‘महापुरुष’का नायक-नायिकासँग वार्तालाप : पहिलो फिल्मबाटै नसोचेको माया पायौं (भिडिओसहित) – Nepal Press

‘महापुरुष’का नायक-नायिकासँग वार्तालाप : पहिलो फिल्मबाटै नसोचेको माया पायौं (भिडिओसहित)

सुनाए सुटिङको रमाइलो अनुभव

काठमाडौं । यतिवेला नेपाली सिनेमाघरहरुमा ‘महापुरुष’ ले राज गरिरहेको छ । कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको ‘महापुरुष’ को यथार्थपरक र भावनात्मक कथालाई दर्शकले मन पराएका छन् ।

यस चलचित्रमा मुख्य पात्रको रुपमा नेपाली हाँस्य क्षेत्रका दुई अग्रज व्यक्तित्वहरु हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ देखिएका छन् । र, यसै चलचित्रबाट नायक-नायिकाका रुपमा दुई नयाँ कलाकारले डेव्यु गरेका छन् ।

चलचित्र ‘महापुरुष’ बाट कलाकारिता क्षेत्रमा पाइला टेकेका यी दुई कलाकार हुन्, अरुण क्षेत्री र अञ्जना बराइली । अहिले यी दुईको अभिनय र मेहनतको सबैले प्रशंसा गरिरहेका छन् । उनीहरुलाई चलचित्र क्षेत्रमा सम्भावना बोकेका कलाकारका रुपमा हेरिएको छ ।

६ वर्षदेखि सिने क्षेत्रमा संघर्ष गर्दै आइरहेका अरुण र अञ्जना पनि चलचित्र ‘महापुरुष’ आफ्नो जिन्दगीको ठूलो टर्निङ प्वाइन्ट भएको बताउँछन् । यस चलचित्रले आफ्नो कलाकारिताको करिअरमा सफलताको एउटा नयाँ सिढी थप्नेमा दुवै विश्वस्त छन् ।

यसै चलचित्र ‘महापुरुष’ मा आधारित रहेर अरुण र अन्जनाको नेपाल प्रेससँग भएको कुराकानी:

– तपाईंहरुको डेव्यु फिल्म ‘महापुरुष’ लाई दर्शकहरुले निकै रुचाइरहेका छन् । तपाईंहरुको आफ्नै नजरमा ‘महापुरुष’ कस्तो चलचित्र हो ?

अञ्जनाः ‘महापुरुष’ एक पारिवारिक तथा सामाजिक कथामा बनेको चलचित्र हो । हरेक घर–घरमा भनौं वा हरेक समाजमा घट्ने घटनालाई यसले उठान गरेको छ । ‘महापुरुष’ ले त्यो कुरा बोलेको छ, जसको बारेमा सबैलाई थाहा भए तापनि या सबैले महसुस गरे तापनि कसैले बोल्न सक्नुभएको थिएन ।

आजकालका अधिकत्तम चलचित्रहरु परिवारसँग बसेर हेर्न अप्ठ्यारा लाग्ने खालका हुन्छन् । बीचमा कस्ता–कस्ता दृश्यहरु आइदिन्छन् । यस्तो समयमा सबैसँग बसेर हेर्न मिल्ने पारिवारिक चलचित्र हो ।

– चलचित्रबाट तपाईंहरुले दर्शकको रेस्पोन्स कस्तो पाइरहनुभएको छ ?

अन्जना : एकदमै राम्रो । हामी नयाँ भए तापनि यति धेरै माया गर्नुहुन्छ भन्ने सोचेकै थिएनौं । परिवार, आफन्त र दर्शकहरुबाट सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं ।

चलचित्र रिलिजअघि एउटा चिन्ता थियो भने रिलिजपछि अर्को चिन्ता थपिएको छ । यति धेरै माया पाइयो कि अब त भोलि गएर यसलाई कसरी निभाउने भन्ने डर लाग्न थालेको छ । हलबाट चलचित्र हेरेर फर्किनुभएका दर्शकहरु ‘नानी, अबका हरेक चलचित्रहरु यस्तै परिवारसँगै बसेर हेर्न मिल्ने खालका गर्नू है’ भन्दै निस्किनुभएको थियो । यस्ता भनाइहरु सुन्दा झन् जिम्मेवारी थपिएझैं लागेको छ । मनमा अब गर्ने चलचित्रहरु कसरी छान्ने र अब गर्ने प्रोजेक्टहरुलाई पनि दर्शकहरुले यसरी नै मनपराइ दिनुहुन्छ कि हुँदैन होला भन्ने डर पसेको छ ।

अरुण : दर्शकबाट सोचेभन्दा राम्रो प्रतिक्रिया बटुलिरहेका छौं । धेरै माया दिनुभएको छ ।

– ‘महापुरुष’ ले यस वर्षकै सफल चलचित्रको रेकर्ड बनाउला ?

अरुण : ‘महापुरुष’ ले अरु चलचित्रको रेकर्ड तोड्छ या तोड्दैन त्यो त आउने दिनले बताउला । ‘बलिदान’ जस्तो चलचित्र हेर्नुभएका वा भनौं ३०/३५ वर्षदेखि चलचित्र नहेर्नुभएका दर्शकहरुसमेत हाम्रो चलचित्र हेर्न हलसम्म आइरहनुभएको छ । रेकर्डको कुरा त अहिले हामी ठ्याक्कै भन्न सक्दैनौं । तर, यस चलचित्रले दर्शकको मन भने जितिसकेको छ ।

– दुवै नवकलाकार हुनुहुन्छ । पहिलाबाटै चिनजान थियो या चलचित्रमा जोडिएपछि मात्रै ?

अरुण : हामी चलचित्रबाटै जोडिएका हौं । यसअघि हाम्रो कुनै चिनजान थिएन । हाम्रो भेट अञ्जनाको अडिसनको समयमा भएको हो । उसलाई भेट्नुभन्दा १६ महिना अगाडि नै मेरो अडिसन भइसकेको थियो ।

कोरोना महामारीको दोस्रो लकडाउनपछि नै अडिसन सकाएर म ओके भएर बसेको थिएँ । हुन त मेरो अडिसन हुँदाहुँदै ‘महापुरुष’ को लागि नायिकाको पनि अडिसन भइरहेको थियो । मैले अरु थुप्रै स्थापित नायिकाहरुसँग पनि अडिसन दिएको हो । त्यतिवेला म फाइनल भइसक्दा पनि नायिका फाइनल भएको थिएन । चलचित्रको लागि जस्तो पात्र खोजिएको थियो, त्यस्तो पात्र नै भेटिएको थिएन ।

कहिले पात्र नमिल्ने त कहिले केमेस्ट्री ! यस्ता समस्याहरु लगातार आएपछि प्रदीप दाइ ‘म स्थापित हैन फ्रेस अनुहार नै चलचित्रमा राख्छु’ भन्ने निर्णयमा पुग्नुभयो । त्यसपछि थुप्रै जनासँग स्क्रिन टेस्ट सुरु भयो । मेरो उहाँसँग त्यही स्क्रिन टेस्टमा भेट भएको हो ।

– आफ्नो अडिसन सकिसकेपछि यो नायिका मेरो अपोजिट भइदिए हुन्थ्यो भन्ने थियो ?

अरुण : त्यस्तो पटक्कै भएन । मैले नयाँ अनुहारहरुसँग मात्र नभएर यस क्षेत्रमा चलेका नायिकाहरुसँगै अडिसन दिएको हो । तर, कहिल्यै यो नायिका भइदिए हुन्थ्यो भन्ने मनमा आएन । मेरो लागि प्रदीप भट्टराई निर्देशक हुनुपर्छ भन्ने थियो, त्यति हो । हरिवंश बुवा र मदनकृष्ण बुवा हुनुहुन्छ भन्ने त पहिला नै थाहा पाइसकेको थिएँ ।

– अन्जनाजीको अडिसनको अनुभव कस्तो रह्यो ?

मेरो अडिसनको खासै विशेष अनुभवहरु छैनन् । मैले अडिसन दिने वेलासम्म लगभग सबै कलाकारहरु फाइनल भइसक्नुभएको थियो । म धेरैपछि जोडिएको हो यो प्रोजेक्टमा । म जोडिँदा स्क्रिप्ट अलिकति फाइनल हुन बाँकी थियो । दाइहरु तीन–चार वर्षदेखि यही चलचित्रको कथामा काम गरिरहनुभएको थियो ।

– मह जोडीको साथमा काम गर्न कत्तिको चुनौतीपूर्ण थियो ?

अरुण : मेरो लागि एकदमै चुनौतीपूर्ण थियो । यति धेरै अग्रज व्यक्तित्वहरुसँग काम गर्नुपर्ने, अभिनयमा पोख्त । छायाँकन सुरु हुने दिनसम्म पनि मनमा कसरी गर्ने होला, के गर्ने होला भन्ने डर थियो । आफूले गर्दा पो सबै लथालिङ्ग हुने हो कि भन्नेसमेत डर थियो ।

‘महापुरुष’ को लागि मैले पन्ध्र महिना कुरेको छु । छानिएको पन्ध्र महिनापछि मात्र मैले चलचित्रको स्क्रिप्ट पाएको हो । त्यतिञ्जेल मलाई चलचित्रमा आफ्नो भूमिका के छ भन्ने थाहा थिएन । जब स्क्रिप्ट पढें, म छक्क परें । स्क्रिप्टमा अधिकत्तम दृश्यहरु ब्याक टु ब्याक मेरा । मनमा उत्साह, ऊर्जा र डरसहित सुरु गरेको प्रोजेक्ट हो यो ।

अन्जना : एकदमै चुनौतीपूर्ण थियो । मनमा सधैं एउटा डर भइरहन्थ्यो । मैले गरेको काम गतिलो नहुने हो कि, मैले गर्दा पो चलचित्र खल्लो हुने हो कि, अग्रज व्यक्तिहरुको अगााडि उभिएर त्यही स्तरको अभिनय गर्न नसक्ने हो कि, आदि जस्ता कुराहरुले सधैं मन पोल्थ्यो ।

– पहिलो टेकको अनुभव कस्तो रह्यो ?

अरुण : सुरुको दिन त म अति नै नर्भस थिएँ । रिहर्सल पनि अन्जनासँग मात्र भएको थियो । छायाँकनको पहिलो दिन बिहान शुभ मुर्हूत भयो । यता आफ्नो मनमा भने टेन्सन बढ्न थाल्यो । डरले पिसाब आउला जस्तो हुन्थ्यो । ट्वाइलेट कुदिहाल्थें । गएपछि फेरि आउँदैनथ्यो । छायाँकन सुरु नभइन्जेलसम्म म ट्वाइलेट आउने-जानेमात्र गरिरहें ।

ट्वाइलेट फेरि जतिखेरै प्याक । मबाहेक को यस्तरी ट्वाइलेट जान्छ भनेर बसेर हेरँे पनि । अनि थाहा पाएँ, म जति नै ट्वाइलेट जाने त हरिवंश आचार्य बुवा पो । एक किसिमले हेर्ने हो भने उहाँको र मेरो ट्वाइलेट जाने प्रतिस्पर्धा जस्तो नै भइरहेको थियो । पछि पो बुझ्दा थाहा पाएँ कि हरिवंश बुवा पनि नर्भस भएरै ट्वाइलेट जाने-आउने गरिरहनु भएको रहेछ । त्यति थाहा पाएपछि म ढुक्क भएँ ।

यति अग्रज व्यक्तित्वहरुमा त डर भन्ने कुरा हुँदोरहेछ भने हामी त के हो र जस्तो महसुस भयो । यो त डर हैन, गम्भीरता रहेछ भन्ने भयो । अनि अलि सहज महसुस गर्न थालें । फेरि टीम यति समझदार र पारिवारिक थियो कि छायाँकनभरि म नयाँ हो भन्ने कतै महसुस नै भएन ।

अन्जना : खासमा मेरो सुटिङ पन्ध्र दिनपछि मात्र सुरु भएको हो । तर, म बीच-बीचमा सुटिङ हेर्न भने गइराख्थें । त्योवेला म मेरो छायाँकन कहिलेदेखि सुरु हुन्छ भन्ने कुरामा नै अनभिज्ञ थिएँ । मनमा औधी डर थियो । डर लागेको वेलामा राजाराम पौडेल बुवा भने मलाई जहिल्यै जिस्काउनुहुन्थ्यो ।

‘तिमी त यो चलचित्रमा छैनौं कि क्या हो ? तिम्रो काम त आउने-जानेमात्र हुन्छ जस्तो छ । यो चलचित्रमा हिरोइन नै छैन कि क्या हो ? तिमी आउँदै गर, भोलि सुटिङ गर्ने वेलामा अर्कै आउँछ अनि थाहा हुन्छ’ आदि भनेर जिस्काउनुहुन्थ्यो । उसै त मेरो सुटिङ ढिला सुरु भएको । त्यो सुनिराख्दा घरिघरि हो कि क्या हो भने जस्तो पनि लाग्थ्यो । पछि सुटिङ सुरु भयो । मेरो पहिलो टेक नै एकजना साथीसँग थियो । त्यसैले मलाई खासै गाह्रो भने भएन ।

– चलचित्रबाट कति पारिश्रमिक पाउनुभयो र पाएको पारिश्रमिकबाट सन्तुष्ट हुनुहुन्छ ?

अन्जना : यतिउति भन्दा पनि जति पाएको छु त्यसमा म सन्तुष्ट छु ।

अरुण : हुन त मैले योसहित तीनवटा चलचित्र गरें । अरु रिलिज हुन बाँकी नै छन् । इमानदारीपूर्वक भन्नुपर्दा तीनवटा चलचित्रहरुमा मैले जति आफ्नो समय र मेहनत खर्चेको छु,, त्यति चित्तबुझ्दो पारिश्रमिक भने पाएको छैन । पाउन चाहिँ पाएँ । तर, आफ्नो मेहनतभन्दा अलिकति कम ।

– चलचित्र हेर्दा तपाईंहरु आफैं रुनुभयो कि भएन ?

अन्जना : चलचित्र हेर्दा हाम्रोमात्र होइन, सबैको आँखामा नै आँसु थियो । जे होस् चलचित्र मन छुने छ ।

अरुण : आँसु त सबैको आँखामा थियो । तर, त्यसलाई रोएको भन्दा पनि खुशीको आँसु झरेको हो भन्छु म ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर