भक्तपुर नपामा नेमकिपा एक्लो प्रतिस्पर्धी, कांग्रेस र एमाले धेरै पछाडि – Nepal Press

भक्तपुर नपामा नेमकिपा एक्लो प्रतिस्पर्धी, कांग्रेस र एमाले धेरै पछाडि

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी चुनावी दौडका एक्लो प्रतिस्पर्धी जस्तै देखिएको छ । यहाँको मेयर र उपमेयरमा नेमकिपाका उम्मेदवारहरु अन्य दलका प्रतिस्पर्धीलाई धेरै पछाडि पारेर अगाडि बढेका छन् ।

भक्तपुर नपाको मेयरमा नेमकिपाका सुनिल प्रजापतिले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामप्रसाद कासुलाले भन्दा पाँचगुणा बढी मत ल्याएर अग्रता लिइरहेका छन् ।

जारी मत गणनाअनुसार प्रजापतिले १२,३४८ मत ल्याएका छन् । कासुलाले भने २,१६५ मत पाएका छन् । एमालेका रवीन्द्र लाछिमस्यू १,४८९ मतसहित कासुलालाई पछ्याइरहेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार सत्य त्वायनाले १,४०८ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले अरु प्रतिस्पर्धीहरुलाई धेरै पछाडि पारेकी छन् । उनले हालसम्म १२,५७५ मत ल्याएर अग्रता कायम गर्दै आएकी छन् । उनलाई एमालेकी रञ्जना चापागाई खर्बुजाले १५८८ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १,१५५ मत ल्याएका छन् ।

अग्रस्थानमा रहेका मेयर प्रजापति र उपमेयर जोशी अघिल्लो निर्वाचनमा समेत सोही पदमा अत्यधिक मतसहित निर्वाचित भएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकामा अहिलेसम्म १८,५५६ मत गणना भइसकेको छ ।

यहाँका वडा नं १,२ र ३ को अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको छ । यी तीनवटै वडामा नेमकिपाले क्लिन स्वीप गरेको छ । मत गणना भइरहेको ४ र ५ नम्बर वडाका सबै पदमा नेमकिपाका उम्मेदवारहरु अग्रस्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर