हार्ने देखेर गठबन्धन साङ्घातिक आक्रमणमा उत्रियो : एमाले नेता विष्णु रिमाल – Nepal Press
नेपाल टक

हार्ने देखेर गठबन्धन साङ्घातिक आक्रमणमा उत्रियो : एमाले नेता विष्णु रिमाल

काठमाडौं । आम निर्वाचनका लागि दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सत्ता गठबन्धन र एमाले उम्मेदवारहरू अहिले आफ्ना चुनावी एजेण्डा लिएर जनतामाझ गइरहेका छन् ।

आफ्नो बहुमत आउने दाबी गरिरहेको एमाले नेता विष्णु रिमाल पराजित मानसिकता लिएर गठबन्धनले साङ्घातिक आक्रमण गरिरहेको आरोप लगाएका छन् । रिमालसँग निर्वाचन केन्द्रित विषयमा गरिएको कुराकानी नेपाल टकमा

निर्वाचनमा नेकपा(एमाले)को अवस्था कस्तो छ ? माहोल कस्तो छ  ?

अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धिको लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ । देशभरिको माहोल हेर्दा एमालेको परिस्थिति राम्रो छ । राम्रोको अर्थ के हो भने विगतमा गठबन्धनले क्षति पुर्‍याउँछ र गठबन्धनका अगाडी एमालेले केही पनि गर्न सक्दैन भन्ने सत्यहरू नै अहिले आफै नै एमाले माथि गयो भन्नेमा पुगेका छन् । त्यो हिसाबले हेर्दा खेरी पनि हाम्रो पार्टी पङ्क्तिमा मनोबल एकदम बढेर गएको छ । धरातलीय यथार्थ पनि के छ भने गठबन्धनका मानिसहरूले आफ्नो जित्नुपर्ने कारणको न्यायोचित जवाफ दिन सकिरहेका छैनन् ।

जनताहरूले सोधिरहेका छन्, अब तपाईँको नेता को हो ? गन्तव्य के हो ? विषय के हो ? उहाँहरूसँग त्यो एजेण्डा छैन । फरक–फरक पार्टी मिलेर गठबन्धन बनेको कारणले गर्दा उहाँहरूको फरक–फरक जवाफ छन् । कतिपय ठाउँमा ठिक जवाफ दिँदाखेरि गठबन्धनमा दरार आउने भएकाले उहाँहरू जवाफ दिन सक्ने तहमा हुनुहुन्न । त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ । किनभने एमालेले आफ्नो नेता अगाडी सारेको छ । एमालेले एजेण्डा सारेको छ । अझ सरल भाषामा त हामीले पाँच वर्ष एमालेले गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडी सारेका छौँ । जुन हाम्रो घोषणापत्रको संक्षेपिकरण जस्तै नै हो । त्यो हिसाबले सारमा भन्दाखेरि अहिले हामी अगाडी छौँ । अगाडी बढी नै रहेका छौँ । यदि बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरूको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने यो हिसाबले गइरहेको मैले देख्छु ।

हामीले विभिन्न विश्लेषणहरू सुनेका छौँ । एमाले कतै पछि त पर्दै छैन ? बाहिर आएको तथ्याङ्कलाई लिएर तपाईँहरूको विश्लेषण के हो ?

पहिलो कुरा त यो तथ्याङ्क आफैँमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरूले पनि सर्वेक्षण गरेका भए पनि उनीहरूले आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् । सेयर गर्न नि पाउँदैनन् । अब सरकारका संयन्त्रले गरेका कुनै त्यस्तो सूचना छन् भने पनि ती संस्थाहरूले बाहिर ल्याउन पाउँदैनन् । मैले सुने गृहमन्त्री स्वयम्ले समेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनी नक्कली अङ्कहरू बाहिर ल्याएको मैले सुनेको छु । मेरो आफ्नो बुझाइमा मैले सत्तामा रहँदाखेरि, सरकारमा रहँदाखेरि भएका कामको अनुभवको आधारमा त्यस्ता संस्थाका कुनै पनि सूचना सेयरिङ हुँदैनन् । बाहिर सर्कुलर गर्न पनि पाइने होइन । त्यो त आचारसंहिताको कुरो पनि थियो । मलाइ के लाग्छ भने गठबन्धनका साथीहरू पराजयको मानसिकताबाट आत्तिनु भएको छ ।

विभिन्न ठाउँमा हिंसा पनि बढिरहेको छ । केही मानिसहरू घाइते भइरहेका छन् विगत केही दिनदेखि र आक्रमणमा उत्रिएको छ गठबन्धन । अरु कुनै दल उत्रेका छैनन् । व्यक्ति उत्रेका छैनन् । गठबन्धन उत्रिएको छ । अर्को दलको प्रचार टिममाथि आक्रमण गर्ने, अर्काको कार्यक्रममा जान नदिने र नक्कली सूचना बाहिर ल्याउने भनेको स्वतः आफैँमा के बुझ्नुपर्छ हामीले भने यो पराजयको कारणले हताश मनस्थितिले आएको कुराहरू बुझ्नुपर्छ । त्यस कारणले जे तथ्य, तथ्याङ्कहरू बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् । त्यसमा कुनै पनि संस्थाहरूले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन ।

म चुनौती नै दिन सक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिर्पोट नै बाहिर ल्याए भयो नि त । बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरूले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुपर्‍यो । निर्वाचन आयोगलाई भन्नुपर्‍यो, हामी कानून मिच्छौँ । मिच्न अरूलाई पनि दिनु भन्नुपर्‍यो ।

उहाँहरू छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि उहाँहरूले अन्तर्राष्ट्रिय फेक न्यूज एजेन्सी, न्यूज पोर्टलहरूलाई प्रयोग गर्नुभएको छ । मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेवसाइटमार्फत् एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु । त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ । यो स्वच्छ निर्वाचनको लागि निन्दनीय काम हो ।

परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडि परेको भन्ने समाचारहरू आइराखेको छ । यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? पार्टी कमिटीहरू कसरी परिचालित भइरहेका छन् ?

प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन । किन भन्दाखेरि अहिले पहिलेको भन्दा पृथक् प्रचार छ । अहिले हामी पोष्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सीमित सङ्ख्यामा मात्रै जानुपर्छ । २५ को संख्या तोकेको छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइँदैन । यो आचारसंहिताको कारणले गर्दाखेरि पहिलेको जस्तो ठुलो सङ्ख्यामा जाने रौनक चाहिँ देखिँदैन ।

पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएन कि भन्ने लाग्नु स्वाभाविक नै हो । हामीले आमसभाको माध्यम चाहिँ तोकिएको ठाउँमा मात्रै जुन कमिटीहरूले आवश्यक ठान्नुभएको छ, त्यो ठाउँमा मात्रै गरेका छौँ । जहाँ अध्यक्ष पुग्न सक्नुभएन र उहाँहरूलाई ठुलो सभा गर्न मन लाग्यो त्यो ठाउँमा मात्रै हामीले ४० ठाउँ छानेका थियौँ त्यसमध्ये निश्चित ठाउँमा अहिले अध्यक्ष गइरहनु भएको छ । त्यस कारणले जहाँ जहाँ अध्यक्ष जानुभयो जनसागर उर्लिएको नै हामी पाउँछौँ । त्यो हिसाबले राम्रै देखिन्छ । बढी हामीले सामाजिक सञ्जाल प्रयोग गरेका छौँ । र वैकल्पिक माध्यमहरू प्रयोग गरेका छौँ । केही अनलाइनमा विज्ञापन गर्‍यौँ । फेसबुक इत्यादिमा बुस्ट गरेका छैनौँ । सामाजिक सञ्जालमा स्वतःस्फूर्त रूपमा लाखौँ व्यक्तिहरूको बिचमा एमालेको प्रचार यो आठ÷दश दिनमा व्यापक नै गइरहेको छ ।

मतदाताहरूले कसरी मत हाल्ने ? आफ्नो नम्बर कहाँ छ ? लिस्ट पाएको छ कि छैन घरमा ? हामी पहिले प्रत्येक मतदाताको नाम लेख्थ्यौँ र घरघरमा गएर तपाईँको यति नम्बरमा छ भन्थ्यौँ । अब तिन÷चार दिन बाँकी छ । ती दिनमा पूर्णता आउँला । त्यसमा कमी भएको होला जस्तो लाग्छ मलाई । सबै भोटहरू जिरो बदरमा जाने गरी, सबै मत सदर, जिरो बदर भन्ने किसिमले जानुपर्ने स्थिति हुन्छ । त्यो हिसाबले हाम्रो कमिटीहरूलाई अगाडी बढ्नुस् भनेका छौँ । तर मुखमा झुण्डिएको छ साथीहरूलाई चार सूर्य चार छाप भन्ने शब्द प्रयोग गर्नुहुन्छ । त्यसले कहिलेकाहीँ गलत अर्थ लगाइदिन सक्छ । किनभने एउटा मतपत्रमा एउटा मात्र सूर्य छ अहिले । सूर्य नभएको मतपत्र कुनै पनि छैन ।

अधिकांशमा सूर्य नै सूर्य छन् । तर मतपत्र चार वटा फरक फरक छ । चार गते चार वटा फरक मतपत्र अनि प्रत्येकमा भएको सूर्यमा छाप लगाऊ भनेर एमालेले भन्ने हो भने त्यो ठिक हुन्थ्यो । पहिले सात सूर्य सात छाप भन्ने लयमा चार वटा मतपत्र हुने भएकाले चार सूर्य चार छाप भन्नुभएको छ । एउटै मतपत्रमा चार वटा सूर्य खोज्नुभयो र चार वटा छाप लगाइदिनुभयो भने बदर हुनसक्ने खतरा छ । यसमा भर्खर हामीले हाम्रो साथीहरूलाई सचेत गराउन खोजिरहेका छौँ ।

प्राविधिक खालका पक्षहरू र त्यसमा ध्यान दिनुपर्ने विषयमा हामीले भर्खर निर्देशित गरिरहेका छौँ । यो चुनावमा अर्को एउटा पनि निर्देश गर्नुपर्छ, भर्खर कानून आएको छ । तल सर्कुलर पनि धेरै गइसकेको छैन । जस्तो कि समानुपातिक बाट उम्मेदवार बनाइएका व्यक्तिहरूको मतगणना प्रतिनिधि कसले छान्ने ? भन्ने कुरो नै धेरै स्पष्ट भएको छैन । त्यो कानून पढ्नुभएको छैन मान्छेहरूले ।

हामीले आफ्नो पार्टीबाट आफ्नो पार्टी कमिटीमा सूचना पठाउँदै छौँ । अरूलाई पनि लागु हुन्छ यो, भन्दा बिग्रिँदैन । प्रत्येक जिल्लाको प्रमुख अध्यक्ष वा सभापतिले त्यही क्षेत्रमा मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई छान्नुपर्छ । त्यो विधि नै छ । त्यसमा योग्यताहरू नै तोकेको छ । त्यो नहेरी फलानो जान्छ भने त्यो पनि बिग्रिन्छ । पछि मत गणनाको बेलामा झमेला हुन्छ । यी जस्ता कामहरू हामीले मतदातालाई सचेत बनाउने र त्यसमा निर्वाचनको माहोल नयाँ ढङ्गले लैजाने काम अझ गर्न बाँकी नै छ ।

गठबन्धनले राज्य कोषको अथवा अन्य अवयवहरूको प्रयोग/दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन ? कत्तिको चनाखो छ ?

हामी के कुरामा सचेत छौँ र हाम्रो पार्टी समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबै खालको हतकन्डा प्रयोग गर्न पनि उद्यत रहन सक्छ । यसमा सतर्क रहनुस् भनेका छौँ । बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहित होला कि नहोला भन्ने शंका उत्पन्न भएको छ । हामीले यसमा सतर्क हुनुस् भनेका छौँ । स्रोत, साधनको दुरुपयोग गर्नु हुँदैन ।

सत्तामा रहने बढी सतर्क हुनुपर्छ । कि कानून, आचारसंहिता नै बनाउनु हुँदैन । बनेको आचारसंहितालाई प्रभावकारी ढङ्गले पालना गर्नुपर्छ । यो नमिल्दो छ, अव्यवहारिक छ भन्ने कुरो त सत्तालाई फाइदा हुने कुरा न भनेका थियौँ । त्यतिखेर उहाँहरू ध्यान नदिने । अहिले यतिखेर क्रमशः मिच्दै जाने ।

उहाँहरूलाई बानी के परेको छ भने ७२ घण्टा मौन अवधि रहेको छ मनलाग्दी गर्ने ।  किनभने अरूलाई बाहिर निस्किन पाइँदैन, बन्द गरिदिने । आफूचाहिँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरूलाई दुरुपयोग गर्दै घरघरमा मतलाई प्रभावित गर्ने क्रियाकलाप गर्ने तहमा स्थानीय तहको चुनावमा पनि गर्नुभयो ।  त्यो गर्नुहोला भन्ने हामीलाई लागि पनि रहेको छ । त्यसको लागि हामीले हाम्रो मतदाताहरूलाई सचेत गराइरहेका छौँ । हाम्रो बुथ कमिटीहरूलाई पनि यसमा ध्यान दिनुस् भनेका छौँ । यसमा हाम्रो ध्यान गएको छ । पर्याप्त त भइसकेको छैन होला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर