हेडक्वार्टरको निर्देशनविपरीत प्रदेश प्रहरी प्रमुखले बाँडे मनलाग्दी पुरस्कार – Nepal Press

हेडक्वार्टरको निर्देशनविपरीत प्रदेश प्रहरी प्रमुखले बाँडे मनलाग्दी पुरस्कार

काठमाडौं । बागमती प्रदेश प्रहरीले स्थानीय निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै जेठ १३ गते मातहतका १३ वटै जिल्लाका प्रहरी प्रमुखलाई पुरस्कृत गरेको छ ।

मतदानका दिन दर्जनौँ राउन्ड हवाई फायर भएका सिन्धुपाल्चोक, दोलखा, रामेछापका प्रहरी प्रमुखपनि पुरस्कृत भएका छन् ।

‘यो त पुरस्कार भन्ने शब्दकै अपमान भयो । पुरस्कार विशेष काम गरेबापत दिइने हो । तर प्रदेश प्रमुखले आफ्नो अधिकारको दुरुपयोग गरे’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने ।

बागमती प्रदेश प्रहरीले अभिलेखमा जानिने गरी जनही १५ सय रुपैयाँले पुरस्कृत गरेको छ ।

लुम्बिनी प्रदेशले पनि १२ जिल्लाका प्रहरी प्रमुख, दङ्गा र गण प्रमुख तथा प्रदेशका चार जनालाई पुरस्कृत गरेको छ। यता प्रदेश(१ ले १४ वटै जिल्लाका प्रहरी प्रमुखसहित ५२ जनालाई पुरस्कृत गरेको छ ।

मतदानको दिन उदयपुरमा गोली चल्दा एक जना सर्वसाधारणको ज्यान गएको थियो । अन्य प्रदेश प्रहरी प्रमुखहरूले पनि निर्वाचनमा राम्रो काम गरेको भन्दै मातहतका कार्यालय प्रमुखहरूलाई पुरस्कृत गरेका छन् ।

स्रोतकाअनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सेलमा रहेर उत्कृष्ट काम गरेकालाई पुरस्कृत गर्न र अन्यलाई प्रशंसा पत्र दिनका लागि लागि परिपत्र गरेको थियो । केन्द्रीय निर्वाचन सेलले त्यस्तो परिपत्र गरे पनि प्रदेशले भने आफूखुसी पुरस्कार बाँडेको हेडक्वार्टर अधिकारीहरू बताउँछन् ।

‘पुरस्कार नै दिने हो भने त हकदार फिल्डमा खटिने जवान, हवलदार तथा जुनियर अफिसरहरू हुन्’, ती अधिकारी भन्छन् । निर्वाचनलाई सम्पन्न गर्न संगठनका सबै कर्मचारीको उत्तिकै भूमिका निर्वाह गरेकाले पुरस्कार दिने भए ती सबै जना हकदार भएको ती अधिकृत बताउँछन् ।

निर्वाचन सेलअन्तर्गत जिल्ला र प्रदेशमा ७/७ प्रहरीको टोलीले काम गरेको थियो । प्रहरी नियमावली २०७१ मा कार्यालय प्रमुखले मातहतका कर्मचारीलाई पुरस्कृत गर्न सक्ने व्यवस्था छ ।

नियमावलीको दफा १९७ मा आफ्नो वा आफ्नो मातहत कार्यालयका प्रहरी कर्मचारीहरूले आफ्नो कर्तव्यपालनको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीहरूलाई पुरस्कार स्वरूप तलबवृद्धी थप वा एकमुष्ट रकम दिन सक्नेछन्’ भन्ने उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर