क्लबहरुप्रति आक्रोशित अनन्त तामाङ भन्छन्- उहाँहरुलाई फुटबल विकास र खेलाडीको मतलब छैन – Nepal Press
नेपाल टक

क्लबहरुप्रति आक्रोशित अनन्त तामाङ भन्छन्- उहाँहरुलाई फुटबल विकास र खेलाडीको मतलब छैन

काठमाडौं । खेलाडीको आयस्रोतको प्रमुख माध्यम रहने सहिद स्मारक ए डिभिजन लिग आयोजना अनिश्चित बनेपछि राष्ट्रिय टोलीका सदस्यहरुले क्लबहरुप्रति आक्रोश पोखेका छन् । लिग सञ्चालनमा अन्योल बढ‍ेपछि अञ्जन विष्टपछि अनन्त तामाङले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका छन् ।

एन्फा र क्लबहरुका कारण खेलाडीहरु चरम आर्थिक मारमा परेको र भविष्य नै अन्योल बनेको उनीहरुको आशय छ । अञ्जन र अनन्त दुवै एन्फा एकेडेमीका उत्पादन हुन् । नेपाललाई दुई दशकपछि अन्तर्राष्ट्रिय उपाधि जिताउन यी दुईको महत्वपूर्ण भूमिका थियो । करिब ८ वर्षदेखि सिनियर राष्ट्रिय टोलीमा उनीहरु सँगै छन् । अनन्त तामाङसँग नेपाल प्रेसका लोकेन्द्र प्रसाईंले पछिल्लो फेसबुक स्टाटस र समसामयिक फुटबललाई लिएर कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंशः

– सामाजिक सञ्जालमा तपाईं क्लबहरुप्रति आक्रामक देखिनुभयो नि !

समयले बाध्य बनायो । समयको माग भनौं न ! फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थ हावी भयो । केही मान्छेहरु छन् । उनीहरु जसरी पनि लिग रोक्न चाहन्छन् । उनीहरु फुटबल विकास भएको हेर्न चाहँदैनन् । जसरी पनि लिग रोक्न लागिपरेका छन् । लिग नहुँदा तिनीहरुलाई केही घाटा हुँदैन ।

क्लबहरु हात बाँधेर बसेपछि मर्कामा पर्ने त खेलाडीहरु नै हुन् । २० देखि ३० प्रतिशतमात्र फुटबल विकासका लागि सोच्नुहुन्छ । बाँकीलाई कुनै मतलब छैन । उहाँहरुलाई मतलब छ केवल पद र स्वार्थको ।

फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थ हावी भयो । केही मान्छेहरु छन् । उनीहरु जसरी पनि लिग रोक्न चाहन्छन् । उनीहरु फुटबल विकास भएको हेर्न चाहँदैनन् ।

– अझै स्पष्ट भन्नु न समस्या के हो ?

क्लबहरु अहिले तयारी खर्च नपाएकाले लिग खेल्न नसक्ने भनेको सुन्दैछु । हिजोका दिनमा लिग सुरु भएपछि कति महिना, कति वर्षपछि पनि तयारीबापतको पैसा पाउँदा भइरहेको थियो । अनि आज केही समय कुर्दिनुभन्दा तु का तु चाहियो भन्दै हुनुहुन्छ । एन्फाले दिएको तयारी खर्चले मात्र क्लबहरु चल्ने हो र ? ए डिभिजन लिग खेल्ने क्लबलाई यसो भन्न सरम लाग्नुपर्ने होइन र ?

खासमा क्लबहरुलाई विकास चाहिएकै होइन रहेछ । लिग खेल्नै पर्ने रहेनछ । यदि खेलाडी र फुटबलको माया हुन्थ्यो भने आज उहाँहरुलाई लिग खेल्न कुनै अप्ठेरो थिएन । म जन्मिनुभन्दा अगाडि स्थापना भएका क्लबहरुसँग यति लामो समयको अनुभव छ कि आर्थिक स्रोत व्यवस्थापन उहाँहरुका लागि निकै सामान्य विषय हो जस्तो लाग्छ ।

– एन्फा र क्लबबीचको टसलमा खेलाडी परे भन्न खोज्नु भएको हो ?

हो, त्यस्तै लागिरहेको छ । एन्फाको नेतृत्व लिग गर्न सकारात्मक देखिन्छ । तर, एन्फाले चाहेरमात्र हुँदैन, क्लबहरु पनि सकारात्मक हुनुप‍र्‍यो । खेल्ने त क्लबहरुले हो नि ! क्लबहरुले अड्को थापेपछि एन्फा जति नै सकारात्मक भएर पनि केही लाग्दैन । तर, क्लबहरु किन मानिरहनु भएको छैन, यसले मलाईमात्र होइन धेरै फुटबलकर्मीलाई अचम्मित बनाएको छ ।

– आफ्नो पछिल्लो स्टाटसमा क्लबहरुले पारिश्रमिक दिन ढिलाइ गरेको विषयमा पनि लेख्नुभएको छ । तपाईंले कति भयो क्लबबाट पैसा नपाउनुभएको ?

मलाई यो भन्न पनि आफैंलाई लाज लागिरहेको छ । एन्फाले तयारी खर्च दिन ढिलाइ गर्‍यो भनेर प्रश्न गर्ने क्लबले खेलाडीलाई के नियमित तलब दिइरहेका छन् ? मैले थ्रीस्टारसँग गत सिजन खेलेको एक डेढ महिनाको तलब अझै लिन बाँकी छ । सहिद स्मारक ए डिभिजन लिगमा २-३ खेल बाँकी रहेको अवस्थामा म भारतमा लिग खेल्न जानुपर्ने भएको थियो । मैले अहिलेसम्म खेलेको पैसा दिनुस् भन्दा एक डेढ महिनाको पैसा पछि आएर लिनुस् भन्नुभयो ।

तर, पछि त्यसको अत्तोपत्तो भएन । मलाई माग्न आफैंलाई पनि लाज भयो । मैले थ्रीस्टारबाट रिलिज पनि लिइसकेको छु । अहिले धेरै खेलाडीहरु क्लबविहीन हुनुहुन्छ । लिग नै नभएपछि कसैले आबद्ध गर्ने कुरा पनि रहेन । मैले सुनेको छु- ५० प्रतिशतभन्दा बढी खेलाडीहरुले गत सिजन खेलेको पैसा क्लबहरुबाट पाउन बाँकी छ । यो सिजनको त कुरै छाडौं ।

एन्फाले दिएको तयारी खर्चले मात्र क्लबहरु चल्ने हो र ? ए डिभिजन लिग खेल्ने क्लबलाई यसो भन्न सरम लाग्नुपर्ने होइन र ? खासमा क्लबहरुलाई विकास चाहिएकै होइन रहेछ । लिग खेल्नै पर्ने रहेनछ ।

– क्लबले खेलाडीलाई कसरी आबद्ध गर्छन् ?

सामान्यतया घरेलु लिगभन्दा २-३ महिना अगाडि खेलाडीसँग सम्झौता गरिन्छ । अधिकांशले लिगभरका लागि मात्र आबद्ध गर्छन् । हाम्रो लिग नै २÷३ महिनासम्म चल्ने भएकाले खेलाडीले क्लबबाट पारिश्रमिक पाउने भनेको ५-६ महिनाको मात्र हो । वर्षभरका लागि सम्झौता हुने खेलाडीको संख्या निकै थोरै होला ।

– ९-१० महिनासम्म क्लबविहीन हुँदा तपाईंहरु आर्थिक रुपमा चाहिँ कसरी चलिरहनुभएको छ ?

फुटबलबाहेक मेरो आयस्रोतको कुनै माध्यम छैन । किनभने जीवनमा सिकेको र जानेको भनेकै फुटबल खेल्न हो । योभन्दा बाहिर गएर केही सोचिएन पनि । म अहिले काठमाडौंमा बसिरहेको छु । २०-२५ हजारको फ्ल्याटमा बस्छु । म यो कसरी तिरिरहेको हुँला ? राष्ट्रिय टोलीबाट खेलेर जित्दा पाएको पुरस्कार र क्लबबाट खेल्दा बचत गरेको केही रकमले अहिलेसम्म जेनतेन धानिरहेको छ । तर, अब मलाई पनि धेरै गाह्रो हुन थालिसक्यो । राष्ट्रिय टोलीबाट नखेलेका र औसत क्लबमा रहेका खेलाडीको हालत म कल्पना पनि गर्न सक्दिनँ ।

– यो विषयमा एन्फासँग गम्भीर रुपमा कुरा गर्नुभएको छैन ?

म फुटबल खेलाडी संघको पनि सदस्य हुँ । अहिलेसम्म १०-१५ पटक हामीले एन्फासँग यो विषयमा कुराकानी गरिसकेका छौं । तर, मैले अघि पनि भनिसकें, यो एन्फा अध्यक्ष वा एक-दुई जनाले चाहेरमात्र हुने विषय होइन रहेछ । तर, एन्फाले क्लबलाई मिलाउन नसक्नु पनि उहाँहरुको कमजोरी हो । जिम्मेवारीमा बसेपछि पन्छिन मिल्दैन । एन्फाले जो जो खेल्छन्, जो जो तयार हुन्छन्, उनीहरुलाई मात्र समेटेर भएर पनि लिग खेलाउने भन्नुभएको छ । सायद उहाँहरुको छलफल चलिरहेको होला ।

– तपाईंले फेसबुक स्टाटसमा एन्फा आफैंमा यति धमिलो भइसक्यो कि अब कडाभन्दा कडा डिटर्जेन्टले पनि सफा हुन गाह्रो छ भलै असम्भव नहोला भनेर लेख्नु भएको छ । यसलाई स्पष्ट बनाउनु न ?

मैले अघि पनि भनिसकें, २० देखि ३० प्रतिशत मानिस फुटबल विकासका लागि सकारात्मक छन् र उनीहरुलाई चिन्ता छ । बाँकी स्वार्थ र पदमा डुबेका छन् ।

एन्फाले तयारी खर्च दिन ढिलाइ गर्‍यो भनेर प्रश्न गर्ने क्लबले खेलाडीलाई के नियमित तलब दिइरहेका छन् ? मैले थ्रीस्टारसँग गत सिजन खेलेको एक डेढ महिनाको तलब अझै लिन बाँकी छ ।

– तपाईंहरुले चाहेको २-३ महिने लिग हो कि वर्षभर खेल्ने वातावरण हो ?

यो पटक हुने भनिएको लिग ५-६ महिनासम्म चल्ने भनिएको छ । अर्काे वर्षदेखि ८-९ महिनासम्म चल्ने गरी आयोजना गर्छौं भनेर एन्फाले बताएको छ । हामीले चाहेको वर्षभर फुटबलमा व्यस्त रहने वातावरण हो । ताकि खेलाडीले अन्त कतै ध्यान दिन नपरोस् । हामीले बाहिर हेर्‍यौं भने पनि ८-९ महिनासम्म लिग चल्छ । १०-१५ दिनको तयारीका भरमा राष्ट्रिय टोलीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन्छन् ।

हाम्रोमा यसको ठीक विपरीत छ । हाम्रोमा लिगभन्दा बढी राष्ट्रिय टोलीको एक्टिभिटिज हुन्छ । लिग नभई राष्ट्रिय टोलीले नतिजा दिएन भन्नु ठीक हो जस्तो लाग्दैन । लिग नगरेपछि राष्ट्रिय टोलीलाई २ महिनासम्म बन्द प्रशिक्षणमा राखे पनि त्यसले उपलब्धि देला जस्तो लाग्दैन ।

– पछिल्ला केही महिनामा धेरै खेलाडी विदेश उड्नुभएको छ । राष्ट्रिय फुटबल टोलीको महत्वपूर्ण सदस्य रहेको हिसाबले यी समाचारहरु सुन्दा तपाईंलाई कस्तो लाग्छ ? तपाईंको योजना के छ ?

फुटबलमा जिन्दगी बनाउँछु भनेर लागिपरेको खेलाडी विदेशिरहेको देख्दा निकै दुःख लाग्छ । अहिले जति पनि खेलाडी बाहिर गएका छन्, उनीहरुलाई जान त कहाँ मन थियो होला र ! परिवारलाई हेर्नुपर्ने वेलामा ज्यान पाल्नसमेत धौधौ भएपछि के गर्नू । परिवारसँग पैसा माग्न पनि नमिल्ने । एउटा स्तर र चर्चामा पुगेपछि परिवार र समाजका पनि अपेक्षाहरु हुन्छन् । उहाँहरु साँच्चै नै पीडा भएर बाहिर जानुभएको जस्तो लाग्छ ।

मेरो विदेश जाने कुनै योजना छैन । म अन्तिम समयमसम्म नेपाली फुटबलमै लडिरहन्छु । म हार खाने मान्छे होइन । जति नै पीडा भए पनि म नेपाली फुटबलमै केही गर्न चाहन्छु । भविष्य त कसले देख्या छ र ! तर, आजसम्म मैले फुटबलभन्दा बाहिर केही देखेको छैन । जति सक्छु नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छु । बरु कहाँ कहाँ कराउनुपर्ने हो, दबाब दिनुपर्ने हो त्यो दिन्छु । किनभने फुटबल भन्दाभन्दा यत्रो वर्ष बितिसकेको छ । यति धेरैको माया पाएको छु ।

– आजको दिनबाट हेर्दा नेपाली फुटबलमा टिकिराख्छु जस्तो लाग्छ ?

स्थिति राम्रो छैन । तर, अन्तिम घडीसम्म पनि संघर्ष गर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर