‘कांग्रेसलाई ९ मन्त्रालय दिने सहमति भएको छैन’ – Nepal Press
नेपाल टक

‘कांग्रेसलाई ९ मन्त्रालय दिने सहमति भएको छैन’

लीलामणि पोखरेल भन्छन्- केही दिनभित्रै समाजवादी मोर्चा घोषणा हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको चार महिना पूरा हुन लाग्यो । तर, अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । पुस १० गते बनेको एमाले नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएका प्रधानमन्त्रीलाई सरकारको पूर्णता दिन हम्मेहम्मे परिरहेको छ ।

गठबन्धन दलमा मुस्किलले मन्त्रालयको भागबन्डा मिलाएका प्रचण्डले अहिले दलहरूले मन्त्रीको नाम नपठाउँदा मन्त्री थप्न सकस परेको हो । चार महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेपछि प्रधानमन्त्रीको सदनदेखि सडकसम्मबाट आलोचना भइरहेको छ । अब वैशाख १० गते हुने उपनिर्वाचनपछि मात्रै सरकारले पूर्णता पाउने नेताहरूको भनाइ छ । यही उपनिर्वाचनमा पनि सत्ता गठबन्धन दलहरू एकजुट हुन सकेनन् ।

यहीबीच तेस्रो तर निर्णायक शक्तिमा रहेको मौका उठाइरहेका प्रचण्डले अहिले समाजवादी मोर्चा गठनको तयारी थालेका छन् । प्रतिनिधिसभामा शक्तिशाली तेस्रो शक्तिको बन्न नेकपा एकीकृत समाजवादी र जसपासँग मिलेर प्रचण्डले समाजवादी मोर्चा बनाउने गृहकार्य गरेका हुन् ।

समाजवादी मोर्चा गठबन्धनको प्रक्रिया, सरकारलाई अझै पूर्णता दिन नसक्नुको कारण, कम्युनिष्ट पार्टी एकतालगायत समसायिक विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलसँग नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा

– माओवादी केन्द्र, नेकपा एस र जसपाबीच समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको हो ?

अहिले फाइनल भइसकेको छैन । समाजवादी मोर्चा आवश्यक छ भनेर बनााउने भन्नेमा सैद्धान्तिक सहमति पहिला नै भइसकेको हो । यो मंसिरमा सम्पन्न निर्वाचनअघि पनि चर्चा चलेको हो । त्यसबेलामा पनि दुई-चार पटक छलफल भएको थियो । चुनावमै मोर्चा बनाएर जाने भन्ने कुरा थियो त्यसबेलामा पनि । त्यसैले मलाई लाग्छ छिट्टै नै बन्ला ।

– तपाईंहरूले गठन गर्न खोज्नुभएको समाजवादी मोर्चाको खास उद्देश्य के हो ?

नेपालको संविधानले समाजवादको आधार निर्माण तयार गर्ने भनेको छ । र, हाम्रो पार्टीको कार्यदिशा पनि वैज्ञानिक समाजवाद स्थापना गर्ने भनिसकेपछि समाजवादका कार्यक्रम भएका राजनीति दलहरूले तत्कालिन राज्यसँग, तत्कालिन मुद्दालाई सहकार्य गरेर जाने भन्ने नै मुख्य उद्देश्य हो । त्यस विषयमा पछिल्लो पटक छलफल भइरहेको छ । देश निर्माणका लागि समाजवादी मोर्चा बनाउन आवश्यक छ ।

– यो सहकार्य पार्टी एकताको ठाउँसम्म पुग्ने सम्भावना कतिको छ ?

त्यो त सहकार्य गरेपछि मात्रै थाहा हुन्छ । अहिले सांगठानिक, वैचारिक र राजनीतिकरूपले कति सहमतिको बिन्दुमा पुग्न सकिन्छ । त्यसको आधारबाट पार्टी एकता हुने वा नहुने भन्न सकिन्छ । अहिले सहकार्यको प्रयास भइरहेको बेलामा एकताको कुरासम्म पुग्न हतारो हुन्छ ।

– नेकपा एससहित अन्य केही दलहरुसँग पार्टी एकताको लागि कार्यदल बनाएर छलफल गर्नुभएको थियो । त्यो अहिले किन रोकियो ?

त्यो पनि अहिले यही मोर्चा निर्माण गर्ने त्यसपछि मात्रै कस्तो वातावरण बन्छ । त्यही निष्कर्षको आधारमा गर्ने भन्ने सहमति भएको छ । उहाँहरूसँग पहिला नेकपा हुँदादेखि नै सँगै काम गरेका हौं । त्यसैले मिलेर जाऔं भन्नेमा दुईमत छैन । तर, अब मोर्चा बनाउने भएपछि त्यहीँबाट अगाडि बढौं भन्ने कुरा भएको छ ।

हामीले यी दलसँग मात्रै नभएर सबै वामपन्थी शक्तिलाई पनि मिलाएर जानुपर्छ भनेर जोड दिइरहेका छौं । हामीले माओवादी धारका विभिन्न दलहरूसँग पनि छलफल गरिरहेका छौं । सबैसँग सकारात्मकरूपमा कुराकानी अगाडि बढेको छ ।

– त्यसो त माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकतालाई अन्तिम चरणमा पुर्‍याएको थियो । त्यो कहाँ अड्कियो ?

पार्टी एकताको त सैद्धान्तिक सहमति पहिला नै भइसकेको छ । अब केही व्यवस्थापनसम्बन्धी विषयले रोकिएका हुन् । विचारको विषयमा पनि एकरूपता भइसकेको छैन । तर, संवाद अहिले पनि भइरहेकोले टुंगोमा नपुगेको हो । अब त्यो पनि चाँडै टुंग्याउनुपर्छ भन्नेमा दुवै पक्ष एकमत छौं ।

– बाबुराम भट्टराईले कम्युनिष्ट शब्द नरुचाएको कारणले रोकिएको भन्ने चर्चा पनि छ नि ?

ध्रुवीकरणको पक्षमा आउने भनेर त बाबुरामजीले नै सहमति जनाइसक्नुभएको हो । उहाँको व्यक्तिगत कुरा होला त्यो । उहाँहरूले जुन पार्टी बनाउनुभएको पार्टीले कम्युनिष्ट पार्टी नै चाहिन्छ भन्ने आवश्यकता महसुस गरेको छ ।

– सरकार बनेको चार महिनासम्म पनि किन अझै पूर्णता पाउन सकेको छैन नि ?

सरकारले पूर्णता त अब करिबकरिब पायो भन्नुपर्छ । नेपाली कांग्रेसभित्रको विवादको कारणले अहिलेसम्म सरकारले पूर्णता पाउन नसकेको हो । अहिलेसम्म कांग्रेसले मन्त्रीको नाम दिएको छैन भने कतिपय सरकारलाई समर्थन दिएका पार्टीहरूको विषयमा पनि छलफल भइरहेको छ ।

उनीहरूले आफ्नो नीति बनाउने भनिराख्नुभएको छ । अब वैशाख महिनाभित्र सबै छिनोफानो हुन्छ । कांग्रेसले पार्टीभित्रको विवादको कारणले चुनावसम्म हेरौं भनेर रोकिएको हो । उपनिर्वाचनलगत्तै पूर्णता पाउँछ ।

– गठबन्धनमा पहिला कांग्रेसले ८ मन्त्रालय पाउने भनिएको थियो । तर, अहिले ९ मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको हो ?

त्यो होइन । त्यो कुरामा कुनै सत्यता छैन । गठबन्धनमा त्यसबारे अहिलेसम्म त्यस्तोखालको कुनै सहमति भएको जस्तो मलाई लाग्दैन ।

– गठबन्धनमै आबद्ध भएको जनमत पार्टीले सरकार छाडेको छ । अब उपनिर्वाचनपछि सरकारलाई पूर्णता दिँदा ल्याउने प्रयास हुन्छ कि हुँदैन ?

आफूलाई समर्थन गरेको सबै दललाई समेटेर जाने प्रधानमन्त्रीले प्रयास त जारी नै छ । उहाँहरूले भौतिक मन्त्रालय नपाए बाहिरिन्छौं भन्नुभएको थियो । त्यो उहाँहरूको भागमा परेन । त्यही कारणले उहाँहरूले असन्तुष्टि जनाएर बाहिरिनुभएको हो । तर, उहाँहरूले अहिलेसम्म पनि सरकारलाई समर्थन कायमै राख्नुभएको छ ।

– तर, उपनिर्वाचनको हकमा गठबन्धनका दलहरू एकजुट भएर जान सकेनन् नि ?

गठबन्धन दल भनेको अहिले सरकारलाई समर्थन गरेर सामेल भएका सबै होइनन् । त्यो त सरकारलाई समर्थन गर्ने र विश्वासको मत दिने बेलामा हामीले पनि विश्वासको मत दिन्छौं भनेर समर्थन जनाएका हुन् ।
समर्थित दलहरूसँग सहकार्य गर्ने कुरा त एउटा रहन्छ तर, एउटा औपचारिक रुपमा गठबन्धनको निर्माण भएको चाहिँ हाम्रो ६ दलीय गठबन्धनमात्रै हो । त्यसमा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, लोसपामात्रै हुन् । त्यसमा पछि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि थपिएको छ ।

– अहिलेसम्म सरकारलाई समर्थन कायम राखेको रास्वपालाई उपनिर्वाचनपछि सरकारले त्याउने सम्भावना कतिको देख्नुहुन्छ ?

रास्वपाले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायमै राख्नुभएको छ । भोलि अब कस्तो स्थिति बन्छ त्यसमा निर्भर हुन्छ । अहिले नै हुन्छ या हुँदैन भन्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर