोजनाले उनीहरुको समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । गढवा गाउँपालिका प्रमुख यम कुमार पोखरेलले बटैया प्रणाली उपयुक्त नभएकाले यसलाई खारेज गरि जग्गा लिजमा लिने प्रणाली लागू गरेर त्यसलाई सहजीकरण गर्नुपर्ने सुझाव दिए ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीहरु वन क्षेत्र, खोला किनारमा बस्ने भएकाले जमिन क्षयीकरणको समस्या समाधान गर्न परियोजनाले काम गर्ने उनको भनाई थियो। राजापुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले पनि परियोजना कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *