रास्वपा रुपन्देही विवाद : ५ महिनामै जिल्ला अध्यक्ष फेरिए, कुटपिट घटना प्रहरीमा मिलापत्र – Nepal Press

रास्वपा रुपन्देही विवाद : ५ महिनामै जिल्ला अध्यक्ष फेरिए, कुटपिट घटना प्रहरीमा मिलापत्र

थप अनुसन्धानका लागि काठमाडौं बोलाइयो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद बढ्दै गएपछि ५ महिनामा जिल्ला अध्यक्ष नै फेरिएको छ भने आपसी कुटपिटको विषयलाई इलाका प्रहरी कार्यालयमा मिलापत्र गराइएको छ ।

पार्टी केन्द्रले यो घटनामा संलग्न भएको र विषय बाहिर ल्याउने सदस्यलाई थप अनुसन्धानका लागि काठमाडाैं बोलाइएको छ ।

जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटपिट गरेको विषय प्रहरीसम्म पुगेपछि रास्वपाको आलोचना हुन थालेको छ । यो विषय नेपाल प्रेसमा समाचार प्रकाशन भएको थियो ।

विवाद बढ्दै गएपछि अहिले जिल्लाका संयोजक रहेका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको छ ।

त्यसै गरी यो विवाद बाहिर ल्याउने सैनामैनाका दामोदर खत्रीलाई पार्टीको केन्द्रीय अनुसन्धान टिमले काठमाडाैं बोलाइएको छ ।

विवाद सार्वजनिक गरेका पार्टीका सैनामैनाका दामोदर खत्रीले पार्टीभित्रका समस्या बाहिर ल्याएको र यो विषयमा केन्द्रीय अनुसन्धान टिमले ४ गते काठमाडाैं बोलाएको बताए ।

‘मैले पार्टीभित्र अनुशासनको कुरा उठाएको थिएँ, जिल्ला अध्यक्षको नैतिकताको कुरा उठाएको थिएँ, आखिर मेलै उठाएको विषय हेरेर नै जिल्ला अध्यक्ष फेरिएको छ, भनेपछि मेरो जित भयो, अब काठमाडाैंमा के कुरा हुन्छ त्यसपछि अगाडि बढ्ने हो’ उनले नेपाल प्रेससँग भने ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले विवाद भएकाले नयाँ विकल्पका लागि नेतृत्व फेरिएको बताए ।

‘माघ २४ मा प्रकाश ज्ञवालीलाई अध्यक्ष बनाइएको थियो, तर केही विवाद आए, उहाँ सरकारी शिक्षक पनि भएकाले नेतृत्व फेरिएको हो, अब रुपन्देहीको संयोजक प्रदेश कमिटी सदस्य बुद्धि शर्माले गर्ने गरी जिम्मेवारी तोकिएको छ, कुटपिटको विषयमा त्यो घटनामा संलग्न दामोदर खत्रीलाई इलाका प्रहरीमा माफी मगाएर आगामी दिनमा गल्ती नगर्ने गरी कागज गराइएको छ’ उनले भने ।

नयाँ अध्यक्ष बनेका बुद्धि शर्माले पार्टीले रुपन्देहीको अध्यक्षमा जिम्मेवारी दिएको र सबै क्षेत्रका भावनालाई समेटेर लैजाने बताए ।

आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको भन्दै सो पार्टीका सैनामैना र्यापिट एक्सन टिम संयोजक दामोदर खत्रीले आफूमाथि अन्याय भएको विषय बाहिर ल्याएका थिए ।

विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू विरुद्ध कुटपिटको उजुरी दिएको गुनासो उनले गरेका थिए । तर प्रहरीमा भने उनले आफैबाट हात उठाएर गल्ती भएको कागजमा हस्ताक्षर गरेका छन् ।

उनले शनिवार पत्रकार सम्मेलन गरी पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली,क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाएका थिए।

पार्टी विधानको धारा १३ ९ङ०मा सरकारी विद्यालयमा पढाउने व्यक्ति कुनै पनि पदमा नरहने व्यवस्था रहेको भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बाल विकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको उनले बताएका थिए ।

उनले आफूले उठाएको विषय पार्टीले महसुस गरेर ज्ञवालीलाई नेतृत्वबाट हटाउनु नै आफ्नो जित भएको बताए ।

खत्रीले प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको विरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको उनले आरोप लगाउँदै आएका छन् ।

गत बुधवार राती आफूलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन विभिन्न खाले प्रलोभन देखाएको र आफूले विधानको कुरा उठाउँदा विवाद उत्पन्न भएपछि आफू बाहिर निस्किएको र पछि उनीहरू पनि बाहिर आएर आफूमाथि आक्रमण भएपछि आफूले प्रतिरक्षा मात्रै गरेको दाबी गरे पनि त्यो प्रमाणित भएन ।

भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापनाकालदेखि निस्वार्थ रूपमा पार्टीमा लागेका व्यक्तिलाई तँ सदस्यै होइनस् भनेर लखेट्न खोजेकाले यि विषय बाहिर ल्याएको र नेतृत्व फेरिएपछि समाधानको उपाय निस्केको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले दुवै पक्षलाई राखेर सहमतिमा विवाद टुंगो लगाएको जनाए । ’दुवै पक्षलाई राखेर गल्ती गर्नेलाई माफी मगाएर गल्ती नदोहोराउने गरी उहाँहरूले नै सहमति गर्नुभयो, हामीले समन्वय मात्र गरेका हौँ’ थापाले भने ।


प्रतिक्रिया

One thought on “रास्वपा रुपन्देही विवाद : ५ महिनामै जिल्ला अध्यक्ष फेरिए, कुटपिट घटना प्रहरीमा मिलापत्र

  1. आखिर नेपाली नै हून ,पद र शक्तिको लालसा त भैहाल्छ नि मुख पड्काए जस्तै सजिलो त कहा छ र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर