एमालेले समर्थन फिर्ता लिएको २९ औं दिन आज मुख्यमन्त्रीले विश्वासको मत लिने – Nepal Press
मधेश प्रदेश

एमालेले समर्थन फिर्ता लिएको २९ औं दिन आज मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । आज मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदैछन् । नेकपा एमालेले समर्थन फिर्ता लिएको २९औं दिनमा यादवले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भएपछि आकस्मिक रूपमा प्रदेशसभा बैठक डाकिएको छ। सत्तारुढ लोसपा सांसद उपेन्द्र महतोले आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने जानकारी दिए ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । तर, मुख्यमन्त्री विश्वासको मत लिने मुडमा थिएनन् ।

स्रोतका अनुसार अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निष्कर्षमा पुगेका थिए । प्रदेशको सबभन्दा ठूलो दल नेकपा एमालेको समर्थनमा पुस २७ गते जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर, समीकरण बदलिएपछि चैत २१ मा नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । सरकार छाडेपनि समर्थन दिएको एमालेले जेठ १ गते समर्थन फिर्ता लिएको थियो । सोही कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको छ ।

मधेश प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोसपा र माओवादी केन्द्रका ९/९ तथा नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर