विश्वभरका आयुर्वेद विज्ञ र व्यवसायी काठमाडौंमा (भिडिओ) – Nepal Press

विश्वभरका आयुर्वेद विज्ञ र व्यवसायी काठमाडौंमा (भिडिओ)

काठमाडौं । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका आयुर्वेद विज्ञ र युरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय आयुर्वेद क्षेत्रका विज्ञहरु, उत्पादक, व्यवसायीलगायत सहभागी छन् ।

महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले उक्त सम्मेलन आयोजना गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न सरकारले नीतिगत निर्णय गर्ने बताएका छन् ।

उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवर्द्धनका साथै आयुर्वेद औषधिको उत्पादनका लागि अति आवश्यक जडिबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट ३०० वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाइने बताए । राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडिबुटीको अध्ययन अनुसन्धानलाई द्रुत गतिमा अगाडी बढाउन आवश्यक नीतिगत निर्णय गरिने प्रधानमन्त्रीको भनाई छ ।

प्रत्येक प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडिबुटी संकलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति ल्याइने बताउँदै उनले स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्न आयुर्वेद, पंचकर्म, योग, ध्यान कार्यक्रम संचालन गर्न अस्पताल, उपचार केन्द्रहरू स्थापना गरिने बताए । भारत सरकारले उच्च प्राथमिकतामा राखेको आयुर्वेद अनुसन्धानको कार्यलाई नेपालमा पनि निरन्तरता दिन आवश्यक सहकार्य गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयुर्वेद अनुसन्धानको कार्यमा भारतले नेपालसँग सहकार्य गर्ने बताए । आयुर्वेदको प्रवर्द्धनका लागि भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले आयुष मन्त्रालय नै स्थापना गरेर यस क्षेत्रलाई महत्व दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *