प्रतिगामी शक्ति राप्रपा र भारतसँग मिलेर एमालेले चुनाव लडेको जनताले बुझेका छन् : रश्मिराज नेपाली – Nepal Press
नेपाल टक

प्रतिगामी शक्ति राप्रपा र भारतसँग मिलेर एमालेले चुनाव लडेको जनताले बुझेका छन् : रश्मिराज नेपाली

राजमो कार्यकारी अध्यक्ष रश्मिराज नेपाली भन्छन् : राजनीतिक एजेण्डामा सम्झौता गरेका छैनौं

रुपन्देही । रश्मिराज नेपाली सत्ता गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष हुन् । जनमोर्चाले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा बाग्लुङ र प्यूठानमा १/१ तथा प्रदेशसभामा अर्घाखाँचीमा १ सीट लिएर अन्य बाँकी क्षेत्रमा गठबन्धनलाई सहयोग गरेको छ । सो दलले समानुपातिकका लागि छुटै मत मागेर देशव्यापी प्रचारप्रसार गरेको छ । सो प्रचारप्रसारको नेतृत्व नेता नेपालीले गरेका छन् ।

१९९८ साल असार २१ गते प्यूठान उदयपुरको मर्कावाङ गाउँमा जन्मिएका नेपाली हाल लुम्बिनी प्रदेश राजधानी दाङको गडहवा गाउँपालिका वडा नंं २  वडहरामा बस्दै आएका छन् । ८१ वर्षीय नेपालीले २०१९ सालमा नेकपाको सदस्यता लिएका पुराना नेताका रुपमा परिचित छन् । पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट सभासद भएका नेपालीको अहिले पनि समानुपातिकमा पहिलो नम्बरमा नाम छ ।

२०२८ सालमा राजनीति गरेको आरोपमा विभिन्न मुद्दा लगाएपछि २०२९ सालदेखि शिक्षण पेशा छोडेर पार्टीको होलटाइमर कार्यकर्ता बनेका नेपाली आफ्नो क्षेत्रमा माड्साब भनेर चिनिन्छन् । चुनावी सेरोफेरोमा  रश्मिराज नेपालीसँग गरिएको कुराकानी नेपाल टकमा :-

– राष्ट्रिय जनमोर्चाले के एजेण्डा लिएर जनतासँग भोट मागिरहेको छ ?

हामीसँग जनताको माझमा जानको लागि एजेण्डा र मुद्दाको कमी छैन । हामीले हिजो पनि जनताको सेवक भएर काम गरेका हौं । हामी आज पनि जनताका सेवक हौं र भोलि पनि जनताका सेवक बन्नेछाैं । राजनीति भनेको सेवामूलक पेशा हो । हामीले राजनीतिलाई व्यवसाय र उद्योग बनाउने छैनौं । राजनीतिलाई व्यवसाय र उद्योग बनाउनेका विरुद्व हाम्रो सम्झौताहीन संघर्ष जारी रहनेछ ।

चुनावको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । देशमा भ्रष्टाचार व्याप्त छ, जनताका जनजीवनका तमाम समस्याहरु छन्, राष्ट्रियताका विषय छन् र देश बचाउने कुरा छन् । तिनलाई चुनावी मुद्दा बनाएका छौं ।

हामीले गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथ चुनावलाई उपयोग गरेका छौं ।

राजनीतिलाई व्यवसाय र उद्योग बनाउनेका विरुद्व हाम्रो सम्झौताहीन संघर्ष जारी रहनेछ ।

– गठबन्धन गर्नुको मुख्य कारण के हो ?

देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्रको रक्षा, धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यक बन्यो । प्रतिगमनलाई परास्त नगरेसम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनीतिक अस्थिरताको कारणले विकासमा बाधा पुग्यो ।

संविधानसभाबाट प्राप्त जनताका सीमित अधिकार रक्षा हुन नसक्ने अवस्था आएको र प्रतिगमनलाई परास्त गर्न पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र त्यो विषयलाई ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका हौं । जीतको लागि भन्दा पनि सविधानको रक्षा, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको लागि गठबन्धन आवश्यक बनेको हो ।

संविधानसभाको नारा हाम्रो पार्टीले नै लगातार उठाउँदै आएको हो । अन्य दलहरुले त धेरै पछि मात्र हो । त्यसैले त्यसबाट प्राप्त अधिकार खोसिने खतरा बढेपछि गठबन्धन गरेका हौं । यो स्थायी गठबन्धन होइन भने बुझ्नु जरुरी छ ।

– एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न डराएर पाँच दलीय गठबन्धन बनाएको भन्ने आरोप छ नि ?

यो सरासर झूट हो । मैले यसअघि नै भनिसकें, पाँच दलीय गठबन्धन प्रतिगमनका विरुद्व हो । यो संविधान र गणतन्त्रको रक्षाका लागि हो । कसैसँग डराउने विषय छैन । नेपालको इतिहासको खासखास मोडमा अग्रगामी शक्तिबीच कार्यगत एकता र गठबन्धन हुने गरेको छ । इतिहासले प्रमाणित गरेको छ ।

हामी पञ्चायतको अन्त्यका लागि २०४६ को जनआन्दोलनमा, २०६२/०६३ को जनआन्दोलनलगायतका विशेष अवस्थामा कांगे्रस–कम्युनिष्ट एक भएर लडेको इतिहास छ । राजनीति अध्ययन गरेमा बुझिन्छ ।

यो स्थायी गठबन्धन होइन भने बुझ्नु जरुरी छ ।

– राष्ट्रिय जनमोर्चाले चुनावको तयारी कसरी गरेको छ ?

राष्ट्रिय जनमोर्चा अहिलेको चुनावमा एउटा गठबन्धनमा छ । हामी गठबन्धन दलबीच सामूहिक कार्यक्रम बनाएर जनताको मन जित्ने गरी घरदैलोमा छौं । पार्टीले एकल ढंगले चुनावी तयारी, प्रचारप्रसार र कार्यक्रमहरु पनि गर्दै आएको छ । गठबन्धन दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरणमा आम मतदाता, नेता कार्यकर्तासँग भेटघाट सम्पन्न गर्दै देशव्यापी सभा, प्रशिक्षण सम्पन्न भइसकेका छन् ।

दोस्रो चरणमा अझै मसिनो गरी जनतामाझमा जाने कार्यक्रम बनाएका छौं । साथीहरु दिनरात जनताको घरदैलोमा हुनुहुन्छ । मतदाता शिक्षाका लागि पनि साथीहरु मतदातासमक्ष पुग्नुभएको छ । अर्कोतर्फ राष्ट्रिय जनमोर्चाले एक कार्यक्रम बनाएर समानुपातिकतर्फका उम्मेदवारहरुलाई मत माग्न बुटवलबाट गत कार्तिक १९ गतेदेखि प्रचार अभियान गरेका छौं ।

मेरै नेतृत्वमा सुरु भएको प्रचार अभियानले पहिलो चरणमा बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका करिब ८० निर्वाचन क्षेत्रमा प्रचारप्रसारका कार्यक्रमहरु गरेको छ । राष्ट्रिय जनमोर्चाको पक्षमा जनता उत्साहित छन् । गिलास चिन्हमा भोट हाल्न र गठबन्धनप्रति जनता उत्साहित छन् । साथीहरु पार्टीको निर्देशनमा देशरभर चुनावी अभियानमा हुनुहुन्छ ।

– तपाईंहरुको पार्टी कांग्रेसको पछाडि हिंड्यो भन्ने आरोप छ । के राष्ट्रिय जनमोर्चा कांग्रेसकै पछि लागेको हो त ?

यो विषयमा मिडिया र मिडियाकर्मीहरुले बुझ्न र जनताले बुझ्ने गरी मिडियाकर्मीले लेख्न आवश्यक ठान्दछु मैले । राष्ट्रिय जनमोर्चा कांगे्रसको पछि लाग्यो भन्ने प्रतिगामी, विरोधीहरुको झूटो आरोप हो । विरोधी तथा प्रतिगामीहरु कहिल्यै पनि कम्युनिष्ट विचार बोकेका पार्टीप्रति सकारात्मक हँुदैनन् ।

राष्ट्रिय जनमोर्चाले ७० वर्ष लामो लडाइँ लडेर संविधानसभाबाट ल्याएको संविधान र गणतन्त्रको रक्षामा अडिक शक्तिसँग सहकार्य गरेको मात्र हो । अहिलेको गठबन्धन विचारको गठबन्धन नभएर चुनावी गठबन्धन हो भनेर बुझ्नु जरुरी छ । यो कुरा हामीले गठबन्धनका बैठकमा लिएका संघीयता, एमसीसीलगायतका मुद्दामा लिएको अडानहरुले नै प्रमाणित गरेका छन् ।

यो पाँच दलीय गठबन्धनमा कांग्रेसमात्र छैन । अग्रगमन चाहने अन्य पार्टी पनि छन् । यो संविधानका कैयौं अन्तरवस्तुसँग हाम्रा बिमति छन् । राष्ट्रिय जनमोर्चाले संघीयता स्वीकारेको छैन । यो संविधान २०४७ को भन्दा प्रगतिशील भएकाले हामीले यो संविधानलाई फेल गराउन हुन्न । यसलाई रक्षा गरी अगाडि बढेर सामान्य जनताका आधारभूत समस्या समाधान गर्दै जनताको शासन स्थापित गर्नुपर्दछ भन्ने मान्यता बोकेका छौं ।

यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितिको बारेमा बुझ्यौं भने सही निष्कर्षमा पुग्न सकिन्छ । सैद्धान्तिक रुपमा हामी फरक विचार राख्ने पार्टीका मान्छे हाैं । तर, केपी ओलीको  सरकारले २/२ पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनःस्थापनाको लागि सडकदेखि आवाज उठायौं र संसद पुनःस्थापना भयो ।

पाँच दलीय गठबन्धन प्रतिगमनका विरुद्व हो । यो संविधान र गणतन्त्रको रक्षाका लागि हो ।

– राष्ट्रिय जनमोर्चा संघीयताविरोधी पार्टीको रुपमा परिचित छ । तर, तपाईंहरु फेरि संघीयता ठीक छ भन्ने दलहरुसँग चुनावमा हुनुहुन्छ ?

नेपालको हकमा सुरुमा संघीयताको विरोध गर्ने हाम्रो पार्टीमात्र हो । तर, फेरि हामी संघीय प्रणालीकै विरोधी भने होइनौं । नेपालको हकमा संघीयता ठीक हुन्न र छैन । हाम्रो जस्तो सानो मुलुकले आर्थिक रुपले संघीयता थेग्नै सक्दैन र संघीयता खारेज गर्नुपर्छ । विकेन्द्रीकरणको आधारमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्छ ।

पहिला हामी र हाम्रो पार्टीमात्र संघीयताको विपक्षमा थियो । अहिले अन्य पार्टीहरुले निर्णयमात्र गर्न नसकेका हुन् । नेपालको हकमा संघीयता आवश्यक होइन रहेछ भन्ने बुझिसकेका छन् । हामीले आआफ्ना फरक मतहरुलाई थाती राखेर संसद विघटन र प्रतिगामी षड्यन्त्रका विरुद्व गठबन्धन बनाएका हौं ।

संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम छ । हामीले जितेपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि आवाज उठाउँछौं । संघीयता पूर्ण रुपमा खारेज नहुँदासम्म सडक र सदनबाट हामी संघीयताको विरोध गर्छौं र जनतालाई सचेत बनाउँछौं ।

– गठबन्धनप्रति जनताको चासो कस्तो देख्नुभएको छ ?

देश र विदेशमा रहनुभएका नेपाली गठबन्धनप्रति उत्साहित हुनुहुन्छ । प्रतिगमनलाई जसरी पनि परास्त गर्नुपर्छ भन्ने जनताको चाहना छ । जनताले प्रतिगामी शक्ति राप्रपा र भारतसँग मिलेर एमाले चुनाव लडेको छ भन्ने बुझेका छन् । त्यसका कारण यो चुनावमा गठबन्धनको जीत हुन्छ ।

नेपालको हकमा संघीयता ठीक हुन्न र छैन । हाम्रो जस्तो सानो मुलुकले आर्थिक रुपले संघीयता थेग्नै सक्दैन र संघीयता खारेज गर्नुपर्छ ।

– तपाईं यस पटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी केका लागि ?

मेरो उम्मेदवारी व्यक्तिगत नभएर पार्टीको हो । पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएपछि मैले उम्मेदवारी दिएको हुँ । खासमा गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेज गर्न मेरो उम्मेदवारी हो ।  अग्रगमनको पक्षमा प्रतिगमनका विरुद्व र जनताको अहिलेको अवस्थामा परिवर्तन ल्याउन मेरो उम्मेदवारी हो । म पार्टी, क्रान्ति, परिवर्तनका लागि जनताको पक्षमा उभिएकाले पार्टीले विश्वास गरेपछि उम्मेदवार बनेको हुँ ।

– तपाईंले चुनाव जित्ने वा जनताले तपाईंलाई माननीय बनाउलान् त ?

मलाई कसैले माननीय बनाउने नबनाउने भन्दा पनि मलाई पार्टीले विश्वास गरेर पहिलो नम्बरमा राख्नु नै ठूलो विषय हो । म माननीय बन्ने नबन्ने कुनै ठूलो कुरो होइन । यो निर्वाचन पनि हाम्रा लागि आन्दोलनको एउटा मोर्चा ठानेका छौं । मैले राजनीति अहिलेमात्र चुनावको मुखमा आएर गरेको हैन ।

म २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको मान्छे हुँ । त्यसपछि पार्टी, क्रान्ति र परिवर्तनका लागि निरन्तर लागेको छु । अधिकांश समय मैले जनताको घरदैलोमा दिन बिताएको छु । देशभरका नेपाली र विदेशमा रहेका श्रमजीवी नेपालीसँग मेरो घनिष्ट सम्बन्ध छ । म जनताको साथमा छु । मलाई जनताको भर र विश्वास छ ।

मैले अहिलेसम्म पार्टीमा र जनताप्रति कुनै अविश्वास हुने खालका काम गरेको पनि छैन । जसले गर्दा मेरो लगनशीलता विश्वास, पार्टीको ममाथिको विश्वास छ । त्यसकारण मैलेभन्दा पनि पार्टीले चुनाव जित्छ । पार्टीले चुनाव जितेपछि मेरो पनि जीत अवश्य हुनेछ र माननीय पनि बन्नेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर