औद्योगिक विकास गर्न औद्योगिक क्षेत्रको पूर्वाधार आवश्यक: गोल्छा – Nepal Press

औद्योगिक विकास गर्न औद्योगिक क्षेत्रको पूर्वाधार आवश्यक: गोल्छा

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र त्यसमा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनुपर्ने उनको भनाइ थियो । औद्योगिक क्षेत्रमा उद्योगहरुलाई लिज सम्झौताको समयावधि पनि बढाउनुपर्ने अध्यक्ष गोल्छाले बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६९ औं साधारणसभामा बोल्दै उनले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भएपनि बंगलादेश पाकिस्तानको जस्तो समस्या नआउने प्रष्ट पारे ।

‘समस्या छ नभएको होइन, अब देश बंगलादेश, पाकिस्तानजस्तो हुन्छ भन्ने शब्दले उद्योगी व्यवसायीको मनोवल गिराएको छ, हामीले विज्ञहरुसंग पनि परामर्श गरेका छौ, त्यस्तो दुर्घटनामा फस्ने खालको समस्या होइन ।’ उनले भने ।

उनले बैंकको व्याजदर सय प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताए । मुलुकको अर्थतन्त्रको सुधारको लागि सन् २०३० सम्मलाई तार्गेट गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले इन्डोर गरेको बताउँदै कतिपय कुराहरु सम्बोधन भइसकेको उनले बताए । उद्योगी व्यवसायीको समस्याको समाधानको लागि महासंघले विज्ञहरुसंग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको गोल्छाले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सीमानाको कारण यस क्षत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै दीर्घकालीन समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे । अध्यक्ष कसजूले चालू पूँजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, समयमा सडक निर्माणको काम नसकिदा व्यवसायी मारमा परेको, तरलता अभाव, महंगी लगायतका समस्या राख्दै सरकारका व्यवसायिक अव्यवहारिक नीतिका कारण लागत बढ्नुको साथै प्रतिस्पर्धी क्षमतामा ह्रास आएको बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताए । त्यस्तै बुटवल १५ मा कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको उनले बताए ।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले सरकारी नियमनले उद्योगी व्यवसायीलाई हतोत्सायी बनाएको बताउँदै समस्या समाधानको लागि महासंघले नेतृत्व लिनुपर्ने धारणा राखेका थिए । उनले निजी क्षेत्रको प्रवद्र्धन र विकास हुन सकेन भने देशको अर्थतन्त्र विग्रिदै जाने भएकाले समयमै ध्यान दिनुपर्ने बताए ।

महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्थानीय तहमा करको दर घटाउन प्रतिस्पर्धा गर्नुपर्नेमा बढाउन प्रतिस्पर्धा भइरहेको आरोप लगाए । उनले सरकारले ल्याउने नीतिले स्थायित्व पाउनुपर्ने बताउँदै नीति स्थायित्व नहुँंदा व्यवसायी मारमा परेका बताए ।

बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ सरकारका नियमनकारी निकायले आफूले गल्ती गर्ने र निजी क्षेत्रलाई दोष दिने गरेको बताए । सात दिन बैंकको कर्जा शून्य गर्नुपर्ने राष्ट्रबैैंकको नयां व्यवस्था उद्योगी व्यवसायीको हित विपरीत रहेको उनको भनाइ थियो ।

एशोसियट उपाध्यक्ष रामचन्द्र सांघाईले मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा सरकार गम्भीर नदेखिएको बताउँदै चाँडो बनाउनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघमा निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठ, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सम्मानित मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारले आफ्नो धारणा राखेका थिए ।

समाजसेवी अधिकारी र खेलाडी मास्केलाई सम्मान

साधारणसभाको अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ ।

मानवताको सेवामा समर्पित मानव सेवा आश्रमका अध्यक्ष अधिकारी र वास्केटवल खेलाडी मास्केलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला माला लगाएर सम्मान गरे ।

त्यसै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई आर्थिक सहयोग गरिएको छ । मन्दिरको सञ्चालन व्यवस्थापन र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई भवन निर्माणको लागि जनही १ लाख १ हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर