हुन्डी र क्रिप्टोको बिगबिगी, फलफूल व्यापारीसमेत प्रहरीको निगरानीमा – Nepal Press

हुन्डी र क्रिप्टोको बिगबिगी, फलफूल व्यापारीसमेत प्रहरीको निगरानीमा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौंको नरदेवीबाट ७४ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गर्‍यो ।

उक्त पैसा हुन्डीको भएको प्रहरीको दाबी छ । पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

नरदेवीमा अग्रवालले सन्चालन गरेको जय श्री खाटु इन्टरनेसनलबाट उक्त रकम बरामद भएको प्रहरीको दाबी छ । त्यहाँबाट विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको चेक पनि बरामद भएको छ ।

सोही दिन मात्र राजस्व अनुसन्धान कार्यालयले ६९ लाख ९९ हजार रुपैयाँसहित बालाजुबाट पक्राउ परेका विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । पैसा बरामद हुँदा एक जना मात्र भए पनि अनुसन्धानका क्रममा थप तीन जनाको संलग्नता खुलेको भन्दै उनीहरुविरुद्ध पनि अभियोग पत्र दर्ता भएको हो ।

विभागका अनुसार उक्त पैसा हुन्डीको थियो । जापानबाट पठाउनुपर्ने पैसा गिरोहले नेपालबाटै भुक्तान गर्ने क्रममा पैसा बरामद भएको विभागको दाबी छ ।

गत साता मात्र काठमाडौं प्रहरीले बौद्ध क्षेत्रबाट ४९ लाख ५० हजार ५० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो । जेठ २४ गते थानकोट वृत्तले ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँसहित ४ चाइनिजसहित ५ जनालाई पक्राउ गरेको थियो । उनीहरू नुवाकोटबाट गाडीमा आउने क्रममा थानकोटमा चेकजाँचका क्रममा नागढुंगामा पक्राउ परेका थिए ।

बालाजु प्रहरी वृत्तले वैशाख १७ गते १६ लाख रुपैयाँसहित दुई जनालाई माछापोखरी कुमारी स्थानबाट र दरबारमार्ग वृत्तले २०७८ मंसिर १७ गते ६९ लाख ५० हजारसहित बिइङ ह्युमनका सञ्चालकलाई उनको स्टोरबाट पक्राउ गरेको थियो ।

थानकोट वृत्तले २०७८ भदौ २२ गते ११ लाख रुपैयाँसहित १ जनालाई नागढुंगाबाट, कालीमाटी वृत्तले २०७८ भदौ १५ गते ३० लाख ७ हजार रुपैयाँसहित २ जनालाई कालीमाटी फलफूल बजारबाट, जनसेवा वृत्तले २०७८ भदौ ८ गते खिचापोखरीबाट ८५ लाख ५६ हजारसहित २ जना र जनसेवा वृत्तले २०७८ साउन २५ गते ९१ लाख ९६ हजारसहित ४ जनालाई गण बहालबाट पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकाको अपराध अनुसन्धानमा केन्द्रित रहने काठमाडौं उपत्यका अनुसन्धान कार्यालय पनि हुन्डी गतिविधि नियन्त्रणमा सक्रिय देखिन्छ । गत फागुन २२ गते ताहाचलबाट एक करोड ५० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका थिए ।

गत मंसिर २६ गते कालीमाटीबाट १६ लाख २० हजार ९ सय रुपैयाँसहित एक जना पक्राउ परेका थिए ।

गत जेठ २१ गते कालीमाटीको टंकेश्वरमा डेरा गरेर बस्ने व्यक्तिको कोठाबाट १७ लाख ६६ हजार नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँ बरामद भएको थियो । २०७७ साउन ९ गते काठमाडौंको विशाल नगरबाट १९ लाख ९१ हजार रुपैयाँसहित एक जना पक्राउ परेका थिए ।

हुन्डी कारोबारको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार कालीमाटीका फलफूल व्यापारी, न्युरोड, विशालबजार र महाबौद्धका कपडा व्यापारीहरू बढी निगरानीमा रहने गरेका छन् । ‘कर छली र भुक्तानीका लागि हुन्डीको बाटो अपनाउने गरेको देखिएको छ’, ती अनुसन्धान अधिकृत भन्छन् ।

राष्ट्र बैंकको कडाइले सडकमा पैसा

हुन्डी नियन्त्रणका लागि राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा बढीको कारोबार चेकमा गर्नुपर्ने व्यवस्था गरेको छ । बैङ्किङ प्रणालीमा आएपछि निगरानी गर्न सजिलो हुने भएकाले चेकमार्फत कारोबार गर्नुपर्ने व्यवस्था ल्याइएको हो ।

विदेशी मुद्राको सन्चिती घट्नुमा हुन्डीलाई एउटा प्रमुख कारण मानिने गरेको छ । पछिल्लो समय फस्टाएको क्रिप्टाे कारोबारले पनि अर्थतन्त्र कमजोर बनाउँदै लगेको बताइन्छ ।

केही समयअघि राजस्व अनुसन्धान विभागले गरेको एक अनुसन्धानमा एक व्यक्तिले २/३ महिनाको अन्तरमा ३६/३७ करोडको बैङ्किङ कारोबार गरेको पाइएको थियो । अनुसन्धानका क्रममा ती व्यक्तिको खातामा विभिन्न व्यक्तिहरूले पैसा जम्मा गरेको पाइयो ।

अनुसन्धान अधिकारी भन्छन्, ‘त्यस घटनामा पक्राउ परेका व्यक्तिले विभिन्न व्यक्तिको क्रिप्टोबापत तिर्नु पर्ने डलर विदेशबाटै तिरिदिएर नेपालबाट नेपाली पैसा आफ्नो खातामा जम्मा गर्न लगाएको देखिन्छ ।’

यसरी अन्य व्यक्तिले क्रिप्टोको कारोबारको पैसा एउटै व्यक्तिको खातामा जम्मा गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले एक पटकमा ७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने व्यक्तिहरूको विवरण पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । यसले गर्दा क्रिप्टो कारोबारीहरूले नगदमै पैसा लिने गरेको बताइन्छ ।

हुन्डी र क्रिप्टोमा संलग्न भएको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ मङ्गलवार मात्र पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनको बैंक खाताबाट करिब ४८ करोड नेपाली रुपैयाँको कारोबार भएको भन्दै त्यस बराबरको बिगो माग गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मङ्गलवार नै क्रिप्टो र हुन्डी कारोबारका आरोपी काभ्रेको मन्डनदेउपुरका २८ वर्षीय विश्वराम श्रेष्ठसँग ६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

दुबईमा बस्ने आफन्तले अन्य नेपालीसँग हुन्डीको रकम उठाएर क्रिप्टो किन्ने र त्यसमा विश्वरामले नेपालमा बसेर कारोबार सम्हाल्ने गरेको दाबी प्रहरीको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले साउन १६ गते झापाको गौरादहका ५० वर्षीय गणेश प्रसाद सेढाईलाई क्रिप्टो र हुन्डी कारोबारीको आशंकामा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सेढाईले डलर र अन्य मुद्रासहित मासिक एक करोड ५० लाख रुपैयाँको कारोबार गर्ने गरेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर