कराँतेका गुरुको फेसबुक ह्याक गरेर चेलाहरुसँग रकम माग, ठगिनबाट यसरी जोगिए – Nepal Press

कराँतेका गुरुको फेसबुक ह्याक गरेर चेलाहरुसँग रकम माग, ठगिनबाट यसरी जोगिए

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार मध्यरात फेसबुकमा लेखे, ’मेरो आइडी ह्याक भएको छ ह्याकरले पैसा मागेको र भोलि बिहान जुम मिटिंग कल गरेको हुँदा उक्त लिंक कसैले पनि नखोल्न अनुरोध गर्दछु ।’ त्यसअघि नै दीपक श्रेष्ठको फेसबुक ह्याक भएको र आफूहरुसँग पैसा मागिएको भन्दै स्क्रिनसटसहित स्टाटसहरु आइरहेका थिए ।

‘१५/१६ जनासँग पैसा माग्न भ्याईसकेको रहेछ’, दीपकले भने ।

उनका अनुसार आइतबार राति ९ बजे राष्ट्रिय खेलकुद परिषद्–राखेपका नेपालगन्जस्थित कर्मचारी महेश चन्दले म्यासेन्जरबाट दीपकसँग कुराकानी गरिरहेका थिए । ‘भोलि बिहान जुम मिटिङ छ, तिमी पनि जोइन हुनु है भन्दै थिए । मैले भ्याउँदिन भने । एकछिनपछि जुमको लिंक आयो’, दीपक भन्छन्, ’त्यसपछि आयो की आएन, हेर्नुस् त भन्दै सोधे । मैले के रहेछ भनेर खोलेँ । पछि एकछिन मोबाइल बिसाएर फेसबुक हेर्न खोज्दा लग इन गर्न भन्यो। १०÷१५ सेकेन्डपछि फेरी लग इन मागिहाल्ने ।’

दीपकका अनुसार उनलाई त्यतिबेलै कराँते खेलाडि मन्डेकाजी श्रेष्ठले फोन गरे । ’गुरु तपाईको फेसबुक ह्याक भएजस्तो छ, मसँग पैसा मागिरहेको छ’ भनेपछि दीपक झसङ्ग भए । दीपकले सँधै मन्डे भनेर कुराकानी गर्ने गरेको तर सोमबार राति भाई भनेर संबोधन गरेपछि मन्डेकाजीले शंका गर्दै फोन गरेका रहेछन् । त्यसपछि अरु धेरैको फोन उनले रिसिभ गरे । उनिहरुसँग २५ हजार रुपैयाँसम्म मागिएको थियो ।

‘मैले पैसा माग्दा नाई नभन्नेहरु पत्ता लगाएर ह्याकरले कुराकानी गर्दै धमाधम पैसा मागिरहेका रहेछन् । धन्न फोन गरे’, दीपक भन्छन् । पछि उनले थाहा पाए, ह्याकरले महेश चन्दको पनि फेसबुक ह्याक गरेर उनीसँग कुराकानी गरिरहेका रहेछन् । ह्याकरको खल्ती र ईसेवा आईडी उल्लेख गरेर दीपकले सोमबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी गरेका रहेछन् ।

’पैसा मागेलगत्तै मसँग फोन गरेर बुझेकाले उनिहरु ठगिनबाट जोगिए । पछि ह्याकरले पनि थाहा पाएछन्, उनले धमाधम म्यासेज डिलिट गरे । त्यही बेला मैले मेरो फेसबुकको पासवर्ड चेन्ज गरि हालेँ’, दीपकले राहतको सास फेरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर