पल शाहकाे मुद्दामा फैसलाकाे पूर्णपाठ : पीडितले नै `हाेइन´ भनेेपछि दाेषी भन्न मिलेन – Nepal Press

पल शाहकाे मुद्दामा फैसलाकाे पूर्णपाठ : पीडितले नै `हाेइन´ भनेेपछि दाेषी भन्न मिलेन

पोखरा । उच्च अदालत पोखराले पीडितले ‘निज निर्दाेष छन्’ भन्ने बकपत्र गरेपछि बालिका बलात्कार मुद्दामा सफाइ पाएका पल शाह (पूर्णविक्रम शाह) लाइ दोषी भन्न नमिल्ने बताएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको बलात्कारको अभियोगमा सफाइ दिएको थियो । उक्त सफाइ दिने आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । उक्त पूर्णपाठमा जसले पीडित हुँ भनेर जाहेरी दिएकी छ, उसैले अदालतमा उपस्थित भएर ‘म पीडित होइन, बुवाले अरुको उक्साहटमा जाहेर दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भन्दै वकपत्र गरेपछि जबरजस्ती करणी भन्न नमिल्ने उल्लेख गरेका छ ।

‘निज निर्दाेष छन् भन्ने समेत बेहोराबाट बकपत्रमा गरेको देखिन्छ । यसरी जो व्यक्ति पीडित भयो भनी जाहेरी दरखास्त परेको छ र आफू जबरजस्ती करणीको वारदातमा परि पीडित भएको भनी मौकामा कागज गर्दछिन् उनै व्यक्तिले अदालतमा उपस्थित भई आफू पीडित होइन, मेरो बुवाले अरुको उक्साहटमा जाहेरी दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भनी सुरु अदालतमै व्यस्क जाहेरवाला निज पीडित कै पिता र नाबालिकाले बकपत्र गरेको स्थितिमा अभियोग दावी बमोजिमको जबरजस्ती करणीको वारदात भएको भन्न मिल्ने देखिएन,’ आदेशको पूर्णपाठमा भनिएको छ ।
पीडितले आफू सुतिरहेको कोठामा प्रतिवादी प्रवेश नगरेको र करणी नगरेको बकपत्रले समेत जवरजस्ती करणीको दोषी भन्न नमिल्ने उल्लेख गरिएको छ ।

‘नवलपुर जिल्ला अदालत समक्ष उपस्थित भई पीडितले बकपत्र गर्दा रात म गैंडाकोट रिसोर्टमा रिसोर्टकी मालिकको छोरी सामिया जिसिसँगै सुतेकी हूँ । म सुतिरहेको कोठामा प्रतिवादी प्रवेश गरेकै होइनन् र मलाई करणी गरेकै होइनन् भनेकी छन् । यसैगरी मिडियामा नराम्रा कुराहरु आएकोले त्यसलाई सहन नसकी मेरो बुवाले जाहेरी दरखास्त दिनु भएको हो । म खेलाडी पनि हूँ र साइकल चढ्ने समेत गर्दछु । प्रतिवादीले मलाई विवाहको विश्वास देखाई वा प्रेमको बहाना गरी मेरो कोठामा प्रवेश गरी करणी नै गरेका होइनन्,’ आदेशमा भनिएको छ ।

पललाई नाबालिकामाथि बाल यौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा माघ १२ गते पुनरावेदन दिएको थियो ।

आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध पल गत कात्तिक २५ गते उच्च अदालत पोखरा गएका थिए । नाबालिका बलात्कारको आरोपमा पललाई जिल्ला अदालत तनहुँले भने माघ ३ गते सफाइ दिइसकेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो ।

गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि फरार पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । त्यसअघि मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनहुँले २०७८ चैत १० मा र जिल्ला अदालत नवलपुरले चैत २३ गते पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्य रातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धानअगाडि बढाउन आदेश गरेको थियो । त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । यसबीचमा पीडितले बयान फेरेकी थिइन् । उनले पीडकले जबरजस्ती करणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन् ।

यस्तो छ आदेशको पूर्णपाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *