राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आज विधायन समितिमा छलफल हुँदै – Nepal Press

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आज विधायन समितिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।

मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले नेपाल प्रेसलाई बताए । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।

प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।

हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए ।

विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत छ । कांग्रेसबाट ज्येष्ठ सदस्य नारायणदत्त, जितेन्द्रनारायण देव र प्रकाश पन्तसमेत तीनजना छन् । नेकपा माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, सुरेशकुमार आलेमगर र राधेश्याम पासवान गरी ४ जना छन् ।

नेकपा एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरवसुन्दर श्रेष्ठ छन् । राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौडयाल एमालेनिकटकै हुन् । यसो गर्दा एमालेको पक्षमा ४ जना पुग्छ ।

नेकपा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल र उदयबहादुर बोहरा गरी दुईजना छन् । सांसद खिमलाल देवकोटा पनि नेकपा एसनिकट नै मानिन्छन् । जसपाबाट प्रमिलाकुमारी सदस्य छन् ।

यसरी हेर्दा समितिमा गठबन्धनकै बहुमत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर