विष्णु पौडेलका चुनावी कमाण्डर भन्छन्- एमालेको किल्ला अझ बलियो बनेको छ – Nepal Press
नेपाल टक

विष्णु पौडेलका चुनावी कमाण्डर भन्छन्- एमालेको किल्ला अझ बलियो बनेको छ

पार्टीको केन्द्रीय अनुशासन आयोगको उपाध्यक्ष रहेका नेत्र पन्थी पार्टीमा आउने हरेक संकटलाई सजिलै समाधान गर्न सक्ने नेताको रूपमा स्थापित भएका छन् । पार्टीको तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा कमाण्डरको रूपमा जिम्मेवारी सम्हालेका छन् । ८ हजार संगठित सदस्य र २ हजार क्षेत्रगत सदस्य गरी १० हजार पार्टी सदस्य रहेको यो क्षेत्रमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल प्रतिनिधिसभाको उम्मेदवार छन् । यो क्षेत्रबाट प्रदेशसभामा पोलिटब्युरो सदस्य लीला गिरी र प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् । एकातिर ५ दलीय गठबन्धनमा यसअघि एमालेको किल्लाका रूपमा परिचित यो क्षेत्र जोगाउन एमालेले गरिरहेको तयारी, प्रभावशाली नेताहरूलाई उम्मेदवार रहेको क्षेत्रमा नेता पन्थीले बनाएका योजना र रणनीतिका विषयमा गरिएको कुराकानी नेपाल टकमा  :

एमालेविरुद्ध ५ दलको गठबन्धन छ । कसरी जोगाउँछ एमालेले विरासत ?

नेकपा एमाले आफ्नो संगठनमा चलेको पार्टी हो । यो क्षेत्रमा ८ हजार संगठित र २ हजार क्षेत्रगत गरी १० हजार सदस्य छन् । सबै क्षेत्रमा हाम्रा जनसंगठन सक्रिय छन् यसैको बलमा हामीले चुनाव जित्न कुनै अफ्ठेरो छैन । हामीसँग को प्रतिस्पर्धामा आयो भन्ने विषय महत्त्वपूर्ण होइन कति फरक मतान्तरले जित्ने भन्ने विषयलाई हामीले ध्यान दिएका छौँ । यसैलाई केन्द्रमा राखेर काम गरेका छौँ । एमालेविरुद्ध जे जति शक्तिको गठबन्धन गरे पनि त्यो पार लाग्न सक्दैन । एमाले बलियो भएरै हाम्रो विरुद्ध गठबन्धन बनेको हो भन्ने विषय त सारा दुनियाँलाई प्रष्ट भएको छ नि त ।

स्थानीय तहमा गुमाएका क्षेत्रमा कसरी संगठन बलियो मान्न सकिन्छ ?

स्थानीय तहको चुनावअघि हामीले भर्खर महाधिवेशन सकाएर आएका थियौँ । त्यो भन्दा अगाडि नेकपाकालदेखि हाम्रा संगठन गतिहीनजस्तै बनेका थिए । हामीले त्यसपछि बनेको संरचनामा त्यसलाई गति दिन सकेका थिएनौँ । स्थानीय तहको चुनावमा यसको केही प्रभाव परेको हो । त्यो समयमा केही साना आन्तरिक समस्याले पनि थोरै मतले केही क्षेत्र गुमाएका छौँ पुरै अंकमा हामी पछाडि छैनौ तर हामीले सोचेजस्तो परिणाम नआएको प्रष्ट हो तर त्यो चुनावपछि धेरै ठूलो संख्यामा एमाले प्रवेश गरेको तथ्यांक तपाईँहरूले जान्नुभएको छ । त्यो चुनावी परिणामले हामीलाई संगठनमा सुधार ल्याउन पनि धेरै सहयोग पुरायो । टोल टोलमा हामीले संगठन सुदृढीकरण बनायौँ । धेरै मजबुत बनायौँ । अर्कोतर्फ स्थानीय तहमा भएको गठबन्धन नै अहिले भत्किएको छ । आपसी विवादमा छिन्नभिन्न भएको छ ।

निर्वाचन अभियान कसरी चलिरहेको छ ?

अहिले सिङ्गो पार्टीको केन्द्रीयतामा सबै जन वर्गीय सङ्गठनहरु योजनाबद्ध रूपमा निर्वाचनमा खटिनु भएको छ । आठ हजार सङ्गठित सदस्यको गतिशील फौज बडो धैर्य र शान्त पूर्वक एउटै लयमा खटिएको छ । यही नै हाम्रो जितको आधार हो । त्यसमाथि हामीलाई राप्रपा र जसपाले समेत तालमेल गरेर सघाएको अवस्था छ ।

निर्वाचन धेरै खर्चिलो भयो भन्ने छ कसरी जुटाउनुभयो आर्थिक मन्दीमा स्रोत ?

हामीले चिया बिस्कुट खाएर काम गरेका छौँ । धेरै साथीहरूले घरमा खाएर दिनभर पार्टीको काम गरेर साँझ घरमा गएको अवस्था छ । हामीले कोही बाहिरको मान्छेसँग चन्दा लिएका छैनौँ । सबै सदस्यलाई क्षमताअनुसार ५० रुपैयाँदेखि ५ हजारसम्मको रसिद दिएर स्रोत संकलन गरिरहेका छौँ । हामी आन्तरिक रूपमा के कति स्रोत संकलन भयो र खर्च भयो भन्ने सम्बन्धित टोल र वडामै सार्वजनिक गर्ने संरचना बनाएका छौँ । रसिदबिना कसैले रकम दिनुपर्दैन अनि हामीले निर्वाचन आयोगले तोकेभन्दा कम खर्चमै टुंगाउने छौँ । यो नमुना शैलीमा खर्चको व्यवस्थापन गरेका छौँ । चुनावी खर्चका विषयमा बाहिर जे जति भ्रम फैलाइएको छ हाम्रो क्षेत्रमा गरेका प्रयोगले हाम्रो पार्टीको गरेका उदाहरणले सबैलाई प्रेरणा मिल्ने गरी काम गर्ने छौँ भन्ने कुरामा म तपाई मार्फत सबैलाई अनुरोध गर्न चाहन्छु ।

गठबन्धनको उम्मेदवार प्रतिस्पर्धाको मैदानबाट हटेपछि जित सहज मानेको हो तपाईँहरूले ?

गठबन्धन आफैमा सङ्गठित छैन । त्यहाँ विवाद छ । आफ्नो उम्मेदवार खारेजीपछि ऊ अन्यौलता छ । अब खेताला उम्मेदवार खोजेको छ । हिजो जसलाई गाली गर्दै हिँडेको थियो आज उसैलाई हाम्रो उम्मेदवार बनिदेऊ भनेर बिन्ती गरेको अवस्था छ । हामीलाई जोसुकै व्यक्ति भए पनि कुनै समस्या छैन कसको खारेजीमा पर्‍यो भन्ने विषय नै चासोको विषय होइन । एमालेका उम्मेदवार यसअघि जनताबाट परीक्षणमा अब्बल भएका नेताहरू हुनुहुन्छ । धेरैलाई चिनाउनु पनि पर्दैन । विकासका लागि, समृद्धिका लागि, कानुन निर्माणका लागि उहाँहरूले के कति काम गर्नुभएको छ भन्ने विषयमा सबैलाई प्रष्ट भएको अवस्था छ । गठबन्धनका उम्मेदवारका विषयमा होसे वा अन्य उम्मेदवारका विषयमा होस् हाम्रो कुनै टिप्पणी नै छैन । हामी हाम्रो अभियानमा जुटिसकेका छौँ । हामी धेरै अगाडि बढिसकेका छौँ ।

एमालेलाई प्रतिस्पर्धी मैदानबाट लखेटेको आरोप लाग्यो नि ?

लोकतान्त्रिक पद्धतिभित्रको निर्वाचन प्रक्रियामा उम्मेदवारी दाबी प्रक्रिया हुन्छ । त्यो प्रक्रिया खराब उम्मेदवार प्रतिस्पर्धाको मैदानमा नछिरुन् भनेर राखिएको हो । यो विश्वव्यापी प्रचलन हो । बरु बुटवलले यो प्रक्रियाको उपयोग गरेर नयाँ सन्देश दिएको छ । बैंक ठगी प्रकरणमा कालोसूचीमा परेको व्यक्तिलाई प्रतिस्पर्धामा आउन नदिएर राम्रो काम गरेको छ । यो अमुक व्यक्तिको विषय मात्र हैन, यसलाई सिङ्गो संसदीय व्यवस्थाको परि शुद्धीकरणको अर्थमा लिनु पर्छ । तर यो दाबी हाम्रो पार्टीको पहलमा हैन, पीडित पक्षको दाबी हो । अर्को विषय जो यहाँको आयोगले उम्मेदवारी खारेज गरेका व्यक्तिहरू सर्वोच्चसम्म पनि त नपुगेको विषय होइन नि त्यहाँबाट पनि खारेज त सदर भयो अनि आफ्नो गल्ती लुकाउन एमालेलाई दोष लगाएर हुन्छ रु यो गैर राजनीतिक तर्क हो । यसलाई आम मतदाताले बुझेका छन् । सबैले बुझ्न जरुरी छ ।

विष्णु पौडेललाई पनि विभिन्न आरोपहरू लगाइएको थियो नि ?

संगठनले जित्न नसकेपछि अरूलाई गाली गरेर मन बुझाउने बाटो हो । कानुन त सबैलाई समान लाग्छ होला नि । उहाँ कानुनभन्दा माथिको व्यक्ति हैन । त्यस्ता प्रमाणहरू भएमा उम्मेदवार दाबी विरोधमा आउँथे होला । बाहिर बसेर हल्ला गरेर मात्र हुँदैन, आरोपितलाई प्रमाण जुटाएर उम्मेदवारी रोक्नु पर्छ । विष्णु पौडेलको विरुद्ध जान केही प्रमाण भेटेनन् । प्रमाण भए आउँथे । त्यसैले विष्णु पौडेल विरुद्ध हल्ला गर्नेहरूका प्रायोजित प्रपोगाण्डामा फस्ने कुरा भएन । उनीहरू प्रमाणविहीन निरर्थक हल्ला गरिरहेका थिए अब ती सबै जबाफविहीन भएका छन् ।

अरूलाई गठबन्धनको विरोध गर्ने आफूहरू चाहिँ तालमेल भन्दै साथ खोज्ने ?

हामीले पहिले गठबन्धन गरेका थिएनौँ । अहिले पनि हामी गठबन्धन गरेका होइनौ । केही क्षेत्रमा तालमेल मात्र गरेका हौँ । हामीले तालमेल गरेका क्षेत्रहरू, दलहरूमा सबै विषय पारदर्शी रूपमा सबैले बुझ्ने गरी बाहिर ल्याएका छौँ । तर यसको सुरुवात हामीले गरेका होइनौ ।

निर्वाचन खर्च घटाउन के गर्नुपर्ला ?

यो महत्त्वपूर्ण प्रश्न हो । हामीले निर्वाचन आयोगको आचारसंहिता कडाइपूर्वक पालन गर्छौँ । निर्वाचन आयोग सुधारको लागि प्रयासरत छ । यो खुसीको कुरा हो । यो पटक अरूले गरेजस्ता ठूला ठूला भोजभतेरहरू गर्दैनौँ । ठूला ठूला मोटरसाइकल र्यालीहरु निकाल्दैनौँ । विशाल भेलाहरू गर्दैनौँ । गाली गलौचका अपशब्दहरू प्रयोग गर्दैनौँ । शान्त र भद्र प्रचार शैली अपनाउँदै छौ । ब्यानर,पर्चा, पम्लेट, झण्डा सब हटाउँछौँ । मुलुक बनाउने जिम्मेवारी हाम्रो हो । हामी निर्वाचनमा चुक्दैनौँ । हामीलाई धेरै सहज बनाएको छ अहिलेको निर्वाचनको वातावरणले । एक त समय पनि निकै छोटो छ अर्को आचारसंहिताले अझै सहज छ ।

तपाई एमालेका उम्मेदवार विकास र समृद्धिका संवाहक भन्नुहुन्छ तपाईँका विपक्षीहरूको विरोध त नेताहरूप्रति नै छ नि ?

विरोध अपवित्र गठबन्धनका प्रायोजित हल्ला हुन् । तर, हामीले हार्डवेयर (पूर्वाधार निर्माण) र सफ्टवेयर (मनोवैज्ञानिक पक्ष) दुवै पक्षमा ध्यान दिनु पर्छ । दुवै पक्षलाई समन्वित रूपमा लैजानु पर्छ । विकासको प्रतिफल सबै समुदायमा समानताका साथ जानु पर्छ । विविधताको रूपमा रहेका मधेस, थारु, मुस्लिम, जनजाति, विपन्न, बेरोजगार, दलित, महिला, एकल महिला, अल्पसंख्यक यौनिक समुदाय, अपाङ्गता सबै वर्ग र समुदायलाई समावेशीकरणका आधारमा आत्म सम्मान र आत्म पहिचान दिएर, सशक्तीकरण गरेर राष्ट्रिय मूलधारमा हिँडाउन सक्नुपर्छ । यसको लागि रोजगारमूलक पूर्वाधार बनाउने, निजी क्षेत्रलाई उद्योगहरू, व्यावसायिक प्रतिष्ठानहरू खोल्न प्रेरित गर्ने काम गर्नुपर्छ । उदाहरणको लागि बुटवलमा चार अरब खर्चेर दुई वटा केबुलकार चल्दै छन् । त्यसले प्रत्यक्ष, परोक्ष दशौँ हजारको रोजगार सिर्जना गर्नेछ । बजार चलायमान हुन्छ । यस्ता रोजगारमूलक परियोजनामा ध्यान दिन्छौँ । विदेशमा जान नपर्ने गरी स्वदेशमै रोजगार पाउने गरी गरी काम गर्छौँ । अब त्यो क्षेत्रमा हामी काम गर्छौँ । समानताको भावना जगाउने, सबैले सबैको अस्तित्व स्वीकार गर्ने, भाइचारा संस्कृति निर्माण गर्ने विषयमा हामी अभियानमूलक रूपमा काम गर्छौँ । भविष्यमा असल समाज बनाउँछौँ । विविधताको व्यवस्थापन गरी सबै अटाउने, सबै देखिने र सबै जोडिने गरी राष्ट्रिय एकतालाई मजबुत बनाउँछौँ ।

विष्णु पौडेलले प्रदेश राजधानी सार्दा बेवास्ता गरेको आरोप छ नि ?

यो सरासर व्यक्तिविरुद्ध लगाउने आरोप हो । उहाँले बुटवलमा अस्थायी मुकाम बनाउन पहल गरेको साँचो हो र स्थायी राजधानी राख्न अन्तिम समयसम्म मेहनत गरेको पनि साँचो हो । अस्थायी राख्नका लागि जति सहज थियो स्थायी राख्न एक व्यक्तिले सम्भव हुने कुरा होइन । तर प्रदेशको राजधानी राख्ने विषयमा संघीय सांसद एक्लैले केही गर्न सक्ने कुरा हुँदैन । यो प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय बुझेका व्यक्तिले पनि यसलाई अनावश्यक रूपमा बोलिरहेको सुनिन्छ । अर्कोतर्फ नेकपाकालीन समयमा पार्टीले शीर्ष तहमा भएको निर्णय एक पदाधिकारीले अन्तिम समयसम्म लडेको विषय त प्रष्ट छ नि । त्यही भएर यो एक व्यक्ति संघीय सांसदले राख्न सकेनन् भनेर अधिकार क्षेत्रभित्रको आरोप लगाउनु न्यायसङ्गत नै होइन । रुपन्देहीको बासिन्दाले राख्न पहल कसले गरेन होला ? यो आधारहीन आरोप हो, यसमा सत्यता छैन बरु त्यो राजधानी सरेपछि उहाँ धेरै चिन्तित हुनुहुन्छ । आर्थिक, सांस्कृतिक रूपमा कसरी यो क्षेत्रलाई बलियो बनाएर कसरी लैजान सकिन्छ भनेर धेरै योजनाहरु अगाडि बढाएको अवस्था छ ।

प्रतिनिधिसभा र प्रदेशसभा गरी तीन वटै क्षेत्रको आंकलन कस्तो छ ?

प्रतिनिधिसभामा सफल अर्थमन्त्रीको रूपमा पहिचान बनाउनुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जित सुनिश्चित प्रायः छ । नेपाली कांग्रेस, माओवादीले उम्मेदवार नै बनाउन सकेन भने नेकपा एसको उम्मेदवार नै खारेज भएको अवस्था छ । नेता पौडेलका लागि ती दलहरूमा रहेका नेता कार्यकर्ता, समर्थक उद्योगी व्यवसायीहरुले यो बीचमा दिएको सकारात्मक सन्देशले नै हामीलाई उत्साह थपिसकेको छ । प्रदेशमा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठ लोकप्रिय र अपराजित व्यक्ति हुनुहुन्छ । उहाँको जित स्पष्ट छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्व मन्त्री लीला गिरिको आधार झन् मजबुत छ । हामी तिनै जनालाई फराकिलो मतान्तरले जिताएर पठाउँछौँ ।

तपाई केन्द्रीय अनुशासन आयोगको उपाध्यक्ष, चुनावमा पार्टीका निर्णयविरुद्ध जानेलाई के गर्नुहुन्छ रु स्थानीय चुनावमा गरेकालाई के गर्नुभयो रु नाम मात्रको आयोग त होइन नि ?

हामीलाई पार्टीका महाधिवेशनले नै विशेष जिम्मेवारी दिएको छ । तर महाधिवेशन लगत्तै स्थानीय तहको चुनाव आयो, त्यसको परिणामको समीक्षा गरेर नयाँ योजना नबनाउँदै आमनिर्वाचन आयो । अहिले सबै पार्टीको काममा खटिएका छौँ । पार्टी कमिटीमा बस्ने कसम खाएका जो कोहीले पनि पार्टीको निर्णय मान्नुको विकल्प छैन । आन्तरिक मतभेद कमिटीमा राख्ने, भित्रै छलफल गर्ने, मन नबुझेका विषयमा धारणा राख्ने र बाहिर पार्टीलाई जोगाउने कसम खाइएको हुन्छ । अनुशासन आयोगले यही विषयमा सजग बनाउने हो । निर्वाचन सकिए लगत्तै हामीले बनाएका योजनामा सूक्ष्म छलफल गर्छौं पार्टी निर्णय र पार्टी हित विपरीत जानेलाई कुनै पनि मानेमा छुट हुनेछैन त्यो अधिकार एमालेको सदस्यलाई छैन ।

आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

राष्ट्रियता जनजीविका, लोकतन्त्रको संस्थागत विकासमा असल र भिजन भएका जनप्रतिनिधि छानौँ । हामी यही संविधानको बाटो समाजवादमा जान सक्छौँ । संविधान अपरिवर्तनीय हैन । समयोचित रूपमा आवश्यक संशोधनको प्रक्रियाका आधारमा जनताको चाहना अनुसार अघि जान्छौँ यसमा सबैको साथ जरुरी छ । तर निर्वाचनमा उम्मेदवार छान्दा उसको पार्टीले देश र जनताका पक्षमा गरेका गरेका सफल अभ्यास, योगदानलाई ध्यान दिनुहोला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर