जीवनरामको दाबी- ओलीसँग असन्तुष्ट एमालेले पनि मलाई नै भोट दिने भनेका छन् – Nepal Press

जीवनरामको दाबी- ओलीसँग असन्तुष्ट एमालेले पनि मलाई नै भोट दिने भनेका छन्

‘मतदाताले ओली नसुध्रिने मान्छे रहेछन्, विद्रोहको आँट गरेकाले तपार्ईलाई नै भोट दिन्छौँ भन्नुभएको छ’

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक साता मात्रै बाँकी छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वाम लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा भागबन्डा गरेर उम्मेदवार उठाएको छ । गठबन्धनभित्र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले देशभर २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले एउटा मात्रै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । उसले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई यसअघि निर्वाचित भएकै काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशी र श्रेष्ठबीच दुई पटक प्रतिस्पर्धा हुँदा पहिलो पटक जोशीले र दोस्रो पटक श्रेष्ठले निर्वाचन जितेका थिए ।

यस पटक भने कांग्रेससँगै गठबन्धन भएका कारण श्रेष्ठको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्यसँग हुने देखिएको छ । यहाँ श्रेष्ठ र राजवैद्यसँगै प्रतिस्पर्धामा लौरो निर्वाचन चिह्न रहेका हाम्रो नेपाली पार्टीका सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसहित १९ जना प्रतिस्पर्धामा छन् । जसमा १६ जना विभिन्न राजनीतिक दलबाट र ३ जना स्वतन्त्रबाट उम्मेदवार छन् ।

नेकपा एमालेसहितका दलबाट खासै चर्चामा रहेका व्यक्ति उम्मेदवार नरहेकाले जीवनरामलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न केही सहज देखिएको छ । एमालेको उम्मेदवारबाट खासै चुनौती नदेखिए सुमन र विराजभक्तले जीवनरामलाई निर्वाचन जित्न चुनौती थपेका छन् । उनै जीवनराम श्रेष्ठसँग नेपाल प्रेसकर्मी केशव भुलले गरेको कुराकानी प्रस्तुत छ :

– निर्वाचन नजिकै आइसक्यो । के मा व्यस्त हुनुहुन्छ ?

निर्वाचन आचारसंहिताअनुसार कार्तिक १७ गतेपछि प्रचारप्रसारमा गइरहेका छौं । प्रचारप्रसारअन्तर्गत घरदैलो अभियानमा जुटेका छौं । ८ नम्बर क्षेत्रका दुई वटै प्रदेशका वडामा पुगेर मतदाताका कुरा सुन्ने र गठबन्धनको उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्ने काम गरिरहेका छौं ।

– यसअघि दुई पटक सूर्यमा भोट मागेको मान्छे यस पटक नेकपा एमाले फुटाएर अलग्गै पार्टीको कलम निर्वाचन चिह्नमा मत मागिरहँदा कस्तो लागिरहेको छ ?

पहिलो कुरा, तपाईंले पार्टी फुटेको भनेकोलाई स्पष्ट पाराैँ । शब्द आ-आफ्नो सुविधाअनुसार प्रयोग गर्न सकिने भयो । हामी फुटेको होइन र टुक्रिएको पनि होइन । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएको हो । यो कुरा स्पष्ट पारें मैले । दोस्रो कुरा, मतदाताको बीचमा भेटघाटमा जाँदा उहाँहरुले हामीलाई हार्दिकतापूर्वक स्वागत गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई हार्दिकतापूर्वक समर्थन पनि गर्नुभएको छ । मतदाताले हामीलाई उत्साह बढाउने काम गर्नुभएको छ । गठबन्धनको पक्षमा नै उभिनुभएको छ । हामी गठबन्धन दलसँगै गएर प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)को कमल निर्वाचन चिह्नमा भोट मागिरहेका छौं । प्रदेशसभामा नेपाली कांग्रेसको रुख निर्वाचन चिह्नमा मत मागिरहेका छौं ।

– यसअघि एमालेबाट भोट मागेको मान्छेले यस पटक एकीकृत समाजवादीलाई भोट माग्दा मतदाताले के भन्नुभयो ?

मतदाताबाट राम्रो प्रतिक्रिया पाएका छौं । कतिपय वामपन्थी पृष्ठभूमि भएका मतदाताको घरमा पुग्दा धेरैले विद्रोह गर्ने आँट गरेर राम्रो गर्नुभयो । वास्तवमा केपी ओली नसुध्रिने मान्छे रहेछ भनेर भन्नुहुन्छ र खुशीका साथ मत दिन्छौं भन्नुभएको छ । तर, कतिपय एकदमै कम मान्छेले मात्र पार्टी किन छोडेर जानुभयो भन्नुभएको छ । यसबाट हामीलाई हौसला नै मिलेको छ ।

– त्यसो भन्दा तपाईंको मनमा चसक्क बिझ्दैन र ?

त्यस्तो केही लाग्दैन । एमाले सुधार भएको भए त्यो लाग्न सक्थ्यो पनि होला । तर, अहिले पनि नेकपा एमाले जसरी पहिले हामी हुँदा चलिरहेको थियो, त्यसरी नै चलिरहेको छ । केपी ओलीको प्रवृत्तिमा सुधार भएको भए हुन्थ्यो पनि होला । नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनबाट जसरी विचलित भइसकेको छ । पार्टीभन्दा पनि एउटा कम्पनीको रुपमा विकास भइसकेको छ । । सुरुकै ओलीको तानाशाही कायमै छ र हामीले विद्रोह गर्न बाध्य भएका हौं । जुन वर्गीय राजनीतिबाट हामी आएका थियौं । जुन वर्गका लागि काम गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण हामीले सच्याउने र सरकारलाई जनमुखी बनाउने प्रयास गर्दा पनि असफल भएपछि हामीले विद्रोह गरेको हो । नेकपा एमालेको पहिचान नै गुमाउने काम भएपछि हिजोको निरंकुश तानाशाही अन्त्य गर्न लडेको पार्टी सिध्याउने बाटोमा लागेपछि हामीले जे निर्णय ग¥यौं त्यो ठीक ग¥यौं भन्ने लागिरेको छ ।

– सधैं सँगै रहनुहुने अष्टलक्ष्मी शाक्य यसपटक सँगै नहुँदा कस्तो लागिरहेको छ ?

विद्रोह नै गरेपछि जो विद्र्रोहमा आए उनीहरु सँगै हुनुहुन्छ । विद्रोह नगर्नेहरु त सँगै हुने कुरै भएन । छुटेका छुटेयै हुने भए । तर, अर्को कुरा के हो भने नेकपा (एमाले) भित्र बसेर जो विद्रोहमा सहभागी हुन सकेनन्, उनीहरु एमालेको प्रवृत्तिमा असन्तुष्ट छन् । केपी ओलीको तानाशाही प्रवृत्तिबाट सारै विरक्तिएका छन् । एमालेभित्र असन्तुष्ट व्यक्ति तथा पक्षको ठूलै पंक्ति छ । जो एमालेभित्र असन्तुष्ट छन् र कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्नुपर्छ भन्ने चाहनुभएको छ उहाँहरु सबैले नेकपा (एकीकृत समाजावादी)का उम्मेदवारलाई नै भोट दिनुहुन्छ ।

– २०७४ सालको निर्वाचनको नतिजाअनुसार यो क्षेत्रमा नेकपा (एमाले) नै बलियो देखिन्छ नि ?

अब मेरो क्षेत्रको स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने एमालेको अवस्था राम्रो छैन । नेपाली कांग्रेसको नै राम्रो छ । एक ठाउँमा हामी नै छौं मतको हिसाबले । अर्को कुरा अधिकांश मतदाता भनेको न्युट्रल नै हुन्छन् । पार्टी सदस्य पनि असन्तुष्ट भएकाले मलाई नै भोट दिनुहुन्छ । यो गोप्य कुरा मैले तपाईंलाई भनिहालें । मलाई भनी पनि सक्नुभएको छ । न्युट्रल मतदातालेपरिस्थितिअनुसार आफ्नो निर्णय गर्ने र मत दिने काम गर्नुहुन्छ । अहिले देशको परिस्थितिअनुसार लोकतन्त्रविरोधी पक्षलाई पराजित गर्नुपर्छ भन्ने पक्षमा नै न्युट्रल मतदाता छन् । त्यसो भएकाले राजनीतिक स्थिरता ल्याउने पक्षमा न्युट्रल मतदाता रहेकाले वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्नुहुन्छ । सबै ठाउँमा वाम लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले जित्छ ।

– काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर राम्रो मत ल्याउनुभएका सुमन सायमी तपाईंकै क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ नि ?

म त प्रतिस्पर्धा देख्दिनँ । हिजो स्थानीय तह निर्वाचनको परिवेश एउटा खालको थियो । उहाँले लिएको भनेको ३२ वटा वडाको हो । अहिले महानगरका ६ वटा वडा पर्छन् । अहिले परिस्थिति पनि बदलिएको छ । त्यतिवेलाको जस्तो छैन । जुन वैकल्पिक पार्टीका रुपमा अगाडि आउनुपर्छ भनेका पार्टी पनि ५ वर्ष टिक्न नसकेर छताछुल्ल भएको अवस्था छ । सानो पार्टी पनि छताछुल्ल भएकाले जनताले विश्वास गर्ने भनेको लोकतन्त्रको पक्षमा लड्ने दललाई नै हो । यदि खराब भएको छ भने सच्याउनुपर्छ । साना पार्टी आफैं चुनौतीका रुपमा खडा भइसकेका छन् ।

– यस क्षेत्रका अरु १८ जना उम्मेदवारमध्ये कसलाई प्रतिस्पर्धी ठान्नुभएको छ ?

म जति घरदैलोमा गएँ, मेरो एकदमै आत्मविश्वास बढेको छ । समग्रमा हेर्दा प्रतिस्पर्धी नै देखेको छैन । झन उल्टै मलाई मतदाताले नेकपा एमालेको उम्मेदवार को उठेको हो भनेर सोधिरहनुभएको छ ।

– नेकपा एमालेका उम्मेदवारलाई मतदाताले नचिनेको हो र ?

साँच्चिकै नचिनेर त होला नि मलाई एमालेको उम्मेदवार को छ भनेर सोधिरहनुभएको छ ।

– त्यसो भए नेकपा एमालेको प्रचारप्रसार पनि तपाईंले गरिरहनुभएको छ ?

मैले नै प्रचारप्रसार गरिदिएको छु एमालेका उम्मेदवारको ।

– तपाईंले बितेका ५ वर्षमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ का लागि के गर्नुभयो ?

गरेका काममा नागार्जुन नगरपालिकाको वडा नम्बर ४ मा खानेपनी समस्या भएको ठाउँ हो । यो समस्या समाधान गर्न २ लाख देखि ५ लाख लिटरका रिजर्ब ट्यांक बनाइएको छ उपभोक्तासँग मिलेर । सिंगो क्षेत्रको सडकलाई विस्तार गर्ने भनेर योजना अघि सारेको छु । त्यसैगरी सार्वजनिक जग्गालाई संरक्षण गर्ने र र त्यहाँ समुदायको प्रयोगमा ल्याउने गरी पार्क निर्माण गर्ने, ज्येष्ठ नागरिक पार्क, खेलकुद पार्क, भूकम्प पार्क निर्माण गरेर खुला ठाउँमा बस्ने वातावरण तयार गरेको छु । त्योसँगै स्वयम्भूमा भूकम्पबाट भत्किएका घरलाई स्थानीय वडासँग मिलेर निःशुल्क रुपमा त्यहाँ पुजारीको घर तथा विहार गरेर १९ वटा पुनर्निर्माण गरिएको छ । त्यहाँको मोडलको रुपमा भित्री शहरको कला र मौलिकता कायम गरेर हाउस पुलिङबाट घर निर्माण भएको हो । असफल भइसकेको चनमती जग्गा एकीकृत आयोजना २०७४ सालमा निर्वाचित हुँदा पूरा गर्छु भनेर भनेको थिएँ । त्यो काम पनि सम्पन्न भइसकेको छ ।

मेरो क्षेत्र भनेको संस्कति सम्पदाको केन्द्र नै हो । हनुमान ढोकाको संरक्षण गर्न लागिरहेको छु । भूकम्पबाट क्षति भएका संरचना निर्माणमा जुटिरहेको छु । हनुमान ढोका र स्वयम्भूलाई जोडेर वल्र्ड हेरिटेज ट्रेल बनाउने भनेर लागिरहेको छु । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पूर्वाधार तयार गर्ने, जनशक्ति तयार गर्ने, होमस्टे तालिम दिने, महिलालाई सचेत गराएर नमुना क्षेत्र बनाउने र पर्यटकीय क्षेत्र बनाएर समुदायको जीवनस्तर अघि बढाउने योजनासहित अघि बढेको छु ।

कुनै पनि आपतविपदको वेलामा मैले घरघरमा गएर चेतना विस्तार गर्ने कार्य गरेको छु । काठमाडौंमा ५० बेडको आइसोलेसन निर्माण गरेर स्वास्थ्यका सबै सुविधा दिने काम पनि गरेको छु । स्थानीयले पनि सहयोग गर्नुभएको थियो त्यतिवेला । साना बालबालिकादेखि ९३ वर्षसम्मका ज्येष्ठ नागरिकको सेवा गर्ने कार्य मेरो नेतृत्वमा भएको छ ।

– प्रतिनिधिसभामा निर्वाचित भएपछि अबको ५ वर्षमा के गर्ने योजना छ त ?

सुरु भएका विकासका कार्यमध्ये कतिपय अझै बाँकी रहेकाले पूरा गर्नुछ । खानेपानीको समस्या भएको ठाउँमा खानेपानी पु¥याउनुपर्नेछ । जलमग्न हुने बस्तीबाट निकास गर्ने कार्य गर्नुपर्नेछ । अझै बाँकी रहेका खुला क्षेत्रलाई संरक्षण गर्नु आवश्यक छ । कतिपय सम्पदा जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माण गर्नुपर्नेछ । कतिपय लोप हुन लागेका सम्पदा पनि जोगाउनुपर्नेछ । म त यो क्षेत्रलाई गेम चेन्जरका रुपमा लिन्छु । यो हिसाबले भोलि एउटा त विकासका काम गर्ने, क्षेत्रलाई नमुना क्षेत्रमा विकास गर्ने, जात्रा–पर्वलाई संरक्षण गर्नेछु । पर्यटकीय क्षेत्रलाई विकास गर्ने कार्यमा ध्यान केन्द्रित हुनेछ ।

– प्रतिनिधिसभामा निर्वाचित हुने व्यक्तिले विकास गर्ने हो कि कानुन निर्माण गर्ने हो ?

यो निश्चित रुपमा एउटा सांसदको हैसियतमा विकाससँगै जोडेका कुरामा अपेक्षा राख्नुभएको छ । थोरै मतदातामात्र विधायक हुन् भन्ने खालको सोचाइ राख्नुहुन्छ । हिजो सांसद भएर पनि कानूनलाई जनमुखी बनाउने कार्य गरेको छु ।

अहिले काठमाडौं महानगरपालिकामा विद्यालयमा नेपालभाषामा पढ्न पाउने व्यवस्था गरिएको छ । यसमा मेरो पनि योगदान छ । यसअघि महानगरले नेपालभाषामा निवेदन दिने निर्णय गर्दा सर्वोच्च अदालतले आदेश दिएर बन्द गरेको थियो । त्यसपछि संविधानले नै सबै भाषालाई सम्मान गर्ने भनेपछि त्यसैको भावनाअनुसार स्थानीय मातृ भाषामा पठनपाठन गराउने व्यवस्था गर्न अनिवार्य शिक्षाको ऐन बनाउने वेला म संयोजक थिए । त्यो वेलामा मैले धेरै पहल गरेर त्यो व्यवस्था गरिएको हो ।

त्यसैले राष्ट्र र जनताको पक्षमा काम गर्न पहल गरेको छु । भोलि काठमाडौं उपत्यकासँग जोडिएका कुरामा पनि भूमिका निर्वाह गर्नुका साथै अझै धेरै ऐन–कानून निर्माण गर्दा त्यसलाई जनमुखी बनाउन सक्रिय भूमिका रहनेछ । धेरै ऐन बनाउन बाँकी रहेकाले मेरो सक्रिय भूमिका रहन्छ ।

– तपाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि सम्हालिरहनुभएको छ । तपाईंले मन्त्रालयको नेतृत्वमा रहेर केके महत्वपूर्ण कार्य गर्नुभयो ?

खासमा कोभिडबाट धेरै असर गरेको छ पर्यटन क्षेत्रलाई । म आइसकेपछि पर्यटन क्षेत्रमा रहेका जति पनि व्यवसायीमा उत्साह भर्ने काम गरेको छु । पर्यटन क्षेत्रलाई एउटा महत्वपूर्ण गन्तव्य बनाउनुपर्छ भनेर ७३ बुँदे अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको छु । नेपालको पर्यटन क्षेत्रलाई हिमाल र ट्रेकिङमा मात्र नभएर सबै प्रदेशसँग जोड्ने योजना अघि सारेको छु । १२ महिना पर्यटक गन्तव्य मुलुक बनाउन १० वर्षे नेपाल भ्रमण वर्ष दशक भनेर घोषणा गरिसकिएको छ ।

यद्यपि निर्वाचन आचारसंहिताका कारण सार्वजनिक हुन सकेको छैन । पर्यटनको मुख्य आधार भनेको संस्कृति नै हो । स्तरीय पर्यटक आउँदा हामीले उनीहरुलाई बसोबासका लागि पु¥याउनुपर्ने स्टान्डर्ड मापदण्ड पनि बनाउनुपर्नेछ । यसका लागि पूर्वाधार सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक मनाउने र यस अवधिमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य अघि सारेका छौं ।

अर्को, नागरिक उड्डयन क्षेत्रलाई विस्तार गर्नुपर्छ । एयरपोर्टमा धेरै सञ्चालन गर्न हामी युरोपियन युनियनले २०१३ बाट लगाएको कालोसूचीबाट हटाउने प्रयास पनि गरिएको छ । ईयूको कालोसूचीबाट हट्दैछ केही समयभित्र । यसैबीचमा पनि नेपाल र अमेरिकाबीचमा हवाई उडान गर्न सम्झौता गर्दैछौं ।

यस्तै युरोपले पनि कालोसूचीमा राखेको अवस्थामा स्विट्जरल्याण्ड र नेपालबीच उडान सम्झौता गर्ने निर्णय पनि भइसकेको छ । मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ यी दुई देशबीच हवाई उडान गर्ने भनेर । यसरी सीधै पर्यटक आउनसक्ने वातावरण बन्छ । कोरिया, अस्ट्रेलिया र अफ्रिकासँग पनि सीधै उडान गर्न पहल गरिरहेका छौं । संसारका धेरै मुलुकबाट सीधै आउने वातावरण बनाउन खोजिरहेका छौं ।

अर्को, नेपालको एकदमै महत्वपूर्ण भनेको निजगढ विमानस्थल हो । यसलाई प्राथमिकतासाथ अघि बढाइरहेका छौं । अदालतको फैसलाबाट रोकिएको अवस्था थियो । अध्ययन समिति बनाएर अघि बढाउन खोजिएको छ । यो कार्य पनि अघि बढ्दैछ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जनवरीबाट अगाडि बढाउने भनेर काम गरिरहेका छौं ।

– तपाईंको कार्यकालमा पनि नेपाल एयरलाइन्स उत्रिन सकेन नि ?

चिन्तित हुँदाहुँदै पनि समस्या भयो । सरकारले योग्य नठानेर हटाउन खोज्दा अदालतले स्टे गरेर रोकिदियो । सरकारले नियुक्ति गरेको व्यक्तिलाई योग्य नठानेर हटाउन खोज्दा अदालतले रोकेपछि व्यवस्थापन कार्य एकदमै प्रभावित भएको छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने मान्यतासहित काम अघि बढिरहेको छ ।

– तपाईंले यसअघिको सरकारले गरेका नियुक्ति हटाउने गर्नुभयो नि ?

मैले त्यसरी कसैलाई हटाएको छैन । स्पष्टीकरण आवश्यकताअनुसार सोध्नुप¥यो नै । नेपाल एयरलाइन्समा त पहिले नै हटाउने तयारी थियो । म आएपछि कारबाही प्रक्रियामात्रै अघि बढेको हो । विकास समितिमा पनि विभिन्न समस्या देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । गलत भएको छ भनेर आएपछि त्यसलाई स्पष्टीकरण सोध्ने काम त गर्नैप¥यो । यस्ता विषयमा पनि अदालतले स्टे गरेको छ । मलाई अचम्म लागेको छ ।

– अन्तिममा केही छुटेका छन् ?

अन्तिममा मेरो क्षेत्रका मतदातालाई जसरी २०७४ को निर्वाचनमा निर्वाचित गर्नुभयो त्यसरी नै अहिले पनि अमूल्य मत दिएर जिताउनुहुन्छ भन्ने विश्वास लिएको छु । मैले जितेपछि इमानदारीपूर्वक काम गर्दै आएको छु । उहाँहरुको सुखदुःखमा सँगसँगै छु । संकटमा पनि सँगै छु । राष्ट्रिय राजनीतिमा पनि मैले सक्रिय भूमिका निर्वाह गर्दै आएको छु । मैले यो क्षेत्रलाई नमुना बनाउने परिकल्पना गरेको छु । हाम्रा संस्कृति, सम्पदा, जात्रालाई संरक्षण गर्ने कार्यलाई केन्द्रित गरेर विकास गर्ने योजना पूरा गर्न मलाई विश्वास गरेर अमूल्य मत दिनुहोला । वाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर ८ मा उम्मेदवार छु । कलम निर्वाचन चिह्नमा मतदान गरेर सहयोग गर्न विनम्र अनुरोध गर्दछु ।

फोटो भिडियो: नविनमुनि स्थापित


प्रतिक्रिया

One thought on “जीवनरामको दाबी- ओलीसँग असन्तुष्ट एमालेले पनि मलाई नै भोट दिने भनेका छन्

  1. ए हो र ! ओलिसँग असन्तुष्ट रूपन्देही र अछाममा छन् क्या रे । तिनले पनि भोट दिएपछि त जिवनदाइले पक्कै जित्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर