गणेश पाण्डेको ‘को-हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख रुपैयाँ – Nepal Press

गणेश पाण्डेको ‘को-हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख रुपैयाँ

क्यानडामा पनि जित्याे उत्कृष्ट अवार्ड

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गरेको छ भने क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल भएको छ ।

गणेश पाण्डे निर्देशित को-हजबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपैंया बराबर)को फिल्म फण्डिङ जितेको हो ।

यसका साथै, को-हजबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को-हजबेण्डले यो पुरस्कार जितेको हो ।

अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को-हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’, निर्देशक पाण्डेले भने ।

निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ’, उनले भने ।

यसैगरी, को-हजबेण्डले आज नै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को-हजबेण्डले उत्कृष्ट पुरस्कार पाएको हो ।

‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो । यसअघि को-हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को-हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट को-हजबेण्ड निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् ।

यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर