बालकृष्ण खाणका प्रतिस्पर्धी बाेहरा भन्छन्: गृहमन्त्री भन्दैमा निर्वाचन जित्ने आधार रहँदैन – Nepal Press
नेपाल टक

बालकृष्ण खाणका प्रतिस्पर्धी बाेहरा भन्छन्: गृहमन्त्री भन्दैमा निर्वाचन जित्ने आधार रहँदैन

रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनबाट गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण र नेकपा एमाले, जसपा र राप्रपाको गठबन्धनबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा चुनावी मैदानमा छन् । दुई हेभीवेट उम्मेदवार आमनेसामने भएपछि रुपन्देही ३ अहिलेचर्चामा छ । दुइटै गठबन्धनका साझा उम्मेदवाहरु भोट माग्न व्यस्त छन् ।

पञ्चायतकालदेखि जनप्रतिनिधि बनेका पूर्वमन्त्री बोहोरा कांग्रेसका प्रभावशाली नेता खाणसँग कसरी चुनाव लड्दैछन्, २०७४ को निर्वाचनमा सघाएका खाणविरुद्ध नै यसपटक बोहोराको प्रतिस्पर्धा छ ।

निर्वाचनमा राप्रपाको नीति, चुनावी एजेण्डा, प्रतिबद्धता तथा विपक्षी गठबन्धनलगायतका विषयमा केन्द्रित रहेर दीपक बाेहरासँग नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी :

– धेरै पटक सांसद र मन्त्री बन्नुभयो । अझसम्म रहर मरेको छैन ?

म पदमा हुँदा र नहुँदा जनताको सेवा र जनताको काममै समय बिताएको छु । खास गरी म रुपन्देहीबाट प्रतिनिधित्व गरेर संसद र सरकारमा सहभागी भएपछि रुपन्देहीको विकासका लागि धेरै काम गरेको छु । मेरै नेतृत्वमा बुटवलको दीपनगरमा बस्ती बसाउनदेखि भैरहवामा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा ठूल्ठूला आयोजनासम्म भित्र्याउने काम गरेको छु । बुटवलको दीपनगर आज व्यवस्थित बस्तीको रुपमा विकास भएको छ । एडीबीको परियोजना भित्र्याएका कारण आज भैरहवा हेर्न लायक शहरको रुपमा विकास हुँदै गएको छ ।

अर्को कुरा रुपन्देहीवासीलाई सिंचाइसम्बन्धी समस्या समाधान गर्न भैरहवा लुम्बिनी भूमिगत जल परियोजना भित्र्याउने काम मेरै नेतृत्वमा भएको हो । त्यही परियोजनाका कारण अहिलेसम्म रुपन्देहीको भैरहवा, सियारी, तिलोत्तमा, शुद्धोधनलगायतका पालिकाहरुमा स्थानीय कृषकले सिंचाइको सुविधा पाएका छन् । रुपन्देहीमा विद्युतीकरण गर्ने, बिजुलीका पोल तान्ने तथा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि नीतिगत तहमा काम गर्नेदेखि जग्गाधनीलाई मुआब्जा दिलाउनेसम्मका काममा मेरो भूमिका यहाँका नागरिकले महसुस गरेका छन् ।

म पदमा हुँदा र नहुँदा जनताको सेवा र जनताको काममै समय बिताएको छु ।

– तपाईंलाई मतदाताले कहिलेसम्म मतदान गर्ने ?

सत्ता जनपक्षीय नहुँदा कस्तो दुःख हुन्छ भनेर आज रुपन्देहीवासीले अनुभव गरेकै छन् । ठाउँ-ठाउँमा अनावश्यक नो पार्किङको सास्ती, सीमामा चोरी तस्करी बढ्दा भैरहवा बुटवलका व्यापारी विस्थापित हुने अवस्थामा पुगेका छन् । चन्दा आतंक यी सबै बन्द गर्न जरुरी छ । म फेरि पनि भन्न चाहन्छु, बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, बाबुराम भट्टराई, बहालवाला गृहमन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलाले निर्वाचन हारेको इतिहास साक्षी छ । यसैले गृहमन्त्री भन्दैमा निर्वाचन जित्ने आधार रहँदैन । सबैभन्दा ठूलो आधार त जनाधार हो । हाम्रो पक्षमा धेरै राम्रो जनाधार छ । म यही सन्देश लिएर मतदातासमक्ष पुगेको छु । तीन दलीय तालमेलका साथीहरु यही सन्देश लिएर जानुभएको छ । म यही सन्देश लिएर गएको छु । मतदाताले यही आधारमा मत दिनुहुनेछ ।

– कांग्रेसका प्रभावशाली नेता एवं बहालवाला गृहमन्त्रीसँग चुनाव लड्न कत्तिको सहज महसुस गर्नुभएको छ ?

हामी लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छौं । स्वतन्त्र प्रेस, न्यायिक सर्वोचतामा विश्वास गर्ने भएकाले मैले बहालवाला गृहमन्त्रीसँग चुनाव लड्न कुनै असहज महसुस गरेको छैन । जनता जर्नादन हुन् । जनता आफ्नो मतको पूर्ण अधिकार प्रयोग गर्नसक्ने अवस्थामा पुगेका छन् । कसैको धाकधम्की, डरत्रास र प्रलोभनमा परेर जनताले मताधिकार प्रयोग गर्दैनन् । यो कुरामा हामी विश्वस्त छौं । तर, केही कुरामा भने हामी सचेत हुनुपर्ने छ । सरकारले पद र पावरको कही कतै दुरुपयोग गरेको त छैन भन्ने आभास हामीलाई भइरहेको छ । पद र पावरको दुरुपयोग भएको आम मतदाताले महसुस गरेको खण्डमा यसको जिम्मेवारी स्वयं सरकार र सरकारका मान्छेले लिनेछन् ।

– निर्वाचन नजिकिँदैछ, के एजेण्डा लिएर मतदाताबीच जानुभएको छ ?

हो, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन अर्थात मंसिर ४ गते आउनै लागेको छ । मलगायत हाम्रो तीन दलीय गठबन्धनका साथीहरु हाम्रा साझा चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिएका छौं । हाम्रो साझा एजेण्डा भनेको रुपन्देही क्षेत्र नम्बर ३ सहित समग्र रुपन्देही जिल्लाको दिगो विकास गर्ने हो । विकास एउटा प्रक्रिया हो । यो प्रक्रियालाई सही ट्रयाक दिने काम हाम्रो हो । खास गरी हामीले हाम्रा क्षेत्रको नागरिकका समस्या संकलन गरी त्यसको समाधान गर्नेतर्फ लाग्नेछौं ।

नागरिकको सर्वोपरि हितलाई ध्यानमा राखेर विकासको मोडल तयार गर्ने, समृद्धिको खाका तयार गर्ने र नागरिकलाई रोजगारीसँग जोडेर उनीहरुको भविष्य उज्ज्वल बनाउने योजनामा हामी लागेका छौं । हामीले खास गरी सडक सञ्जाललाई विस्तार गर्ने, ग्राभेल नभएका सडकमा ग्राभेल गर्ने, कालोपत्रे पीच नभएका सडक पीच गर्ने, अन्य पूर्वाधार विकासलाई विशेष ध्यान दिने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका लागि थुप्रै काम गर्नुपर्नेछ ।

गृहमन्त्री भन्दैमा निर्वाचन जित्ने आधार रहँदैन । सबैभन्दा ठूलो आधार त जनाधार हो । हाम्रो पक्षमा धेरै राम्रो जनाधार छ ।

रुपन्देही क्षेत्र नम्बर ३ भौगोलिक, जातीय, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय विविधतामा एकता भएको निर्वाचन क्षेत्र हो । अन्तर्राष्ट्रिय सीमा नाका बेलहियादेखि पूर्वपश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासको लागि हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले अल्पकालीन र दीर्घकालीन योजनासहितको गुरुयोजना बनाएर काम गर्नेछौं । त्यसका लागि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको संयुक्त गठबन्धन मतदातासमक्ष पुगेका छौं ।

– चुनाव जित्ने आधार के के हुन् ?

आममतदाता एमाले, राप्रपा र जसपा नेतृत्वको गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर, स्वःस्र्फूत रुपमा लाग्नु नै चुनाव जित्ने पहिलो आधार हो । अर्को कुरा, स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो । यसलाई आधार मान्दा अर्को पक्षभन्दा हामी झण्डै १२ हजार मतले अगाडि छौं । त्यसमा पनि अहिले हामीप्रति आम मतदाताको विश्वास बढ्दै गएको छ । हामीप्रति मतदाताको स्नेह र ममता पनि छ । त्यसकारण हामीले यसपटक निर्वाचन जित्नेमा ढुक्क छौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनपछि जब राजेन्द्र लिङदेनको नेतृत्वमा पार्टी अगाडि बढ्यो, त्यसपछि राप्रपामा एउटा नयाँ खालको उत्साह-उमंग बढेर गएको छ । पुरातन शैलीमा सञ्चालित राजनीतिक दल र तिनको नेतृत्वप्रति आम नागरिकमा वितृष्णा जागेका वेला लिङदेन नेतृत्वको राप्रपाले जनतामा उत्साह थपेको छ भने स्थानीय तहमा त्यसैकारण मतपरिणाम बढेको सशक्त उदाहरणको रुपमा लिन सकिन्छ । यसकै सिलसिलामा आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यो मत अझै बढेर जाने र रुपन्देही क्षेत्र नम्बर ३ सहित देशका विभिन्न क्षेत्रमा राप्रपाले अत्यधिक मतका साथ चुनाव जित्नेछ ।

– मतदातामाझ के के प्रतिबद्वता गर्नुभयो ?

हाम्रो मुख्य चासो भनेको यहाँका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने नै हो । म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, तपाईंहरुसमक्ष कसम खान चाहन्छु कि यस क्षेत्रका जनतालाई समृद्धि र विकासको मूलधारमा जोड्ने काममा हामीले कुनै कसर बाँकी राख्ने छैनौं । हामी सबै मिलेर वर्गीय असमानतालाई पूर्ण रुपमा निर्मूल पार्न लागिपर्नेछौं ।

अन्तर्राष्ट्रिय सीमा नाका बेलहियादेखि पूर्वपश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासको लागि हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले अल्पकालीन र दीर्घकालीन योजनासहितको गुरुयोजना बनाएर काम गर्नेछौं ।

हामी विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यो क्षेत्रको विकासको मुख्य योजनाहरु हिजोको दिनमा पनि बनाएका थियौं र भोलिका दिनमा पनि बनाउनेछौं । हिजोका दिनमा एमाले, राप्रपा र जसपाको नेतृत्वमा भए गरेका प्रदेशका राम्रा र जनपक्षीय योजनालाई निरन्तरता दिँदै प्रदेश तहका थप महत्वपूर्ण योजनालाई यस क्षेत्रमा ल्याउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

त्यसैगरी संघमा भए गरेका कतिपय राम्रा र दीर्घकालीन योजनालाई निरन्तरता दिँदै थप नयाँ योजनाहरु यस क्षेत्रमा सुरु गर्नेछौं । अर्कोतर्फ हामी कृषकको हितमा हुने गरी मलको डिपो सञ्चालन गर्ने, यस क्षेत्रका मत्स्य कृषकहरुको लागि ठोस योजनासहित काम अगाडि बढाउने, शुद्धोधन र सियारीको मत्स्य जोनलाई अझै व्यवस्थित गर्ने, यस क्षेत्रको उत्पादित हरियो तरकारी र कृषि उपजको बजारीकरणको लागि पूर्ण सहयोग गर्ने तथा चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाउने गरी योजना अगाडि सारेका छौं ।

– रुपन्देही पर्यटनको मुख्य आधार हो, के छन् यसको लागि मुख्य योजना ?

नेपालको समृद्धिको आधार कृषि र पर्यटन नै हो । यसैले हामी प्रदेश सरकार र संघीय सरकारको पहलमा कृषि केन्द्रित ठूला योजनाहरु यस क्षेत्रमा ल्याउनेछौं । जसले यस क्षेत्रका कुनै पनि किसान समस्यामा अल्झिन नपरोस् । हामी पर्यटनको लागि विशेष योजनाको साथ काम गर्नेछौं ।

सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्ग बेलहिया र हवाई मार्ग अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी घुम्न आउने हजारौं विदेशी पर्यटकहरुलाई सियारी र शुद्धोधनको कृषि पर्यटन, मत्स्य पर्यटन, जल पर्यटन र प्राकृतिक पर्यापर्यटनको उपयोग गर्न गराउने गरी योजना बनाएका छौं ।

त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि डण्डा करिडोरलाई व्यवस्थित गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, भैरहवालगायतका पर्यटकीय बजारलाई रात्रीकालीन बजारको रुपमा विकास गर्ने तथा भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि भैरहवा मण्डपका लागि आवश्यक पहल गर्ने मुख्य योजना रहेका छन् । अतिथि देवो भवःको मूल नारालाई आत्मसात गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रीनरीलगायतका काम गर्ने योजना छ ।

हामी झण्डै १२ हजार मतले अगाडि छौं । त्यसमा पनि अहिले हामीप्रति आम मतदाताको विश्वास बढ्दै गएको छ ।

– मोतीपुर क्षेत्रको समस्या समाधान कसरी हुनसक्छ ?

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधान गर्दै अगाडि बढ्नेछौं । हामीले त्यहाँका नागरिकको हितलाई ध्यानमा राखेर मोतीपुर औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउनुपर्नेछ । त्यहाँका स्थानीयको उठिबास लगाएर हामी औद्योगिक क्षेत्र निर्माण गर्ने पक्षमा छैनौं । यसो भनिरहँदा हामी मोतीपुर औद्योगिक क्षेत्र बनाउनु हुँदैन भन्ने पक्षमा भने छैनौं । स्थानीयलाई समस्या नपर्ने गरी औद्योगिक क्षेत्र निर्माण गर्ने पक्षमा हामी लाग्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।

– मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ, उद्योग, कलकारखाना बन्द हुँदै गएका छन् । उद्योगी व्यवसायी तथा सर्वसाधारण सडकमा आउने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा तपाईं कसरी मतदातामाझ पुग्नुहुन्छ ?

हो, तपाईंले प्रश्नमा उल्लेख गरे जस्तै मुलुक अहिले आर्थिक संकटमा छ । दिनानुदिन उद्योग, कलकारखाना तथा व्यवसाय बन्द हँुदै गएका समाचारहरु आइरहेका छन् । आम नागरिकको रोजीरोटी गुम्ने अवस्थामा पुगेको छ । यी सबै समस्याको प्रमुख कारक तत्व भनेको वर्तमान सरकार हो । सरकारको गलत नीतिका कारण आज उद्योगी व्यवसायीले यो अवस्था झेल्नु परेको हो । सरकारले केही सीमित उद्योगलाई पोस्ने काम गरेकाले गर्दा उद्योगी व्यवसायीले यो नियति भोग्नुपरेको छ ।

अर्कोतर्फ नेपाल राष्ट्र बैकको गलत कर्जा नीतिका कारण ८/९ प्रतिशत ब्याजदरमा कर्जा लिएका उद्योगी व्यवसायी तथा सर्वसाधारणले १७÷१८ प्रतिशत ब्याज तिर्नुपरेको छ । यसका कारण उद्योगी व्यवसायी र सर्वसाधारण ठूलो मारमा परेका छन् ।

यसैकारण सबैको हितमा हुने गरी नीति बनाउन एमाले, राप्रपा र जसपा नेतृत्व गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन जरुरी छ । हामी हिजो पनि उद्योगी व्यवसायीको पक्षमा थियौं । आज पनि छौं र भोलि पनि हुनेछौं । यो हाम्रो प्रतिबद्धता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर