प्यूठान अब एमालेको किल्ला बन्यो, बन्यो : सूर्य थापा – Nepal Press
नेपाल टक

प्यूठान अब एमालेको किल्ला बन्यो, बन्यो : सूर्य थापा

रुपन्देही । प्यूठानमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नेकपा एमालेबाट पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज सूर्य थापा उम्मेदवार छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थापा तीन दशक लामो समय पत्रकारितापछि भूगोलको राजनीतिमा आएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीको प्रेस सल्लाहकार भएका थापा समाजशास्त्रमा स्नातकोत्तर तथा व्यवस्थापनमा स्नातक गरेका छन् । थापाका आधा दर्जन बढी पुस्तक प्रकाशन भएका छन् । आफ्नो अभिव्यक्तिमा प्रस्ट र खरो स्वभावका थापाले जिल्लाका नौ स्थानीय तहका ६४ वटा वडामा पुगेर मतदातासँग भेटघाट, घरदैलो र चुनावीसभा सकेका छन् ।

सत्ता गठबन्धनबाट जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलेसँग प्रतिस्पर्धामा रहेका उनै सूर्य थापासँग नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानीः

– तपाईंको उम्मेदवारी केका लागि ?

प्यूठान जिल्ला चेतना, जागरण र राजनीतिक परिवेशका हिसाबले देशकै अग्रणी र सचेत जिल्लाहरुमध्ये पर्दछ । तर, लामो समयदेखि यहाँको कम्युनिष्ट आन्दोलन गलत नीति र सिद्धान्तहीन बाटोका कारण दिग्भ्रमित जस्तो भइरहेको छ । करिब ७७ प्रतिशत कम्युनिष्ट जनमत हुँदाहुँदै आज जिल्लाको निर्णायक हैसियत कायम गर्न कम्युनिष्ट समूहहरुलाई कठिन परिरहेको छ । यस्तो अवस्थामा नेकपा (एमाले) को स्पष्ट नीति, दृष्टिकोण र संगठनात्मक सामर्थ्यसहित जिल्लाको नेतृत्व गर्ने उद्घोषका साथ मैले पार्टीको समग्र नेतृत्व विकासमा जोड दिएको छु । तदनुरुप नै पार्टी पंक्तिलाई क्रियाशील र जनतालाई गोलबन्द गर्दै निर्वाचनको मैदानमा होमिएको छु । देशको सबैभन्दा ठूलो पार्टीको हैसियतमा नेकपा (एमाले) लाई जनतामा स्थापित गर्न र जनताको जनमत प्राप्त गर्न नै मेरो उम्मेदवारी हो ।

– मतदाताले तपाईंलाई के प्रश्न गरिरहेका छन् ?

मतदाताले खास प्रश्न गरिरहेका छैनन् । आशा र विश्वासको नजरले हेरिरहेका छन् । खासगरी प्यूठानको अवस्थालाई मध्यनजर गरेर विकास र समृद्धिको नेतृत्व गर्न ठोस रुपमा योगदान गर्नुहोस् भनेर आशीर्वाद दिइरहेका छन् । जनताको आशा, विश्वास र भरोसा अत्यन्त प्रेरक रहेको छ । पटकपटक अरुलाई हेर्‍यौं, यसपटक तपाईंलाई जिताएर पठाउँछौं भन्ने आम मतदाताको अभिमत मैले पाएको छु । मतदाताहरुले आफ्नो मतको सदुपयोग र फेरिएको प्यूठान हेर्न चाहेका छन् । हामी त्यसप्रति निकै संवेदनशील भएर मतदाताहरुको विश्वास जित्न लागेका छौं ।

करिब ३० वर्षदेखि रजगज गर्दै आएको नेकपा मसालका कारण प्यूठान पछाडि परेको छ ।

– चुनाव जित्न जनतालाई आकर्षित गर्ने एजेन्डा चाहिएला नि ! त्यस्तो के छ तपाईंसँग ?

प्यूठानलाई राष्ट्रिय राजनीतिको पहुँचमा जोड्ने र जिल्लाको अहिलेको अवस्थालाई बदल्ने हाम्रो प्रमुख एजेन्डा हो । करिब ३० वर्षदेखि रजगज गर्दै आएको नेकपा मसालका कारण प्यूठान पछाडि परेको छ । यस अवस्थालाई अन्त्य गरेर हामीले योजनाबद्ध विकासको ठोस प्रक्रिया थाल्ने र जिल्लालाई अरु छिमेकी जिल्लासरह विकासको प्रक्रियामा अगाडि बढाउने एजेन्डालाई मुखर ढंगले उठाएका छौं ।

पूर्वाधार विकास र समृद्धिको यात्रालाई नेकपा एमालेले मात्रै नेतृत्व गर्नसक्ने हुँदा हामीले यस अभियानमा समृद्ध प्यूठान, सुखी प्यूठानीको जनआकांक्षा अघि सारेका छौं । यसको कार्यान्वयन नै हाम्रो जोडदार एजेन्डा हो ।

हामी धेरै ठूल्ठूला कुरा गर्नेभन्दा पनि योजनाबद्ध, व्यवस्थित र महत्वपूर्ण स-साना कामहरु गर्दै आम जिल्लावासीको हितमा योगदान गर्न चाहन्छौं । प्यूठानलाई समृद्ध बनाउन हामीले लिखित ५१ बुँदे प्रतिबद्धता पनि मतदाताका माझ पुर्‍याएका छौं । बदलिएको प्यूठान बनाउन जिल्लावासीको माग, सल्लाह र सुझावबाटै हाम्रो विकासको यात्रा अघि बढ्नेछ ।

– पत्रकारिता छोडेर राजनीतिमा, अनि काठमाडौं छाडेर प्यूठान आउनुको उद्देश्य के हो ?

मैले प्यूठान रोजेको होइन, प्यूठान आएको होइन । यही जन्मेको हो, व्यक्तित्व विकासका निम्ति, अध्ययनका निम्ति, राष्टिय राजनीतिको आवश्यकताका लागि, अरु पेशाव्यवसाय संलग्नताको हिसाबले म ३० वर्ष काठमाडौंमा बसें । यसबीचमा मेरो जिम्मेवारी काठमाडौंमा थियो, पार्टीको काम, पत्रकारिता काठमाडौं बसेर गरें ।

यस हिसाबले पार्टीको काममा यहाँ जोडिएको थिएन । तर, यही पार्टीको जिम्मेवार ठाउँमा थिएँ । नेकपा एमालेमा प्रतिस्पर्धा गरेरै स्थापित भएको हो र दशौं महाधिवेशनबाट मलाई जिल्लाको जिम्मेवारी तोकियो । म पार्टी पोलिटव्युरो सदस्यसहित प्यूठान जिल्ला इन्चार्जको जिम्मेवारी लिएर आएँ र पार्टीलाई जिल्ला अधिवेशन गरेर, स्थानीय चुनावको तयारी गरेर, स्थानीय चुनाव प्रतिस्पर्धा गरेर अहिले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीको चरणमा हामी अगाडि बढेका छौं । यस हिसाबले मैले काठमाडौं जिल्लालाई सहयोग गर्थें, अहिले आफै जिल्लाको इन्चार्ज भएर यहाँको नेतृत्व, पार्टी परिचालन, जनतासँगको प्रत्यक्ष सम्बन्ध, भेटघाटमा रहेको छु ।

यस हिसाबले प्यूठान फर्केको पनि होइन, रोजेको पनि होइन, बसाइ सरेर अन्यत्र गएर रोज्दै, घुम्दै, फिर्दै आएको पनि होइन । प्यूठान झिमरुक गाउँपालिका १ काभ्रेखोलामा जन्मेको हुँ ।

राष्ट्रिय जनमोर्चा यहाँको खिइँदो, टाक्सिँदो शक्ति हो । यहाँ जनमोर्चामा धेरै इमानदार साथीहरु हुनुहुन्छ । उहाँहरुको सिंगो पुस्ता नै त्यो पार्टीले शोषण गर्‍यो, सिंगो जीवन बर्बाद गर्ने काम गर्‍यो, दोहन गर्‍यो भनेर भनिरहनुभएको छ ।

– प्यूठानमा जनमोर्चाका उम्मेदवारलाई सत्ता गठबन्धनको सहयोग छ । तर, तपाईं एक्लै चुनाव जित्ने घोषणा गर्दै हिंड्नुभएको छ ।, जीत सम्भव छ त ?

उहाँहरुले भागबन्डा गर्दा कुन पूर्वसर्तका आधारमा गर्नुभो मैले जान्ने कुरा भएन । राष्ट्रिय जनमोर्चा यहाँको खिइँदो, टाक्सिँदो शक्ति हो । यहाँ जनमोर्चामा धेरै इमानदार साथीहरु हुनुहुन्छ । उहाँहरुको सिंगो पुस्ता नै त्यो पार्टीले शोषण गर्‍यो, सिंगो जीवन बर्बाद गर्ने काम गर्‍यो, दोहन गर्‍यो भनेर भनिरहनुभएको छ । १५ वर्षसम्म मोहनविक्रम सिंहको श्रीमती दुर्गा पौडेललाई उम्मेदवार बनाउने कुरालाई यहाँ जिल्लाका साथीहरुले टुलुटुलु हेरेर, सहेर, निरुपाय भएर, बोल्न नसकेर मानिराखेका छन् ।

पञ्चायतले ३० वर्ष शोषण दमन गरेजस्तै मोहनविक्रमले आफ्नो श्रीमतीलाई एकपटक समानुपातिक, २०७४ सालमा प्रत्यक्ष र अहिले पनि मतदान गरेर एक भोटको बहुमतले उम्मेदवार बनाएर थोपर्नुभएको छ । त्यसैले ती साथीहरुको चित्त दुःखेको छ । जनमोर्चामा काम गरेका ७० प्रतिशत नेता-कार्यकर्ताहरु एमालेको जिल्ला कमिटी नेतृत्वमा हुनुहुन्छ । अब दुर्गा हुँदा सजिलो र अरु हुँदा गाह्रो भन्ने होइन ।

नेकपा एमालेको अगाडि राष्ट्रिय जनमोर्चा कुनै तुलना गर्न सक्ने शक्ति होइन । हामी स्थानीय चुनावमा ४१ हजार मत प्राप्त गरेको शक्ति हौं । उहाँहरु १३ हजार चानचुन प्राप्त गरेको शक्ति हो, त्यो पनि कांग्रेस, माओवादीले भोट हाल्दिँदा खेरी । उहाँहरुको हालत त्यो स्थितिमा रहेको छ । थुप्रै साथीहरु चुनावपछि पनि हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । त्यसकारण दुर्गा पौडेलको उम्मेदारीले केही फरक पर्दैन । मैले धैरै महत्व पनि दिएको छैन । प्यूठानका मतदाताले बढो महत्वका साथ हेरेका छन् ।

५ वर्षअघि चुनाव जितेपछि मतदाताकहाँ फर्केर आउनुभएन छ । मतदाताका पीरमर्का बुझ्नु भएनछ । कहाँ जानुभो, कहाँ बेपत्ता हुनुभो, कहिल्यै मुख देख्न पाइएन भन्ने मतदाताको गुनासो छ । त्यस हिसाबले मैले अरु केही टिप्पणी गर्न चाहन्न । राष्ट्रिय जनमोर्चा हामीसँग प्रतिस्पर्धा गर्न सक्षम, योग्य र सुहाउने शक्ति होइन र गठबन्धन भएर उहाँहरु ३ वटा, ४ वटा भएर आउनुभयो कोसिस गर्नुभाछ त्यसो भएर । गठबन्धनको तागतमा उहाँको प्रतिस्पर्धा मैले चाहिं त्यति बलियो हुन्छ भन्ने ठान्या छैन । ३ दल मतमा केही अगाडि थियो ।

तर, बैशाख ३० पछि झिमरुक, माडी नदीमा धेरै नै पानी बगिसक्या छ । गठबन्धन आफैंमा बदनाम छ, हानथाप छ, शक्ति संघर्ष छ, एकले अर्कालाई नस्वीकार्ने प्रवृत्ति छ । उम्मेदवारको कुनै योग्यता, क्षमता छैन । पटक-पटक परीक्षित र असफल उम्मेदवार बोकेर हिँड्नुभाछ । जनतामा कुनै आकर्षण छैन । यो अवस्थामा एमालेले सजिलै चुनाव जित्छ । हामी सजिलै प्रतिनिधिसभा तथा प्रदेशसभा जित्ने गरी जनताका बीच पुगेका छौं । हामीसँग नसकेरै गठबन्धन बनेको हो नि त केन्द्रीय रुपमा ! एक्लाएक्लै सक्ने भए त एक्लाएक्लै आउनुहुन्थ्यो नि त ! नसकेरै गठबन्धन बनाउनु भएको हो ।

नेकपा एमालेको अगाडि राष्ट्रिय जनमोर्चा कुनै तुलना गर्न सक्ने शक्ति होइन । हामी स्थानीय चुनावमा ४१ हजार मत प्राप्त गरेको शक्ति हौं । उहाँहरु १३ हजार चानचुन प्राप्त गरेको शक्ति हो, त्यो पनि कांग्रेस, माओवादीले भोट हाल्दिँदा खेरी ।

त्यसैले उहाँहरुको हानथाप, स्वार्थ, छिनाझप्टीको जगमा, उहाँको कमजोरीमै टेकेर, उहाँहरुको ढाडमा टेकेरै टाउकोमा हान्छौं र चुनाव जित्छौं ।

– फरक विचार राख्नेलाई, असहमत हुनेलाई, तपाईंको आलोचना गर्नेलाई बिज्नेगरी टिप्पणी गर्नुहुन्छ, मतदाताले यस्तो विषय मन पराउँछन् भन्ने लाग्छ ?

केही केही मेरा आलोचकहरु विषय नपाएर गलत भाष्य निर्माण गर्ने प्रयासमा छन् । त्यसबाट तपाईं पनि प्रभावित भएको यो प्रश्नले झल्काउँछ । म पार्टी नेतृत्वलाई निर्माण गर्ने, नेतृत्वलाई रक्षा गर्ने, स्थापित गर्ने र सफल बनाउने यी ४ कुरामा हिजो माधव नेपाल पार्टीको महासचिव हुँदा एकदम कोर टीममा बसेर सघाएको हो । अप्ठ्यारामा सघाएको हो । झलनाथ खनाल प्रधानमन्त्री बनाउने, अध्यक्षको कार्यकाल सफल बनाउने, प्रधानमन्त्रीको कार्यसम्पादनलाई सहज बनाउने, सफल बनाउने काममा म पार्टीको प्रचार विभागको सचिव र प्रेस सल्लाहकार भएर मैले सघाएकै हो । अब केपी शर्मा ओलीको नेतृत्वमा त उहाँ अध्यक्ष र म केन्द्रीय सदस्य, उहाँ अध्यक्ष र म पोलिटव्युरो सदस्य भएर केन्द्रीय तहमै सँगै छौं ।

उहाँले नै मलाई केन्द्रीय कमिटीमा लैजानुभयो, विश्वास गर्नुभो, जिम्मेवारी दिनुभो जिल्लाको इन्चार्ज बनाउनु भो । उहाँले नै मलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउनुभाछ । उहाँमाथि हमला हुँदा, उहाँमाथि अनुचित तरिकाले घेराबन्दी हुँदा र काम गर्न नदिँदा म प्रतिरक्षामा दायाँबायाँ नगरिकन उहाँलाई सफल बनाउने भूमिकामा सक्रिय रहें । यो कुनै शक्ति केन्द्र होइन । यसलाई विकृत ढंगले शक्ति केन्द्रभन्दा पनि पार्टीको नेतृत्व सही निर्माण गर्ने, नेतृत्व सफल बनाउने, स्थापित गर्ने र परिणाममुखी बनाउने कुरामा म हिजो पनि लागें, आज पनि लागिराछु र भोलि पनि लाग्छु ।

म पार्टी प्रक्रिया, पद्धति, मूल्य, मान्यता, विधान, यसका निश्चित सिद्धान्त, दर्शन र जनताप्रतिको उत्तरदायित्वलाई बोकेर अगाडि बढ्ने मान्यता राख्ने मान्छे हुँ । म नेतृत्वलाई सफल बनाउनुपर्छ, काम गर्न दिनुपर्छ, नेतृत्वले देश र जनताको हितमा काम गर्न मद्दत गर्नुपर्छ भन्ने मान्छे हुँ । जहाँसम्म चुनावमा जनतालाई रिझाउने कलाको कुरा गर्नु भो । हामी त प्रतिस्पर्धाबाट सर्वश्रेष्ठ ठहरिने, जनताले मन पराएर कार्यकर्ता हुने र कार्यकर्ताले मन पराएर नेता हुने, जनताको बहुदलीय जनवादको मर्म, मूल्य, मान्यतामा अगाडि बढेका छौं । जानेदेखि नै यही गरेको हो ।

म हतियार बोकेर त्यो बाटो असफल भएपछि यो चुनावको बाटोमा आएको छु । जनताको बीचमा जानुपर्छ भनेर आएको छु । बाकस थाप्दै आएको हो, बुलेट काम नलागेर ब्यालेटको बाटोमा आएको मान्छे होइन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा जननेता मदन भण्डारीको नेतृत्व, अगुवाइ र उहाँको नेतृत्व कलाबाट प्रभावित भएर राजनीतिमा छु । जनतालाई रिझाउनुपर्छ । जनता जनार्दन हुन् । जनताको आदेश र आशीर्वादले मात्रै राजनैतिक जिम्मेवारीहरु प्राप्त गरेर अगाडि बढ्नुपर्छ भन्ने नै मेरो जनतालाई रिझाउने मूल मन्त्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर