सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार – Nepal Press

सुदूरपश्चिममा बजेट ‘करेक्सन’ गर्न सरकार तयार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अन्ततः ‘करेक्सन’ गर्ने भएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको सत्ता गठबन्धन र सरकारको वार्तामा बजेट ‘करेक्सन’ गर्ने सहमति भएको हो ।

मुख्यमन्त्री कमल बहादुर शाहले विभागीय मन्त्रालयबाट आएको योजना बारे आफूलाई धेरै जानकारी नरहेको सत्ता गठबन्धनका नेता, प्रमुख सचेतक तथा सांसदहरूलाई जानकारी दिएका थिए ।

माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले आजै सरकारको बजेट यथास्थितमा पारित गर्न नसकिने निर्णय गरेका थिए । त्यस लगत्तै मुख्यमन्त्री शाहले तीनै दलका नेताहरूलाई वार्तामा बोलाए ।

मुख्यमन्त्री सहित पुरै मन्त्रिपरिषद् का सदस्यहरू उपस्थित वार्तामा सरकारले बजेट असन्तुलित रहेको स्वीकार गदै ‘करेक्सन’ को समय माग गरेको थियो । भोलि दिनभर मुख्यमन्त्रीसहित मन्त्रीहरूले असन्तुलित बजेटलाई सन्तुलनको प्रयास गर्न र साझ फेरी बैठक बस्ने गरि आजको वार्ता सकिएको हो ।

भोलीको खाकामा पनि सहमति जुट्न नसके आफूहरू बजेट पारित गराउने पक्षमा नरहेको नागरिक उन्मुक्ति दलका नेता घनश्याम चौधरीले जानकारी दिए । ‘हामी तीन दल अहिले एक ठाउँमा छौँ’ उनले भने ‘सरकारले बजेट करेक्सन गर्न समय मागेको छ ।भोली करेक्सन भएको बजेट हेर्छौ ।त्यो पनि चित्त बुझेन भने हामी बजेट पारित गर्दैनौँ ।’

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भए लगत्तै सुरु भएको विरोध अहिले सम्म पनि मत्थर हुन सकेको छैन । सत्ता गठबन्धनकै नेताहरू बजेट प्रति असन्तुष्ट हुँदा प्रदेश सभा बैठकमा छलफल सुरु हुन सकेको छैन ।

भोलि साँझ सरकारले केहि ठाउँका बजेट कटौती गरेर नभएको र नपुगेको ठाउँमा राख्ने गरि नयाँ खाकाको तयारी गरिरहेको छ । बिषयगत मन्त्रालयले सत्ता गठबन्धनका दलहरू बिच उक्त खाका प्रस्तुत गरेपछि मात्रै बजेट माथिको छलफल अघि बढ्ने सत्ता गठबन्धनका नेताहरूले बताइरहेका छन् ।

आजको बैठकमा सरकारको तर्फबाट वार्तामा मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र सामाजिक विकास मन्त्री झपट साउद थिए ,

बैठकमा माओवादी संसदीय दलका नेता खगराज भट्ट,प्रमुख सचेतक मानबहादुर धामी, सांसद शिवसिंह ओली र अक्कल रावल नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी र सांसदहरू रामेश्वर चौधरी तथा कैलाश चौधरी थिए । त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र उपनेता प्रकाश रावल उपस्थित थिए । कांग्रेसका प्रमुख सचेतक विक्रम धामी पनि वार्तामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर