नेपालमा ५५ देशको लगानी, उद्योगमा सबैभन्दा बढी – Nepal Press

नेपालमा ५५ देशको लगानी, उद्योगमा सबैभन्दा बढी

काठमाडौं । नेपालमा ५५ देशले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएका छन् । ती देशहरुले ६० प्रतिशतभन्दा बढी लगानी उद्योग क्षेत्रमा गरेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । नेपालमा सबैभन्दा बढी लगानी गर्नेमा भारत अग्रस्थानमा छ ।

भारतले ७५ अर्ब १ करोड रुपैयाँ नेपालका उद्योगहरुमा गरेको केन्द्रिय बैंकले जनाएको छ । चीनले ३३ अर्ब, आयरल्याण्डले १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड, सेन्ट किड्स् एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । यो २०७८ असार मसान्तसम्मको अवस्था हो ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा ३९.४ प्रतिशत, जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत, उत्पादन क्षेत्रमा २९.५ प्रतिशत लगानी रहेको छ ।

अध्ययन वर्षमा वैदेशिक लगानीको कुल मौज्दात १४.८ प्रतिशतले बढेको छ । यो सँगै २ खर्ब २७ अर्ब ९५ करोड रुपैया वैदेशिक लगानी मौज्दात रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

केन्द्रिय बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारेको हो ।


प्रतिक्रिया

One thought on “नेपालमा ५५ देशको लगानी, उद्योगमा सबैभन्दा बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर