लुम्बिनी प्रदेश राजधानीको पूर्वाधारका लागि संघ सरकारसँग बजेट माग – Nepal Press

लुम्बिनी प्रदेश राजधानीको पूर्वाधारका लागि संघ सरकारसँग बजेट माग

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी निर्माणका लागि संघीय सरकारसँग थप बजेट मागेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको पहिलो गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणको कामलाई बजेट अभाव हुन नदिन संघीय सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकासका लागि विभिन्न दातृनिकाय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग आवश्यक स्रोत व्यवस्थापन गरिदिन संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

बैठकले प्रदेशका विपद्जन्य घटनाबाट क्षतिग्रस्त उद्योगलाई सहयोग तथा राहत प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै ग्रामीण सडक सञ्जाल सुधार आयोजना, कार्यान्वयन इकाई संचालनका लागि अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

त्यसैगरी बैठकले रोल्पामा रहेको तिला जनयुद्ध संग्रहालय विकास सदस्यमा कृष्णकुमार नेपाली, रोल्पा, लालसरी घर्तीमगर रोल्पा, मानबहादुर पुन, रोल्पालाई मनोनित तथा चुनवाङ्ग शान्ति संग्रहालय विकास समितिमा सदस्यमा टीकाबहादुर उपाध्याय रुकुमपूर्व, ललिता बुढा रुकुमपूर्व, टेकबहादुर बुढा रुकुमपूर्वलाई मनोनीत गरेको छ ।

प्रवक्ता शर्माले उच्चशिक्षामा मुक्तकमैया, कम्लहरी, मुस्लिम र सीमान्तकृत छात्रवृत्ति विवरण कार्यविधि, २०७९ स्वीकृत गर्ने र डा. विष्णु गौतम (एघारौं तह) लाई पाल्पा अस्पताल, तानसेनमा कामकाज खटाउने निर्णय गरेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर