६५-७० हजार मत ल्याएर जित्नेवाला छु, मसँग जनताको अपेक्षा बढी छ : सुनिल शर्मा – Nepal Press
नेपाल टक

६५-७० हजार मत ल्याएर जित्नेवाला छु, मसँग जनताको अपेक्षा बढी छ : सुनिल शर्मा

‘प्रत्येक वडाबाट कमसेकम २५० देखि ३०० मत सुनिल शर्मालाई दिनुपर्छ भन्नेहरु छन्’

विराटनगर । २०७४ सालको निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार भानुभक्त ढकालसँग पराजित भए । तर, कांग्रेसका शर्माले मैदान छाडेनन् । उनी निरन्तर आफ्नो चुनावी क्षेत्रमा क्रियाशील रहे । जसले गर्दा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत उनले मोरङ क्षेत्र नं ३ मा सत्ता गठबन्धनबाट टिकट पाए ।

उनीविरुद्ध एमालेले तेह्रथुमबाट मोरङ कार्यक्षेत्र बनाउन झरेका भानुभक्त ढकाललाई मैदानमा उतारेको छ । शर्माले पुरानै प्रतिस्पर्धी पाएका छन् । यहाँ अभिनेत्री रेखा थापा समेत राप्रपाबाट चुनावी प्रतिस्पर्धामा छिन् । स्थानीय तह निर्वाचनमा वडा तहमा राप्रपालाई २ हजार १२१ मत आएको छ । तर, रेखाको चुनावी चर्चा र चहलपहल भने ३७ हजार ४१० मत आएको एमाले र ३६ हजार ९१६ मत आएको कांग्रेसको भन्दा कम छैन ।

सत्ता गठबन्धनका उम्मेदवार शर्मा विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकसमेत हुन् । शर्मा २०७४ मा निर्वाचन हारेपछि पनि निरन्तर यही क्षेत्रमा छन् । यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा विशेष ख्याल राखेका शर्मा निर्वाचनमा यही जस लिन लागिरहेका छन् । क्षेत्र नम्बर ३ का मतदाताको उपचारमा नोवेल अस्पतालले विशेष छुटसहित सेवा दिँदै आएको छ । शर्मा भन्छन्, ‘मैले यस क्षेत्रमा गरेको कामका कारण यस पटक मैले जित्ने हो ।’

उनै सुनिल शर्मासँग गरिएको कुराकानी नेपालप्रेसको नेपाल टकमाः

– मोरङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि यहाँको उम्मेदवारी किन ?

म सांसद भएर हल्लिन, गफ लाउन र भाषण गर्नमात्रै सांसद हुन खोजेको होइन । मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छे नै मेरो पहिचान हो । म जनताको पक्षमा, सुकुमबासी, आदिवासी, जनजातिको पक्षमा, विभिन्न जात र धर्ममा रहनुभएको जनताको पक्षमा काम गर्न सांसद हुने हो ।

म परम्परागत रुपमा जाने, कोट लाउने, टोपी लगाउने, स्टिकर टाँस्ने, सांसद हुने, अनि जनताको घरमा फर्की नआउने, त्यस्तो खालको सांसद हुने मेरो चाहना होइन । मेरो चाहना के हो भने स्वास्थ्य, शिक्षा, सकेसम्म रोजगारीको व्यवस्था र विकास निर्माण गर्ने मेरो मूल एजेन्डा हो ।

मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छे नै मेरो पहिचान हो ।

– प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभयो भने यस क्षेत्रको लागि तपाईंले के काम गर्नुहुन्छ त ?

पहिलो, यहाँको बाटोघाटो, पुलपुलेसा, तटबन्धनका कुराहरू छन् । सरकारी स्कुलहरु छन्, कलेजहरु छन् । तिनको स्तरोन्नतिको कुरा छ । नेपाली माध्यममा भएका विद्यालयहरुलाई अंग्रेजी माध्यममा लाने कुराहरु छन् । यी यावत विकास निर्माणदेखि शिक्षा र स्वास्थ्यसम्मका मेरा एजेन्डा छन् । अझ विशेष गरेर आफ्नो स्वास्थ्यसम्बन्धी फिल्ड भएको हुनाले मैले शिक्षा र स्वास्थ्यसँगै विकास निर्माणलाई पनि जोडेर जाने निर्णय गरेको छु ।

म सबै वडा, टोल र गाउँबस्तीतिर पुगिरहेको छु । मसँग जनताको अपेक्षा बढी देखिएको छ । सबै अपेक्षा पूरा गर्न समस्या हुनसक्छ । यद्यपि विगत १०-१२ वर्षमा, विशेषतः यो पाँच वर्षमा चुनाव हारिसकेपछि पनि हामीले जे काम गर्‍यौं त्यसबाट जनताले हारेको सांसदले पनि यति काम गर्छ भनेर उहाँहरु पोजिटिभ हुनुहुन्छ ।

– यहाँले चुनाव जित्ने आधार के के छन् ?

चुनाव जित्ने नम्बर वान आधार भनेको सुनील शर्मा एउटा घुस नखाने मान्छे हो । स्वच्छ छवि भएको मान्छे हो । अहिलेसम्म घुस खाएको छैन । अर्काे आधार, मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, विगत पाँच वर्षमा यहाँबाट जितेर जाने मान्छेले आफ्नो क्षेत्रमा के काम गर्नुभयो ? त्यो मेरो दोस्रो आधार हो ।

तीन, हामीसँग गठबन्धन छ । म एक्लै कहाँ छु र ! पहिला पनि यस्तो गठबन्धन थियो भने म १५ हजार भोटमा लिड गर्ने थिएँ । न्यूनत्तम १५ हजारदेखि ३० हजारसम्म भोटमा लिड गर्थें । तपाईंहरु डाटा हेर्न सक्नुहुन्छ । नेकपा एमालेको जम्मा २८ हजार त भोट थियो नि ! मैले ४० हजार ल्याएँ, एलाइन्सको प्रभाव हुन्छ, मनोवैज्ञानिक प्रभाव हुन्छ, त्यसले गर्दा हारें त्यतिवेला । त्यो भनेको एक हजार ९५४ मत हो । त्यही मत मैले त्यतिवेलै तान्न पाएको भए म जित्ने थिएँ । अनि अहिले गठबन्धन हामी एक ठाउँमा छौं ।

स्वास्थ्य, शिक्षा, सकेसम्म रोजगारीको व्यवस्था र विकास निर्माण गर्ने मेरो मूल एजेन्डा हो ।

माओवादीका साथीहरु, एसका साथीहरुलगायतको १५ हजार मत छ, नेकपा एमाले नेक टु नेक ७८ मतले मात्रै अस्तिको स्थानीय निर्वाचनमा अगाडि देखिएको छ । त्यतिवेलाको स्थानीय निर्वाचनमा पनि हाम्रो आन्तरिक कलहहरु थिए, समस्याहरु थिए । लोकल उम्मेदवारको कुरा हुन्थ्यो । जातीय रुपमा पनि उम्मेदवारको हारजीतमा प्रभाव हुन्थ्यो ।

अहिले नेकपा एमाले, कांग्रेस नेक टु नेक भएको अवस्था, मेरो समाजसेवाको कारणले गर्दा आफ्नै पनि मत छ । प्रत्येक वडाबाट कमसेकम २५० देखि ३०० मत सुनिल शर्मालाई दिनुपर्छ भन्नेहरु छन् ।

तपाईं हिसाब गर्नुहोस्, २६ वटा वडा छन् । २६ तियाँ कति भो, ७८ सय हुन्छ । भनेपछि ८ हजारदेखि १० हजार मेरो पर्सनल मत छ । १५ हजार त्यो, १० हजार यो गर्दा २५ हजार मत हामीसँग बढी छ । अनि वर्तमानको परिवेश, मुभमेन्ट र हामीले गरिरहेको कामको आधारमा र विपक्षी उम्मेदवार दोहोरिएको कारणले पनि अझ मत बढ्छ । हाम्रो मतको फरक त मलाई के लाग्छ भने प्रतिस्पर्धीले १८ हजारदेखि २२ हजार मत ल्याउनुहुन्छ । बाँकी सबै मत मेरो पक्षमा जान्छ । मलाई लाग्छ मेरो मत ६५-७० हजार आउनेछ ।

– सुकुमबासी समस्या चाहिँ चुनावी नारामात्रै भयो भन्ने मतदाताहरुको भनाइ छ नि ?

हेर्नुस्, यसको सीधा उत्तर के छ भने यो क्षेत्रमा आजसम्म हामीले कहिले जित्यौं ? सधैं सूर्य छापमा एमालेलाई हान्ने, अनि एमालेका साथीहरुलाई पठाउने, उहाँहरुले कहिल्यै पनि समाधान नगर्ने, चुनावी एजेन्डा बनाइरहन पाइयो नि त ! पूर्वाञ्चल विश्वविद्यालय पनि त्यस्तै हो । यो दुइटै समस्या नभए दुईतिहाइ बहुमत ल्याएको वेला हाम्रो भानुभक्त ढकाल दाइलाई पूर्वाञ्चल विश्वविद्यालय सञ्चालन गर्न, मेडिकल कलेज सञ्चालन गर्न कसले रोक्यो ?

कानूनमन्त्री उहाँ बन्नुभयो, स्वास्थ्यमन्त्री बन्नुभयो, पर्यटन मन्त्री बन्नुभयो, स्वास्थ्य र कानूनभन्दा बाहिर गर्नुपर्ने केही पनि छैन, त्यतिवेला भानुभक्त दाइ त्यत्रो पावरफुल हुनुभयो, केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । दुईतिहाइ हाराहारीको मत थियो उहाँसँग, ऐननियम सबै फेर्न सक्नुहुन्थ्यो, पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउन र सुकुमबासीलाई लालपुर्जा दिन उहाँलाई रोक्यो कसले ? म प्रश्न गर्न चाहन्छु ।

म सबै वडा, टोल र गाउँबस्तीतिर पुगिरहेको छु । मसँग जनताको अपेक्षा बढी देखिएको छ ।

त्यसकारण जनतालाई मुर्गा बनाउने, ठग्ने, कामहरु चाहिँ उहाँहरुले नगरिदिए राम्रो हुन्थ्यो भन्ने मेरो आग्रह हो । अर्काे वर्ष यो काम हामी गर्छौं । अब कुरा के रह्यो भने अहिले गठबन्धनको सरकारले सुकुमबासीको समस्या समाधान गर्न हाम्रै क्षेत्रको केशव दाइ नेपाली कांग्रेसको पूर्वमहासमिति सदस्य तथा राष्ट्रिय शिक्षक संघको अध्यक्षलाई सुकुमबासी तथा भूमि आयोगको अध्यक्ष बनाएको अवस्था छ ।

अस्ति हामीले ६२ वटा धनी पुर्जा पनि बाँड्यौं । हामीले धनीपुर्जा बाँड्न थालेपछि उहाँहरुले के भन्नुभयो भने नेकपा एमालेका साथीहरुले गएर निर्वाचन आयोगमा मुद्दा दर्ता गरिदिनुभयो । दुःखद कुरा । सुकुमबासी कांग्रेस र एमाले भन्ने हुन्छ र ! गरिब जनताले पाउने हो नि, होइन र ? स्थानीय सरकार पनि उहाँहरुकै थियो । हामीले बाँड्यौं भनेको भए पनि हुन्थ्यो नि ! यो प्रक्रिया निर्वाचनपछि खुल्छ । त्यसपछि मैले केशव निरौला सरलाई सोधेको थिएँ, उहाँले के भन्नुभयो भने यो चुनावपछि भूमि आयोगले २ देखि ३ वर्षभित्र पहिलो चरणको धनीपुर्जा वितरण गर्छ ।

उहाँहरुले गर्नुभएन भने हामी त्यसपछि यो काम गर्छाैं । जनताको पक्षमा बुलन्द आवाज उठाउँछौं । ऐन, नीतिनियम के फेर्नुपर्छ, फेर्छौं र यो समस्याको समाधानका लागि हामी इमानदारीपूर्वक लाग्छौं ।

विगत पाँच वर्षमा यहाँबाट जितेर जाने मान्छेले आफ्नो क्षेत्रमा के काम गर्नुभयो ?

– आफ्नो प्रतिद्वन्द्वीलाई यतिवेला के भन्न चाहनुहुन्छ ?

विगत पाँच वर्षमा उहाँले जे काम गर्नुभयो, ती कामहरुका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु । उहाँ आफैंले त्यसबारेमा समीक्षा गर्नुभयो भने राम्रो होला । कोरोनाकालमा नेपाली जनताप्रति उहाँले के गर्नुभयो भन्नेबारेमा उहाँले आफैं बुझ्नुभयो भने उहाँको बाँकी जीवनका लागि एउटा पाठ हुन सक्ला । मैले भन्नु केही छैन । उहाँले यो पाँच वर्षमा गरेका कामहरुका बारेमा जनताले यही ४ गते ब्यालेटबाट उत्तर दिनुहुनेछ भनेर उहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

हामी आफ्नो जिम्मेवारीबाट पर भागेनौं । हामीले हारे पनि जितेको सांसदले भन्दा बढी काम गरिरहेका छौं । आम जनसमुदाय न्यायमूर्ति हुन् । नागरिक न्यायाधीशले बुझ्नुपर्छ, ४ गते गोप्य मतदानमार्फत उहाँहरुले मलाई न्याय गर्नुपर्छ । यही माटोमा यहीका आमाबुबा र दाजुभाइसँग खेलेर, हुर्केर, यहीको स्कुल पढेर आएका हामीलाई साथ दिनुपर्छ, हामीलाई आशीर्वाद दिनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर