मेरा प्रतिस्पर्धीहरूको घर जाने बाटो नै मैले पिच गरिदिएको छु : पम्फा भुसाल – Nepal Press

मेरा प्रतिस्पर्धीहरूको घर जाने बाटो नै मैले पिच गरिदिएको छु : पम्फा भुसाल

‘मेरो सहयोगी भाइ नै एमालेको उम्मेदवार हो’

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित संघीय सरकारका १७ जना मन्त्री चुनावी मैदानमा छन् । अरू उम्मेदवार र निर्वाचन क्षेत्रको तुलनामा संघीय सरकारका मन्त्री उम्मेदवार भएको क्षेत्रलाई सबैले विशेष चासाको साथ हेर्ने गरेका छन् । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं ३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल चुनावी मैदानमा छन् ।

उनले यसअघि २ पटक यसै क्षेत्रबाट निर्वाचन जितिसकेकी छन् । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीबाट जितेकी भुसालले २०७४ सालमा नेकपा एमालेसँगको गठबन्धनबाट चुनाव जिते । यस पटक भने नेपाली कांग्रेससँगको सत्ता गठबन्धनकी उम्मेदवार छिन् उनी । भुसालले यसपटक पनि आफूले निर्वाचन जित्ने दाबी गरेकी छन् । भुसालसँग नेपालप्रेसकर्मी केशव भुलले कुराकानी गरेको कुराकानीको सम्पादित अंशः

 

– निर्वाचन प्रचारप्रसार तथा घरदैलोकहाँसम्म पुग्यो ?

पहिलो चरणमा गठबन्धनका विभिन्न कमिटीसँग संयुक्त परिचालन गर्ने, वडास्तरका भेला तथा चियापान सकेर कात्तिक १८ गतेदेखि घरदैलो गरिरहेका छौं । अहिलेसम्म ५ वटा वडामा मैले घरदैलो गरेर सकें ।

– कहिले एकसँग त कहिले अर्कोसँग गठबन्धन गरेर निर्वाचनमा भाग लिइरहनुभएको छ । अघिल्ला निर्वाचन र यस पटकको निर्वाचनमा के फरक पाउनुभयो ?

अचम्म भनौं वा नयाँ अनुभूति भनौं । कसैले पनि किन गठबन्धन फेरेको भनेर अहिलेसम्म सोधेको छैन । बरु मेरो क्षेत्रका मतदाताले आफ्नो समस्या सुनाउनुहुन्छ । कसैले तपाईंले पानी पुर्‍याउनुभएन, कसैले सडक पुर्‍याउनुभएन भनेर गुनासो गर्नुहुन्छ ।

– तपाईंलाई नै धेरै पटक किन जिताउने भन्ने प्रश्न गर्दैनन् मतदाताले ?

त्यस्तो नै प्रश्न त कसैले गरेको छैन । दुई पटक जिताइयो भनेजस्तो काम गर्न सक्नुभएन भन्छन् । कतिपयले राम्रो काम गर्नुभएको छ, त्यसैले तपाईंलाई नै जिताउँछौं पनि भन्नुहुन्छ ।

– मतदाताले तपाईंले काम गर्न सक्नुभएन भनेर गुनासो गर्दा साँच्चिकै मैले गर्न सकिनँ भन्ने लाग्दैन ?

त्यस्तो होइन । कोही–कोही त गरेको पनि नदेख्ने फरक विचार भएका मान्छे हुन्छन् । त्यसलाई म अन्यथा लिदिनँ । मतदाताले भनेका कुरा सकेसम्म गरिएको छ, गर्ने प्रयास गरिएको छ । कुनै विकास निर्माणका काम निर्माण व्यवसायीले ढिलाइ गरेका कारण समयमा हुन नसकेकोमात्रै हो । केही समय कोभिडका कारणले विकास निर्माणको कार्य गर्न सकिएन । त्यस्तो गर्न नसकेको भन्ने लाग्दैन ।

– आफूलाई कत्तिको सुरक्षित महसुस गर्नुभएको छ ?

मैले यस क्षेत्रमा नै २ पटक जीत हासिल गरिसकेको हुनाले आफूलाई एकदमै सुरक्षित महसुस गरेको छु । कतिपय काम गर्न सकिएन होला । तर, मैले सके जति गर्दै आएको छु र गर्छु पनि । कतिपयलाई काम नगरेको जस्तो लाग्नु स्वाभाविक पनि हो । त्यो शत प्रतिशत सत्य होइन ।

– यसै क्षेत्रमा तेस्रो पटक पनि उम्मेदवार बन्नुभयो । तपाईंले नै बढी रहर गरेकाले हो कि पार्टीले बढी जोड दिएको हो ?

दुवै भएको हो । मैले पनि मागेको हो । एक पटक प्रत्यक्षमा लड्छु भन्ने मलाई पहिलेदेखि नै लागेको थियो । मेरो पार्टीले पनि मलाई नै रोज्यो । पार्टीको जिल्ला तथा क्षेत्र तहबाट पनि मेरै नाम सिफारिस भयो । त्यतिमात्र नभएर गठबन्धनको रोजाइमा पनि मै परेको हो ।

– पार्टीका अरु नेता पनि छन् होला तपाईको क्षेत्रमा । तपाईंले अरुलाई पालो नदिएर आफूले नै किन बढी रहर गर्नुभयो ?

पहिलो, मैले सुरु गरेका कतिपय काम अधुरा नै रहेकाले त्यसलाई निरन्तरता दिएर अबको ५ वर्षमा पूरा गर्छु भनेर नै हो । दोस्रो, प्रतिनिधिसभाको सदस्यले राष्ट्रिय नीति–नियम बनाउने भएको हुनाले अझै केही नीतिगत रुपमा मुलुकलाई बलियो बनाउन प्रतिनिधिसभामा मैले आवश्यक ठानेको हो । अहिले मुलुक संविधान कार्यान्वयनको चरणमा भएकाले कतिपयले संविधानलाई नमान्ने, कतिपयले संसद नै विघटन गर्ने जस्ता संविधानविरोधी कार्य गरिरहेकाले पनि यो मुलुकलाई बलियो बनाउन मोर्चाबन्दी भनौं वा गठबन्धन गरेर अघि बढ्नुपर्छ भनेर म अघि सरेको हुँ । म त्यसैको एक अभिन्न भएकाले पनि मैले आफूलाई यस पटक पनि अघि सारे ।

– विकास निर्माणका लािग स्थानीय तह र प्रदेश सरकार भए पनि प्रतिनिधिसभाका सदस्य उम्मेदवारले नै विकासका एजेण्डा बोकेर भोट मागिरहेका छन् । तपाईंले पनि विकास निर्माणमा नै जोड दिनुभयो । प्रतिनिधिसभा भनेको त कानुन निर्माण गर्ने थलो होइन र ?

मैले विकास निर्माणका सानातिना एजेण्डा उठाएको छैन । तर, प्रतिनिधिसभाको सदस्य भनेको जनप्रतिनिधि पनि भएकाले जनताले उठाएका कुरालाई संसद तथा संघीय सरकारसँग पु¥याउने बाटो नै हामी हो नि ! त्यसैले यसमा समन्वयकारी भूमिका त निर्वाह गर्नैप¥यो । संघीयतामा पनि अझै नागरिकले प्रतिनिधिसभाका सदस्य पनि विकास निर्माणको कार्य गर्नकै लागि गइरहेका छन् र पठाइरहेका छौं भन्ने सोचिरहेका छन् । सानातिना विकास निर्माणका कार्य स्थानीय तहदेखि प्रदेश सरकारले गर्ने हो, प्रतिनिधिसभाका सदस्यले गर्ने होइन भनेर बुझाउन सकिएको छैन ।

स्थानीय तहदेखि प्रतिनिधिसभाका सदस्यसम्म जसलाई भेटे पनि नागरिकले त्यही विकास निर्माणका माग राख्ने बानी परेको छ । संघीयतामा गए पनि नागरिकको चेतना संघीयतामा गइसकेको छैन । त्यो मलाई पनि महसुस भएको छ । यसमा विस्तारै विकास हँुदै जान्छ । संघीय निकायसम्म पुर्‍याउने हाम्रो काम हो । बाँकी काम त सरकारी निकायले गर्ने हो । समन्वय हामीले गरिदिने हो ।

– सांसदले विकासका नाममा आफूले भोट पाएको क्षेत्रमा मात्र बजेट दिने तथा आफ्ना नेता तथा कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर विकासमा पनि राजनीति भइरहेको छ नि ?

हो, हामीले प्रणालीको विकास नै गर्न खोजेको हो । सानातिना काम हामीले गर्न पनि खोजिरहेका छैनौं । हामीले त राष्ट्रियस्तरका आयोजना, परियोजनाका लागि मात्र पहल गर्ने हो । त्यो गर्दै आएका पनि छौं । हिजो सबै अधिकार सिंहदरबारमा भएका वेला सांसदमात्र सिंहदरबार पसेर विकास निर्माणका कार्य आफ्नो क्षेत्रमा लिएर जानु, आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्नुलाई पनि गलत बुझ्नु हुँदैन । संघीयता कार्यान्वयनको चरणमा भएकाले विस्तारै प्रणालीको विकास भयो भने त्यो पनि कम हुँदै जान्छ र प्रणालीले काम गर्छ ।

– २ पटक यसै क्षेत्रबाट जितेर गए पनि नागरिकको अपेक्षाअनुसार खासै काम गर्न सक्नुभएन भन्ने गुनासो छ । प्रतिस्पर्धी उम्मेदवारले पनि तपाईंले गर्न सक्नुभएन भनेर भनिरहेका छन् नि ?

जसले कहिल्यै पनि केही गरेको छैन, उसलाई मैले गरेको कामको बारेमा जानकारी नहुनु र केही गरेर भन्नु स्वाभाविक नै हो । हुन त मैलेमात्र गरें, अरुले गर्न सक्दैन भनेर पनि भन्न खोजेको होइन मैले । मेरो ठाउँमा अरु कोही भएको भए पनि काम हुन सक्थ्यो होला । म पहिलोपटक निर्वाचित भएको २०६४ यता भौतिक पूर्वाधार, विकास निर्माण तथा सामाजिक क्षेत्रको विकास मनग्य भएको छ । मलाई आफूले गरेको कामका बारेमा ठूलो किताब छापेर बाड्ने फुर्सद पनि छैन । अहिले अरु पार्टीबाट जो उम्मेदवार हुनुहुन्छ, उहाँहरुको घर जाने बाटो पनि मैले पिच गरेर बनाइदिएको छु । मैले यो वर्षमात्रै गरेका मेरा सानातिना कामको मात्रै फेहरिस्त तयार पारेर मेरो वेबसाइटमा राखेको छु । मैले गरेको कामबारेमा जानकारी नहुनेले त्यो एकपटक पढे हुन्छ ।

– यसको मतलब ‘सबै हिसाबले मैले राम्रो काम गरेको छु र गठबन्धन भएकाले पनि म निर्वाचन जित्छु’ भनेर तपाईं ढुक्क हुनुहुन्छ ?

निर्वाचन भनेको मज्जाले पढेको विद्यार्थी परीक्षा दिन जाँदा के हुन्छ त्यस्तै अवस्था हो । गठबन्धनबाट निर्वाचन लडे पनि वा जेसुकैबाट लडे पनि डर नहुने भन्ने त हुँदैन । यो एउटा पुनः परीक्षण हुने मौका पनि हो । पार्टीबाट, गठबन्धनबाट वा स्वतन्त्रबाट वा जुनबाट निर्वाचनमा सहभागी भए पनि पुनः परीक्षा दिन जाने हो ।

– तपाईंलाई नेकपा (एमाले)बाट डर हो कि अन्य पार्टी वा स्वतन्त्र उम्मेदवारबाट हो ?

स्वतन्त्रसँग वा अरु साना दलसँग मलाई कुनै पनि डर छैन । डर भनेको दलसँगै हो । एउटा हाम्रो गठबन्धन छ भने अर्को नेकपा एमालेको गठबन्धन छ । नेकपा एमालेको गठबन्धनबाट प्रतिस्पर्धामा रहेको ठूलो–सानो जो भए पनि प्रतिस्पर्धी नै हो । मेरो सहयोगी भाइ नैै एमालेको उम्मेदवार हो । २०६४ सालको निर्वाचन र २०७४ को निर्वाचनमा मलाई सहयोग नै गरेको हो ।

– एमालेका उम्मेदवारलगायत अन्य दलका उम्मेदवारसँग भेटघाट कत्तिको हुन्छ ?

भेटघाट त भएको छैन । तर, सामाजिक सञ्जालबाट मैले उहाँका क्रियाकलाप हेरिरहेको छु र उहाँले पनि हेरिरहनुभएको होला ।

– जित्छु नै भन्ने आत्मविश्वास छ भने कति जति मत ल्याएर निर्वाचित हुन्छु भन्ने छ ?

जित्छु भन्ने आत्मविश्वास भए पनि मतको भने आँकलन गरेको छैन । घरदैलोमा व्यस्त भएकाले पनि मतको हिसाबकिताब गर्न भ्याएको छैन । २०७४ सालको निर्वाचनमा भन्दा यस पटक मतदाताको संख्या पनि बढेको छ । त्यसैकारण मैले पहिलेको भन्दा बढी मत ल्याएर जित्नुपर्छ गठबन्धन भएकाले पनि । यद्यपि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीको मत पालिकास्तरमा कम देखिन्छ । तर, हामीले अधिकांश वडा तथा पालिकामा उम्मेदवार नउठाएका कारण केही कम देखिएको हो । त्योभन्दा हाम्रो बढी नै मत हो ।

– अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीले करिब माओवादीकै जति भोट ल्याएको थियो । यस पटक पनि कतिपय नयाँ दल दर्ता भएर निर्वाचनमा होमिएका छन् नि ?

अहिले विवेकशीलको पुरानो जस्तो हैसियत छैन । नयाँ दलले पनि धेरै मत ल्याउन सक्दैनन् । किनभने हाम्रो मुलुक संवैधानिक व्यवस्थाअनुसार दलीय व्यवस्था वा प्रणालीमा छ । जनतालाई बहुमत ल्याउने सरकार चाहिन्छ । यो निर्वाचनमा १३८ सीट ल्याउने पार्टीले मात्र आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्न पाउँछन् । त्यसैले यसलाई जनताले राम्रोसँग बुझिसकेका छन् । हामी कहाँ दलीय व्यवस्था एकदमै बलियो छ । घरघरसम्म पनि दलीय संरचना पुगेकाले यो नै लोकतन्त्रका लागि बलियो आधार हो । त्यसैले यो क्षेत्रमात्र नभएर मुलुकभरका जनताले नै व्यक्ति होइन पार्टी सम्झिन्छन् । मैले दिएको मतले व्यक्ति निर्वाचित भएरमात्र भएन पार्टी नै बलियो बनेर सरकार बनोस् र मेरो भावना चाहना पूरा होस् भन्ने जनताको अपेक्षा हुन्छ र त्यसैअनुसार मत दिने हो । दलीय प्रणालीभन्दा बाहिर जाने ललितपुरका जनताको इच्छा छैन र यसमा म ढुक्क छु ।

– काठमाडौं महानगरपालिकामा त बालेनलाई जिताएर देखाइदिए नि जनताले होइन र ?

स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकदमै फरक हो । त्यो निर्वाचन कार्यकारी पदका लागि हुने हो । सांसद भनेको कार्यकारी पद होइन । कार्यकारी पद भनेको निर्वाचित वडा अध्यक्ष र पालिका प्रमुखमात्रै हो ।

– त्यो कुरा सबै जनताले बुझिसकेको अवस्था त छैन नि ?

होइन, जनताले हामीभन्दा पनि बढी बुझिसकेका छन् । नेपाली नागरिकको चेतना हाम्रोभन्दा धेरै माथि छ । हामीले आफूलाई मात्र बढी बुझ्ने ठानेका छौं । दलका नेतालाई सम्झाउने चेतना जनतासँग छ । अझ त्यसैमा पनि ललितपुर त झन् राजनीतिक दलभन्दा माथि छ । पाटनका नागरिकले हरेक आन्दोलनमा विशिष्ट योगदान पु¥याएका छन् । पृष्ठभूमिमा हेर्नुभयो भने यहाँका अग्रजले एकदमै ठूलो भूमिका निर्वाह गरेका छन् हरेक आन्दोलनमा ।

– स्थानीय तह निर्वाचनमा अधिकांश कांग्रेसले माओवादीलाई भोट हालेनन् । यो पटक हाल्छन् त तपाईंलाई ?

हो, स्थानीय तहको निर्वाचनमा तपाईंले भनेको जस्तो भएको हो । रुखले हसियाँ हथौडामा नहालेको, हँसिया हथौडाले रुखमा नहालेको र कलमले अरुमा नहालेको अवस्था थियो । स्थानीय तहमा उम्मेदवार नभएका अवस्थामा पनि चिन्ह थियो र त्यो अवस्था आएको हो । तर, अहिले अवस्था त्यस्तो छैन । यस पटकको निर्वाचनमा उम्मेदवार नभएको पार्टीको निर्वाचन चिह्न मतपत्रमा नहुने भएकाले पनि त्यो सम्भावना छैन । गठबन्धन दलका नेता–कार्यकर्ता गठबन्धनमा एकदमै समर्पित छन् ।

– कतिपय त आफ्नो पार्टीको उम्मेदवार नउठाएको भन्दै रुष्ट भएर भोट नै नहालेर बस्न सक्छन् वा अर्कै पार्टीलाई पनि हाल्नसक्छन् नि ?

त्यस्तो हुँदैन । सामान्यतया उम्मेदवारी नटुंगिँदासम्म विवाद थियो । त्यो पनि गठबन्धनभित्रका अरु दलमा हो । हाम्रो पार्टीमा त्यस्तो समस्या थिएन र छैन पनि । गठबन्धनका अरु दलमा विवाद भएकै कारण धेरै जनाको नाम सिफारिस पनि भएको अवस्था थियो । तर, टिकट टुंगिसकेपछि सबै विवाद समाधान भइसकेका छन् । सबै गठबन्धनको पक्षमा उभिएका छन् ।

– निर्वाचन प्रणाली एकदमै खर्चिलो भयो भनेर पनि गुनासो भइरहेको छ । के साँच्चिकै खर्चिलो भएको हो निर्वाचन प्रणाली ?

अहिले निर्वाचन आयोगले ल्याएको आचारसंहिताले खर्च प्रणालीलाई घटाउन खोजेको छ । यो एकदमै सकारात्मक पाटो हो । मेरो निर्वाचन क्षेत्रको जुनसुकै ठाउँमा पनि आधा घण्टामा पुग्न सकिन्छ । तर, कतिपय जिल्लाका निर्वाचन क्षेत्रमा एक दिन पूरै समय लाग्ने अवस्था पनि छ । २५ जना प्रचारप्रसारमा हिँड्नुपर्ने भएकाले उनीहरुलाई चिया, खाजा खुवाउनुपर्नेलगायतको कुरा गर्दा खर्चिलो त छँदैछ नि !

– मन्त्री रहेका अधिकांश उम्मेदवारलाई निर्वाचन आयोगको आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । तपाईंको पालो आयो कि आएर स्पष्टीकरण बुझाउने ?

मैले आचारसंहिता उल्लंघन गरेको छैन । निजी सवारीसाधन नै प्रयोग गर्दै आएकी छु । अरु उम्मेदवारसरह नै जनता कहाँ पुगिरहेको छु । निर्वाचन आचारसंहिताभित्र बस्ने हो भने निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने कुरै हुँदैन नि !

तस्बिर/भिडियाे :नविनमुनी स्थापित


प्रतिक्रिया

One thought on “मेरा प्रतिस्पर्धीहरूको घर जाने बाटो नै मैले पिच गरिदिएको छु : पम्फा भुसाल

  1. उर्जा मन्त्रीले बाटो पिच ? फलानाको घर नै मैले बनाईदिएको भन्न बेर छैन अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर