त्रिशुली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने – Nepal Press

त्रिशुली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने

काठमाडौं । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) सेयर निष्काशन गरी प्रतिसेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्म १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्ने छ ।

साविकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले बताए ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान वमोजिम शेयरधनीले प्रति कित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् ।

सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. रहेको छ ।

जनताको जलविद्युत कार्यक्रम ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ ।

‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ प्रबन्ध–सञ्चालक गौतमले भने ।

आयोजनाका प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर