नुवाकोट-१ डा. महतलाई माग्दै कांग्रेस नेताहरु बालुवाटारमा, माओवादीलाई स्वीकार नगर्ने – Nepal Press

नुवाकोट-१ डा. महतलाई माग्दै कांग्रेस नेताहरु बालुवाटारमा, माओवादीलाई स्वीकार नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई नुवाकोट क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाउनुपर्ने माग गर्दै जिल्लाका नेताहरु बालुवाटारमा धर्ना कस्न आइपुगेका छन् ।

बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेका बेला बाहिर नुवाकोटाका कार्यकर्ता भेला भएर डा. महतका लागि नुवाकोट १ गठबन्धनले खाली गर्नुपर्ने माग गरिरहेका थिए ।

कांग्रेस नुवाकोटका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तथा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको नेतृत्वमा जिल्ला सचिव बैकुण्ठ मिश्र, सहसचिव उत्तम पाठक, वागमती प्रदेश सद स्य धनकुमारी थापा (सरु) लगायत करीव एक सय जना अगुवा कार्यकर्ता बालुवाटार पुगेका थिए ।

डा. महतलाई समानुपातिकमा राखिएको हल्ला चलेपछि आफूहरु प्रत्यक्ष मै उम्मेदवार बनाउनुपर्ने माग राखेर काठमाडौं आएको थापाले बताइन् । उनीहरुले नुवाकोट १ गठबन्धनबाट कांग्रेसले पाउनुपर्ने र सो क्षेत्रमा प्रकाश महत लड्नुपर्ने बताएका छन् ।

क्षेत्रीय सभापति श्रेष्ठले भने– नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा डा. प्रकाश महतको लागि टिकट पाउनुपर्छ भन्ने हाम्रो दाबी हो । उहाँको नाम एक नम्बरमा राखेर क्षेत्रबाट पठाइएको छ । हामी सो क्षेत्रबाट माओवादीलाई भोट हाल्दैनौं र जिताउन सकिन्न । किनकी सो क्षेत्रका ७ पालिकामध्ये ४ वटामा कांग्रेसले जितेको छ । अरु पार्टीभन्दा कांग्रेसको १० हजार भोट बढी छ । अरु पार्टीका शीर्ष नेताले प्रत्यक्षमा ठाउँ पाउँदा कांग्रेसको प्रवक्ताले नपाउने भन्ने मान्य हुन्न ।

सो क्षेत्रबाट २०७४ सालमा माओवादीका हितबहादुर तामाङले जितेका थिए । गठबन्धनमा माओवादीले सीट पाउने भएपछि डा. महत समानुपातिकमा बसेका छन् । उनले चुनाव लडे नुवाकोट १ बाटै लड्ने भन्दै अन्यत्रबाट उम्मेदवार बन्न मानेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर