जिते सदनमा र हारे भने सडकमा बसेर जनताको सेवा गर्छु : बालकृष्ण श्रेष्ठ – Nepal Press
नेपाल टक

जिते सदनमा र हारे भने सडकमा बसेर जनताको सेवा गर्छु : बालकृष्ण श्रेष्ठ

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ (१) मा सत्ता गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा हुने भएको छ । उक्त क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) ले युवा नेता बालकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक चुनावी मैदानमा होमिएका छन् । आफू युवा भएको, स्वच्छ छवि भएको र हालसम्म नेतृत्व लिएका संघसंस्थामा सफल नेतृत्व गरेको हुनाले प्रदेशसभा सदस्यका रुपमा पनि प्रभावकारी कार्य गर्ने उनको दाबी छ । आफ्नो पार्टीभित्र मात्रै नभई अरु सबै पार्टीका नेता कार्यकर्ता, आम समाजसेवी, बुद्धिजीवीहरु, दलित जनजाति, युवा, महिला, विद्यार्थी, अपाङ्ग, अल्पसंख्यक, पहाडी र मधेसी सबै समुदायमा आफ्नो प्रभाव उत्तिकै रहेकाले जीत निकाल्ने उनले दाबी गरे । उनै प्रदेशसभा सदस्यका उम्मेदवार बालकृष्ण श्रेष्ठसँग गरिएको कुराकानीः

– निर्वाचन संघारमै आइसक्यो, सबै मतदाताहरुको घरदैलोमा पुग्न भ्याउनुभयो ?

घरदैलो कार्यक्रम सकेको छ् । मैले सबैजनाको आशीर्वाद लिने मौका पनि पाएँ । यसबाटै मलाई छुट्टै किसिमको ऊर्जा र हौसला प्राप्त भएको छ ।

– राजनीतिप्रति जनतामा खासै उत्साह देखिँदैन, तपाईंले कस्तो प्रतिक्रिया पाउनुभयो ?

तपाईंले सोध्नुभएको प्रश्न एकदमै जायज छ । किनभने अहिले राजनीतिमा वितृष्णा बढेको छ । तर, मैले आफ्नो प्रतिबद्धता नै विगतको जस्ता जितेपछि गाउँमा नेता नभेटिने परिपाटीको अन्त्यका लागि मेरो उम्मेदवारी भनेको छु ।

त्यस्तै आम युवाहरुका समस्याहरु समाधान गर्ने तथा विकास निर्माणको काममा तीव्रता दिने मेरो प्रतिबद्धता छ । यसले अघि भनेजस्तो राजनीतिमा छाएको वितृष्णा मेटाउन मद्दत पनि गर्नेछ । राजनीतिमा आकर्षण बढोस् भन्ने मेरो चाहना छ ।

– तपाईंले उम्मेदवारी दिएको क्षेत्रमा सत्ता गठबन्धन दलभित्रै मित्रवत प्रतिस्पर्धा हुन लागेको छ, यसलाई कसरी लिनुहुन्छ ?

अहिले हामी पाँच दलीय गठबन्धनमा छौं र म पनि मित्रवत प्रतिस्पर्धामा उत्रिएको छु । कसैलाई हराउनभन्दा पनि म आफैं जित्न आएको हुँ ।

– यसरी मित्रवत प्रतिस्पर्धा हुँदा गठबन्धन दल बाहिरका उम्मेदवारलाई फाइदा हुने आंकलन गर्न थालिएको छ नि ?

अहिले कुनै पनि दलले एकल मतले जित्ने अवस्था छैन । म मेरो पार्टीले गरेको सिफारिसको आधारमा चुनावी मैदानमा उभिएको छु । मैले कसैको भाग खोसेको छैन, यो विपक्षीले बुझेकै कुरा हो । कुन उम्मेदवारलाई फाइदा वा घाटा हुने त्यो मैले सोचेको छैन । मेरो ध्यान आफैंले जीत निकाल्नु हो ।

– स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा तपाईंको पार्टीले पाएको मत जीतका लागि पर्याप्त देखिँदैन । तपाईंले जीत हासिल गर्ने के आधार छ ?

मेरो पार्टीको मात्र होइन, अरु दलका साथीहरुबाट पनि हामीले मत पाउनुपर्नेछ, सो साँचो हो । अहिले म मित्रवत प्रतिस्पर्धामा छु । मेरा कतिपय साथीहरु भेट्दा नयाँ इच्छा शक्ति भएकै नेताहरुको खाँचो रहेको र त्यो सम्भावना मलाई नै देख्नुभएको छ । मलाई नजिकबाट चिन्ने साथीहरुले अन्य उम्मेदवारको तुलनामा योग्य ठान्नुको कारण पनि मैले जीत हासिल गर्ने दरिलो आधारका रुपमा लिएको छु ।

– अन्य उम्मेदवारहरुभन्दा तपाईं के कति कारणले उपयुक्त हुनुहुन्छ र तपाईंलाई जनताले भोट दिएर किन जिताउने ?

मेरो जीतपछिको योजना भनेको मुख्यतः नीति नियम बनाउनेमा रहनेछ । आफ्नो क्षेत्रका लागि पनि चुरेको काखमा रहेको गैंडाटार वडा नम्बर १ को नुनथरदेखि, बिन्द्रावनसम्म पर्यटकीय डीपीआर तयार गर्नेछु । विकासका लागि बाटोहरु खुलाउनेछु । त्यसकारण पनि मलाई विजयी गराउन आवश्यक ठानेको छु ।

– तपाईंले प्रतिस्पर्धीलाई कति मतान्तरले जीत हासिल गर्ने अनुमान गर्नु भएको छ ? तपाईंको मुख्य प्रतिस्पर्धी को हुन् ?

मेरो प्रतिस्पर्धा अहिले त्रिपक्षीय रुपमा हुनेछ । सबैले आफ्नो तयारी गर्नुभएको छ । मैले सामाजिक रुपमा विगतमा गरेका कार्यले पनि मलाई थप प्राथमिकता दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।

– तपाईंले जीत हासिल गरेपछि आफ्नो क्षेत्र र प्रदेशको विकासका लागि के कस्तो काम गर्नुहुन्छ ?

धार्मिक पर्यटनका लागि गैंडाटारको उत्तरी भेगमा रहेको नुनथर, चन्द्रनिगाहपुरको वडा नम्बर ९ मा रहेका धामहरु, तल्लो भेगका विश्रामपुरको महादेव मन्दिरका विकासका लागि पनि मैले आफ्ना योजनाहरु तयार गरेको छु । समग्रमा यस क्षेत्रलाई धार्मिक पर्यटकीय रुपमा विकास गर्दै युवाहरुलाई स्वरोजगारी, गुणस्तरीय शिक्षा, उद्यम विकासमा पनि मैले काम गर्नेछु । विगतमा मैले शिक्षा क्षेत्रमा पनि जिम्मेवारी बहन गरेकाले यस क्षेत्रमा शिक्षाको विकासमा मेरो विशेष योगदान रहनेछ । अझ सबभन्दा ठूलो कुरा भनेको शवको अन्त्येष्टि गर्ने व्यवस्थित घाट तथा समाधिस्थल तयार गर्नेछु ।

– चुनावको वेला भोट भाग्दै जनताको घरदैलोमा जाने र चुनाव जितेपछि गाउँ नफर्कने परिपाटी छ । तपाईंले गर्ने पनि त्यस्तै त होला नि ?

चुनाव जितिसकेपछि जनप्रतिनिधि गाउँघर नफर्किने परिपाटी रहँदै आएको छ । तर, मेरो पार्टीले मलाई जित्यो भने सदनमा बसेर तथा हार्‍यो भने सडकमा बसेर जनताको सेवा गर्नुपर्छ भनेको छ, मैले गर्ने पनि त्यही हो । मेरो पहिलो प्राथमिकता भनेको पनि म प्रत्येक महिना जनताको घरघरमा पुग्ने भन्ने छ र यो म गरेर पनि देखाउनेछु ।

– मतदाताहरुलाई तपाईंको सन्देश के छ ?

मेरो पार्टीमा विश्वास राख्ने आम जनता आदरणीय मतदाताले त मलाई मत हाल्नुहुन्छ नै । अब मेरो क्षेत्रमा कांग्रेसका उम्मेदवार हुनुहुन्न । मेरो अनुरोध यो छ कि रुख छाप भएको ठाउँमा रुखमा र रुख छाप नभएको ठाउँमा कलम छापमा मतदान गर्नुहोस् र मलाई तपाईंहरुकै सेवा गर्ने अवसर दिनुहोस् । अरु उम्मेदवाहरुले पहिले नै समय पाइसक्नुभएकाले अब मलाई नयाँ व्यक्तिको रुपमा एक पटक हेर्नुहुन अनुरोध गर्न चाहन्छु ।

– अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

यसपालि मेरो अवस्था राम्रो बनेको छ । मैले विगतबाट देख्दै र भोग्दै आएका कुरा म बालकृष्णको मात्र नभई हजारौं युवाहरुको समस्या बोल्न मलाई टिकट दिइएको हो । युवालाई स्थान दिन, नयाँ उम्मेदवार भएको हिसाबले राजनीतिलाई मैले सेवाको भावले हेरिरहेको छु । सो कुरा जनताले पनि बुझ्नु भएकाले अब त्यसका लागि ‘कलम’ चिन्हमा मतदान गरी सहयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर