सन्दीपलाई आरोप लगाउने किशोरी बालिग भएको दाबी, जन्मदर्ता सच्याएर नागरिकता निकालेको प्रमाण पेश – Nepal Press

सन्दीपलाई आरोप लगाउने किशोरी बालिग भएको दाबी, जन्मदर्ता सच्याएर नागरिकता निकालेको प्रमाण पेश

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग भएको दाबी उनको पक्षबाट बहस गर्ने कानून व्यवसायीले गरेका छन् । सन्दीपका एक कानून व्यवसायी मुरारी सापकोटाका अनुसार आरोप लगाउने किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।

स्थानीय निकायमा गरिएको उक्त जन्मदर्ता २०६१ असोज १८ गते जारी भएको सापकोटाले बताए । तर किशोरीको उक्त जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलिपल्ट नागरिकता बनाएको भेटिएको उनको भनाइ छ ।

किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता  नागरिकतामा उनको जन्ममिति २०६२ जेठ १८ उल्लेख छ । त्यसको आधारमा उनको उमेर १७ वर्ष ४ महिनामात्र हुन्छ ।

जन्मदर्ता सच्याएको भन्दा अगाडिको प्रमाणपत्रलाई आधार मानेर सन्दीपका कानून व्यवसायीले आरोप लगाउने किशोरीको उमेर घटना भएको भनिएको दिन १८ वर्ष कटिसकेको तर्क गरेका हुन् । अदालतमा भएको बयानकै क्रममा सन्दीपले जन्मदर्ताको प्रतिलिपि पेश गरेको सापकोटाले बताए ।

१८ वर्षसम्मको किशोरीसँग सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार मानिने कानूनी व्यवस्था छ । त्योभन्दा माथिको उमेरमा भने राजीखुशीको सम्बन्धलाई बलात्कार मानिँदैन । सन्दीप र किशोरीबीच आपसी सहमतिमै सम्बन्ध भएको हो र यदि किशोरी नाबालिग हुन् भने सन्दीपलाई सजायबाट उन्मुक्ति मिल्न सक्छ । यद्यपि, सन्दीपले भने आफूहरूबीच यौनसम्बन्ध नभएको बताएका छन् ।

थुनछेक बहसको पहिलो दिन पीडित भनिएकी किशोरीका तर्फबाट ७ जना र सन्दीपका तर्फबाट दुईजनाले बहस गर्नेछन् । पीडित भनिएकी किशोरीका तर्फबाट चारजना सरकारी वकिल र तीनजना निजी वकिलले बहस गरेका छन् । यस्तै सन्दीपका तर्फबाट सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *