हिजो हामीले बजेटको ब्रिफकेश नै फोडेका हौं, प्रतिपक्षीले विरोध गरेरमात्र हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ – Nepal Press

हिजो हामीले बजेटको ब्रिफकेश नै फोडेका हौं, प्रतिपक्षीले विरोध गरेरमात्र हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्षीमा रहेकाले विरोध गर्ने र सत्तापक्षमा बस्नेले निरंकुश बन्ने प्रवृत्तिले लोकतन्त्र मजबुत हुन नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमा आएका जिज्ञासको जवाफ दिँदै श्रेष्ठले विरोधका लागि विरोध गर्ने र सत्तापक्षमा रहेपनि निरंकुश हुने प्रवृतिले लोकतन्त्र मजबुद हुन नसक्ने भन्दै नयाँ अभ्यास सुरू गर्नुपर्ने बताए ।

‘विरोधको नाममा विरोध होइन । अहिलेको प्रतिपक्ष मात्रै त्यसको शिकार भएको छ भन्ने होइन । हामी पनि त्यसको शिकार भएका छौं । जतिखेर हामी प्रतिपक्षमा थियौं । हाम्रो पार्टीनै हो यहाँ बजेट प्रस्तुत गर्ने सन्दर्भमा एक जना अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै हुनुहुन्थ्यो । हामीले बजेटको ब्रिफकेश नै फोडिदियौं । त्यस्तो बहादुरी गर्ने काम पनि हामीबाट भएको छ । त्यो पनि ठिक होइन । गलत त गलत नै हुन्छ । अर्को पटक हाम्रो अर्थमन्त्रीले बजेट ल्याउन खोज्नु भएको थियो । त्यतिखेर बजेट जसरी पनि ल्याउनुपर्छ भन्ने साथीहरुले अर्को पटक हाम्रो अर्थमन्त्रीलाई बजेट ल्याउनै दिनु भएन । यो डबल स्टयाण्डर्ड हामी काम कायम राख्न गईरहेका छौ कि यसको आत्म आलोचक बन्छौं ? सत्तामा हुँदा एउटा कुरा, प्रतिपक्षमा हुँदा एउटा कुरा’, श्रेष्ठले भने ।

सदनमा बजेटका विषयमा छलफल गर्ने र आएको सुझावहरूलाई अंगीकार नगर्ने परम्परालाई पनि अन्त्य गर्नुपर्ने उनको धारणा थियो । गृहमन्त्री श्रेष्ठले प्रहरी बढुवामा पैसाको चलखेललाई शून्यमा झारिएको दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले छानबिन गरिएको भन्दै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा अनियमितता, भ्रष्टाचार देखिए कसैलाई पनि छुट नहुने प्रष्ट्याए ।

सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले हालसम्म दुई सय ५० बीओपी स्थापना गरिएको र थप्ने तयारी रहेको जानकारी गराए ।

प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले आवश्यक कदम चालिसकेको र हालै आएको बाढिपहिरोबाट पीडितलाई आवश्यक राहत र पुर्नस्थापना गरिसकेको मन्त्री श्रेष्ठको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर