नेपाललाई विश्वकपमा पुर्‍याउने दिपेश : जो ब्याटलाई अंगालो हालेर सुत्थे – Nepal Press

नेपाललाई विश्वकपमा पुर्‍याउने दिपेश : जो ब्याटलाई अंगालो हालेर सुत्थे

काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटको अन्तिम खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको नाटकीय जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकप छनोट भयो ।

नेपालको जितका नायक बने अलराउन्डर दिपेश कँडेल । यूएईलाई जितका लागि २ ओभरमा ७ रन आवश्यक रहेका बेला उनले ह्याट्रिक विकेट लिँदै नेपाललाई सानदार ७ रनको जित दिलाए । आजको खेलमा दिपेशले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिएर सबैभन्दा बढी पाँच विकेट लिए । ब्याटिङमा उनको १५ रनको योगदान थियो ।

छनोट प्रतियोगिता भरिनै उत्कृष्ट प्रदर्शन गरेका दिपेशको सम्झन लायक विगत छैन जे छ उनले वर्तमानमै हासिल गरेका छन् । उनले सानैदेखि गरेको कडा मेहेनतले आज स्थान पाएको छ । अंग्रेजीमा ‘हार्ड वर्क पेड अफ’ भने जस्तै ।

सुर्खेतमा जन्मेका दिपेशको बाल्यकाल प्रदेश १ को राजधानी विराटनगरमा गुज्रिएको थियो । बाल्यकाल मात्रै हैन उनको पढाई बढाई सबै त्यतै भयो र उनी अहिले पनि प्रदेश १ का खेलाडी हुन् ।

हालै १२ कक्षा उत्रिर्ण गरेका दिपेशका बुवा सरकारी जागिरे साल्ट ट्रेडिङका अफिसर भएकाले बुबाको जागिर सरुवा भएसँगै उनी विराटनगरमा बसेका थिए । विराटनगरमा दिपेशले क्रिकेट खेल्ने राम्रो वातावरण पाएका थिए ।

गुराँस क्रिकेट एकेडेमी पछि उनी अहिले होराइजन क्रिकेट एकेडेमीबाट क्रिकेट यात्रालाई अघि बढाइरहेका छन् । दिपेशले जुन प्रदशमा आफ्नो क्रिकेट करिअर सुरु गरे आफू उता नहुँदा पनि त्यही प्रदेशको कहलिएर खेलेका दिपेशलाई प्रदेशले भने अन्याय गरेको भन्दा फरक पर्दैन ।

गत कात्तिकमा सम्पन्न प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दिपेश प्रदेश १ को टीममै परेनन् । प्रतियोगिा सुरु हुने हतार तयारी पुग्दैन भन्ने डर तर, प्रदेश १ ले उनी तिहार मनाउन सुर्खेत गएको बेला पारेर फिटनेस परिक्षण गर्यो ।
अझ तिहारको भोलिपल्ट फिटनेर प्रशिक्षण राख्यो जसले गर्दा दिपेशलाई समयमा बिराटनगर पुग्न मुस्किल भयो र उनी प्रदेश १ को टिममा परेनन् ।

यो एक उदाहरण मात्रै हो । नेपालमा नेपोटिजम र फेब्रेटिजमले ठूलै भुमिका खेल्ने गरेको छ । दिपेश उदाहरण मात्रै हुन् उनी जस्ता कयौं युवा खेलाडीले यस्तै राजनीतिका कारण आफ्नो करियर त्यागेका छन् ।

प्रदेश १ ले आफ्नो क्षमताको कदर नगरे पनि दिपेश आफ्नो कडा मेहेनतमा विश्वास गर्थे । बुवाको जागिर सरुवा भएपछि उनको परिवार सुर्खेत फर्कियो तर उनी आफ्नो क्रिकेट करियरलाई अगाडि बढाउन कोठा भाडामा लिएर विराटनगरमा करिब तीन वर्षदेखि एक्लै बस्ने गर्छन् । उनको यो आटमा काँध थाप्ने काम परिवारले गरेको छ । दिपेशको क्रिकेट करियर राम्रो होस् भनेरै परिवारले उनलाई विराटनगरमा बसेर पढ्ने साथै खेल्ने वातावरण मिलाउन सहयोग गरेको थियो ।

खेल्ने हार्ने स्थितीमा पुग्दा आज दिपेशको परिवारमा दुख छाएको थियो तर जब उनको ह्याट्रिकले नेपालले विश्वकप खेल्न पायो त्यो क्षण परिवारका सदस्य कसैलाई पनि बयान गर्न गाह्रो भएको छ ।

‘जब भाइको उत्कृष्ट प्रदर्शनले नेपाल विजी भयो घरमा सबै जना हर्षको आँसुले भरिएका थियौं’, देपेशकी दिदी रियाले बताइन् । ‘भाइले गरेर हामीमात्रै हैन पुरै गाउँ गर्वान्वित भएकोे छ ।’

‘क्रिकेट र मेरो भाइ भन्ने बित्तिकै सानो छँदा पहिलो पटक उसलाई ब्याट किनेर ल्याइदिँदा उसले सिरानी हालेर सुतेको थियो त्यही याद आउँछ,’ उनले थपिन् ।

उनले दिपेश क्रिकेट ब्याग ब्याटलाई अंगालो हालेर सुत्ने गरेको बताइन् । दिपेश दोस्रो संस्करण एभरेस्ट प्रिमियर लिग (इपीएल) को च्याम्पियन टिम विराटनगर वारियर्सको सदस्य थिए । त्यो बेला विराटनरको कप्तानी पारस खड्काले गरेका थिए ।

यसअघि, यू-१९ क्रिकेट टिममा स्थान बनाएपनि उनले धेरै खेल खेल्ने मौका पाएका थिएनन् ।

छनोटको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो । तेस्रो खेलमा हङकङलाई ९ विकेटले र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि एक जित पछि परेको थियो ।

अन्तिम तथा महत्वपूर्ण खेलमा अपराजित रहेको यूएईलाई ७ रनले पराजित गर्दै नेपालले ८ वर्षपछि विश्वकप टिकट काटेको हो ।


प्रतिक्रिया

One thought on “नेपाललाई विश्वकपमा पुर्‍याउने दिपेश : जो ब्याटलाई अंगालो हालेर सुत्थे

Leave a Reply

Your email address will not be published. Required fields are marked *