राप्रपाका सांसद भक्ति सिटौलालाई प्रश्न- प्रदेश १ को सरकार गठनमा तपाईहरुको समर्थन कसलाई ? – Nepal Press
नेपाल टक

राप्रपाका सांसद भक्ति सिटौलालाई प्रश्न- प्रदेश १ को सरकार गठनमा तपाईहरुको समर्थन कसलाई ?

राप्रपाका प्रवक्ता सिटौला भन्छन् : गठबन्धनको सत्ता कब्जा गर्ने दुष्प्रयास चिर्न एमालेसँग चुनावी तालमेल गरेका हौं

विराटनगर । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा १४ सीट प्राप्त गर्‍यो । ७ सीट प्रत्यक्षतर्फ जितेको राप्रपाले ७ सीट नै समानुपातिकतर्फ पायो । निर्वाचनबाट कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन सकेन । यस्तो अवस्थामा राप्रपाको १४ सीट सरकार गठन गर्न महत्वपूर्ण हुनसक्छ । अझ प्रदेश तहमा सरकार गठन गर्न राप्रपा निर्णायक हुने अवस्था छ ।

प्रदेशसभातर्फ राप्रपाँसग प्रदेश नं १ मै ६ सीट छ । प्रत्यक्षबाट २ र समानुपातिकबाट ४ सीट जितेको राप्रपा प्रदेश १ मा सरकार गठन गर्न निर्णायक हुने देखिन्छ । प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको एमालेलाई सरकार गठनमा राप्रपाको खाँचो छ । सत्ता गठबन्धनको मात्रै पनि बहुमत पुग्दैन । यहाँ निर्वाचनमा तालमेल गरेका एमाले र राप्रपाले सरकार बनाउने चर्चा छ । एमालेलाई सरकार बनाउन राप्रपाले सघाउने तयारी लगायतका विषयमा राप्रपाका केन्द्रीय प्रवक्ता एवं झापा क्षेत्र नं ४ (२) प्रदेशबाट प्रत्यक्ष निर्वाचन जितेका भक्ति सिटौलासँग नेपाल प्रेसकर्मी सुमन पुरीले गरेको कुराकानीः

– तपाईं राप्रपा प्रदेश १ को संसदीय दलको नेता भएर प्रदेशसभामा आउन लागेको हो ?

हेरौं, सब साथीहरुको सल्लाहमा के हुन्छ ?

– सरकारमा जाने तयारी भएको हो ?

हामीले झिनो संख्यामा प्रदेशसभामा प्रतिनिधित्व गरेका छौं । संख्याको आधारमा हामी प्रदेशमा भूमिका खेल्छौं । सरकार बनाउने हामीलाई हैसियत पुग्दैन । ६ वटामात्रै सीट छ । सरकार बनाउने हैसियत नभएकाले हामी सरकारमा जान्छौं भन्न अप्ठेरो छ । पार्टीले व्यापक छलफल गरेर एउटा धारणा बनाउँछ । छलफल गरेपछि हामी सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्ने कुराको निधो हुन्छ । अहिले निधो भएको छैन । हामी चाँडै निधो गर्छौं ।

सरकार बनाउने हैसियत नभएकाले हामी सरकारमा जान्छौं भन्न अप्ठेरो छ । पार्टीले व्यापक छलफल गरेर एउटा धारणा बनाउँछ । छलफल गरेपछि हामी सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्ने कुराको निधो हुन्छ ।

अरुले बहुमत पुर्‍याए भने हामी जोडिरहनुपर्ने अवस्था छैन । हामी प्रतिपक्षमा बस्छौं । गठबन्धन भन्नाले चुनावभरि मात्रै भएको तालमेल हो । आगामी दिनको बाटोको लागि एमालेसँग सरसल्लाह भइसकेको छैन । पार्टीभित्र आगामी दिनको बाटो कस्तो हुने भन्ने निर्णय भएको छैन । हामी छलफल गरेर निर्णय गर्छौं ।

– चुनावी गठबन्धन जस्तै सरकार गठनमा पनि एमालेसँग राप्रपाको तालमेल हुन्छ भन्ने छ नि ?

सहयोग गर्ने कुरामा हामी सधैं एमालेको साथमै रहन्छौं । एमाले पनि सहयोगी रहन्छ । तर, सरकार बनाउने विषयमा उहाँहरु र हाम्राबीचमा सरसल्लाह भएको छैन । सरसल्लाह गरेरमात्रै हामी सरकारमा सहभागी हुने कि नहुने भन्ने कुराको तय गर्छौं ।

– प्रदेश १ मा राप्रपासहित एमालेको सरकार बन्यो भने तपाईंहरु सरकारमा जान तयार हो कि होइन ?

त्यो छलफलबाट तय हुन्छ । प्रदेशसभामा सदस्य भएपछि सधैंभरि विपक्षमा बस्न पनि तयार रहनुपर्छ । सरकार सञ्चालनका लागि पनि सधैंभरि तयार रहनुपर्छ । त्यो त स्वाभाविक कुरा हो । तर कोसँग कसरी गर्ने, पक्ष विपक्षमा कहाँ बस्ने भन्ने कुरा चाहिं परिस्थितिजन्य हुन्छ ।

– सत्ता गठबन्धनले मिलेर सरकार चलाऔं भन्यो भने तपाईंहरु सरकारमा जाने कि नजाने ?

यो सत्ता गठबन्धन ? जो अहिले भइरहेको ? हैन यसै जानुस् र आउनुस् भन्ने कुरा हैन । हाम्रा सर्तहरु रहन्छन् । त्यो सत्ता गठबन्धन र हाम्रो लक्ष्य के रहन्छ ? हिँडुम् न हामी सँगै भनेर सुरुक्क जाने कुरा हुँदैन । बाटोमा हिँडिरहेको बटुवा जस्तै सँगै हिडुम् न भन्ने कुरा हैन । लक्ष्य प्राप्त गर्न सहमतिमा पुग्यौं भने सँगै हिँड्न सकिन्छ ।

प्रदेशसभामा सदस्य भएपछि सधैंभरि विपक्षमा बस्न पनि तयार रहनुपर्छ । सरकार सञ्चालनका लागि पनि सधैंभरि तयार रहनुपर्छ ।

– सर्तहरु के के छन् त ?

सर्तहरु के के हुन् भने जनतामुखी र विकासमुखी कार्यक्रमहरु आउनुपर्‍यो । जनताको अधिकार संरक्षणका कार्यक्रम आउनुपर्‍यो । जनताको मौलिक अधिकार रक्षाको ग्यारेन्टीको प्रतिबद्धता आउनुपर्‍यो । विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको कुरामा कसरी कसरी जाने भन्ने योजना बन्नुपर्‍यो । यसै हामी पनि हिँड्दैछौं । तपाईंहरु पनि हिँड्नुस् भन्दैमा सजिलो गरी हामी सँगै हिँड्ने कुरा होइन । हामी पनि छुट्टै पहिचान बनाएको राजनीतिक पार्टी हौं ।

– हिजो एमालेसँग तालमेल गर्दा यी सर्तहरुका कुरा भएका थिए कि थिएनन् ?

निर्वाचनमा तालमेल हुँदा यी सर्तका कुरा भएका थिएनन् । मात्रै सत्तामा बस्ने पार्टीहरु मिलेर सत्ता क्याप्चर गर्ने नियतले काम गरे । सत्ता कब्जा गर्ने दुष्प्रयासलाई चिर्न निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो । सत्ता कब्जा गर्न नदिन हामीले चुनावमा एमालेसँग तालमेल गरेका हौं । हामीले खोलो तर्न हात समातेको हो । सँगै खोला तर्दा हात छाड्दा दुवै बग्ने अवस्था थियो । अहिले हामीले खोला तरिसक्यौं ।

– अब सँगै हिँड्ने सम्भावना के छ ?

हाम्रा लक्ष्य, उद्देश्य र कार्यशैलीमा तारतम्य मिल्यो भने निरन्तर सँगै हिँड्छौं । राजनीतिक पार्टीहरु सधैं सहकार्यमा रहनुपर्छ । लक्ष्य मिलेन र अलग-अलग गन्तव्य भयो भने सहकार्य छाड्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर