गोकर्ण भन्छन्: सांसद हुँदा ५ वर्षसम्म जिल्ला नफर्किनेसँग मेरो तुलना नगरिदिनू – Nepal Press
नेपाल टक

गोकर्ण भन्छन्: सांसद हुँदा ५ वर्षसम्म जिल्ला नफर्किनेसँग मेरो तुलना नगरिदिनू

'गुल्मी-२ मा कांग्रेस-माओवादीको मैदान खाली छ, ५६७ भाेट ल्याएकाकाे के कुरा'

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मीको क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार छन् । २०५६ सालदेखि निरन्तर सो क्षेत्रमा उम्मेदवार बन्दै आएका उनी एकपटकमात्र पराजित भएका छन् ।

तर, यसपटक लामो समय एउटै पार्टीको एउटै समूहमा रहेर पार्टी विभाजनपछि बनेको एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री विष्टका प्रतिस्पर्धी छिन् । झाँक्रीको आफ्नो सांगठनिक मत निकै कमजोर भए पनि सत्ता गठबन्धनको साथ रहेको छ । एमाले उम्मेदवार गाेकर्ण विष्टसँग चुनावी तयारीका विषयमा नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानीः

– लामो समय सहकार्य गरेका व्यक्तिसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?

निर्वाचनमा गएपछि जो उम्मेदवार हुन्छ उसैसँग प्रतिस्पर्धा गर्ने हो । अहिले म कुनै उम्मेदवारको विषयमा टिप्पणी गर्न चाहन्न । मेरो क्षेत्रका मतदाताले यहाँको विकासका लागि कसले के कति योगदान गरेको छ भन्ने विषय प्रस्ट बुझेका छन् । स्थानीय तह निर्वाचनमा ५६७ मत ल्याएको पार्टीका उम्मेदवारलाई तपाईंले नेकपा एमालेको उम्मेदवारसँग बलियो प्रतिस्पर्धा भन्न मिल्दैन । हामीले आफ्नो कामको आधारमा जनतासँग मत मागेका छौं । आफ्नो संगठनका आधारमा मत मागेका छौं, एजेण्डाका आधारमा मत मागेका छौं, अहिले सुरु भएका योजना पूरा गर्न र आगामी दिनमा गर्नसक्ने कामको सूची लिएर मतदातामा गएका छौं ।

– गठबन्धनको साझा उम्मेदवार बनेपछि कसले कति मत ल्यायो भन्ने विषय त हुँदैन होला । उनीहरु सबैको मत जोड्ने होला नि ?

आमनागरिकलाई गठबन्धनले केही दिन सक्दैन । अहिले सरकार बाहिर रहेको समयमा एमालेलाई सरकारमा रहेकै पार्टीका नेता-कार्यकर्ताले जुन आरोप लगाएका छन् यो बीचमा उनीहरुले किन केही योजना बनाउन सकेनन् ? किन काम गर्न सकेनन् ? उनीहरुकै भाषामा गठबन्धनको बलियो सरकार भएको अवस्थामा यसअघि सुरु भएका महत्वपूर्ण योजनालाई किन अलपत्र पारियो ? किन विकासका काम कुनै सुरु हुन सकेनन् ? किन यो बीचमा अर्थतन्त्र तहसनहस भयो ? किन मूल्यवृद्धि भएको छ ?

यस्ता धेरै प्रश्नहरु एमाले सरकारबाट बाहिर आएपछि खडा भएका छन् । त्यसको जवाफ उनीहरुसँग छैन । किनकि यो गठबन्धन आमनागरिकका लागि थिएन र अहिले पनि छैन । केही पार्टीका केही व्यक्ति व्यवस्थापन गर्न बनेको गठबन्धनप्रति नागरिकलाई सरोकार छैन । यही आधारमा नै हामीले चुनाव जित्छौं ।

सिंगो क्षेत्रभरमा ५६७ मत ल्याउने पार्टीका उम्मेदवारको फुर्ती मतदाताले कसरी पत्याउने ?

– चुनावपछि गठबन्धन कमजोर बनाउँछौं भन्नुभएको हो ?

चुनावपछि होइन चुनावअघि नै कमजोर बनिसकेको छ । स्थानीय चुनावपछि ठूलो संख्यामा बाहिर रहेका व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । अहिले पनि तपाईंले दिनहुँ त्यो समाचार बनाइरहनुभएको छ । चुनावपछि त केही साना दलको खुद्रा पसल बन्द हुनेमात्र होइन राजनीतिक अस्तित्व नै सकिनेछ ।

– तपाईंको संकेत नेकपा एसप्रति हो ?

हो, चुनावपछि नेकपा एसको खुद्रा पसल बन्द हुन्छ, राजनीतिक भविष्य नै सकिन्छ । स्थानीय चुनावपछि धेरै साथीहरु एमालेमा समाहित भइसकेका छन् । केही साथीहरु आउने क्रममा हुनुहुन्छ । केही बाध्यताले ढिलाइ गर्नुभएको छ । राष्ट्रियताको सवालमा स्खलित भएर नागरिकता विधेयकलगायत मुद्दामा उदार पूँजीवादी कांग्रेससँग साँठगाँठ गर्न पुगेपछि सरकारमा केही थान मन्त्री बनाउन, केही नियुक्तिमा आफ्ना मान्छे राख्न र चुनावअघि गठबन्धन गरेर आफ्नो सीट सुरक्षित बनाउन पार्टी विभाजन गरेको प्रस्ट भएको भन्दै धेरै साथीहरु फर्किनुभएको छ ।

हिजो जुन भ्रम फैलाइएको थियो, त्यसको सबै भण्डाफोर भइसकेको छ । नेतृत्वको गलत निर्णय बुझेर नै धेरै साथीहरु फर्किनुभएको छ । केही फर्कने क्रममा हुनुहुन्छ र केही बाध्यताले अल्झिनुभएको छ । तर, आगामी निर्वाचनपछि पार्टी विभाजनको सबै औचित्य सकिनेछ र नेकपा एसको राजनीतिक भविष्य नै सकिनेछ ।

– तपाईंको क्षेत्रमा प्रतिस्पर्धा कोसँग हुन्छ र तपाईंलाई मतदाताले किन मत दिने ?

नेपाली कांग्रेस र माओवादीले मैदान खाली गरेको अवस्था तपाईंले बुझ्नुभएको छ । अन्य धेरै उम्मेदवारहरु हुनुहुन्छ । तर, धेरै मतान्तरमा हामी चुनाव जित्दैछौं । अहिलेका प्रतिस्पर्धी अरुको सहारामा लडिरहनु भएको छ । सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन । हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ । सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना नगरिदिनुहोला । त्यहाँको वास्तविकता हेरेर विश्लेषण गरिदिनुहोला ।

स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग एमालेको कुनै प्रतिस्पर्धा हुँदैन । केही उम्मेदवार चुनाव जित्न नभई पर्यटन प्रवर्द्धन गर्न गाउँ डुलेको अवस्था छ । यसलाई पर्यटन प्रवर्द्धनका हिसाबले सम्मान गर्नुपर्दछ । म संसद प्रवेश गर्दाको अवस्था र अहिलेको विकासको अवस्था तुलना गरेर हेरिदिनुहोला । धेरै काम भएको छ । सुरु भएका योजना पूरा हुने क्रममा छन् र अझै धेरै गर्न बाँकी छ । भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि तथा शिक्षामा गरिएको लगानी नमुना छन् । नागरिकको अपेक्षाअनुसार काम थप बढाउन नै मेरो आगामी यात्राको मुख्य लक्ष्य हो ।

५ वर्ष सांसद हुँदा जिल्ला जानु नपर्ने अनि अहिले चुनावमा पुग्नु पर्यटन प्रवर्द्धनमात्रै हो ।

– तपाईं पार्टीको पदाधिकारी पनि हुनुहुन्छ, बलियो गठबन्धनका अगाडि एमाले रक्षात्मक अवस्थामा हो ?

एमालेको बहुमत देशको लागि आवश्यक रहेको सबैलाई प्रस्ट भइसकेको छ । यसअघि सरकारमा रहेको वेला हामीले सुरु गरेका कामको प्रभाव, म आफै ऊर्जा मन्त्रालयमा रहँदा सुरु गरेका काम, श्रममन्त्री हुँदा सुरु गरेका कामले अहिले आमनागरिकलाई कति लाभ पुगेको रहेछ भन्न नागरिकले बुझिसकेका छन् । अनि हामीले सुरु गरेका महत्वपूर्ण आयोजना आफूले जस नपाउने भन्दै अहिलेको सरकारले रोक्न खोजेकाले पनि राम्रो काम सुरुभएको प्रस्ट हुन्छ ।

अहिले देशभर चुनावी माहोल एमालेको पक्षमा बनेको छ । हाम्रो पार्टी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्ने अभियानमा जुटेको छ । त्यहीअनुसार जनता पनि उत्साहित भएर चुनावमा लाग्नुभएको छ । एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वयनमा ल्याउनेछ । एमाले नेतृत्वको सरकारले ल्याएको विकासको अभियानले गाउँमा विकासको लहर ल्याएको हो । यही आधारमा एमाले बलियो भएको हो र प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सत्तारुढ दलको गठबन्धनसँग एमाले कसरी कमजोर हुनसक्छ ?

– तपाईंको क्षेत्रमा स्थानीय चुनावमा यसअघि जितेका क्षेत्र नै एमालेले गुमाएको छ । वडा गुमाएको छ कसरी जित्ने कुरा गर्नुहुन्छ ?

स्थानीय चुनावमा केही स्थानमा निकै थोरै मतले हामीले गुमाएका हौं । केही ठाउँमा थोरै कमजोरी पनि भए होला । तर, अहिले अवस्था धेरै फेरिएको छ । नेकपा एस, माओवादी र कांग्रेसबाट धेरै नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । हामीले पनि पार्टीको आन्तरिक संगठन चुस्त बनाएका छौं यो बीचमा ।

अनि स्थानीय निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा यसअघि उम्मेदवारले गरेका कामको मूल्यांकनका आधारमा पनि पार्टी बाहिरको ठूलो समूहले मत दिने अवस्था छ । विकास समृद्धिका लागि, यहाँको नागरिकको सेवा लागि गरेको योगदानले पनि धेरै मतदाताले हामीलाई रोज्ने कुरा उहाँहरुकै प्रतिबद्धताबाट पाएको छु । यिनै आधारले फराकिलो मतान्तरले जित्ने कुरामा ढुक्क छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर