राप्रपाको सुधारः कहाँ-कहाँ जित र अग्रता ? – Nepal Press

राप्रपाको सुधारः कहाँ-कहाँ जित र अग्रता ?

काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा दयनीय नतिजा व्यहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक केही सुधार देखाएको छ । हालसम्म सो पार्टीबाट ११ वटा वडाध्यक्ष निर्वाचित भएका छन् भने १४ वटा पालिका प्रमुखमा राप्रपाका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा राप्रपाले देशभरिबाट जम्मा ६३ वटा वडा र ५ पालिकामा जित हासिल गरेको थियो । यसपाली २.२५ प्रतिशत मात्र मतगणना सकिँदा अघिल्लो चुनावको तुलनामा राम्रो माहोल देखिएको छ । पहिलेको भन्दा कम्तिमा तीन गुणा बढी वडा र ६ गुणा बढी पालिका जित्ने अपेक्षा नेताहरुले गरेका छन् ।

अहिलेसम्म प्राप्त मत परिणामका आधारमा ३० वटाभन्दा बढी पालिकाहरुको प्रमुखमा जित्ने आँकलन गरिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

‘अघिल्लो स्थानीय तहको चुनावभन्दा धेरै सुधार भएको छ,’ उनले भने, ‘भर्खरै नेतृत्व परिवर्तन भएको अवस्थामा तयारीका लागि समयाभावका वाबजुद सोचेभन्दा राम्रो परिणाम ल्याइरहेका छौं ।’

कुन-कुन वडा जित्यो ?

कपिलवस्तुको कृष्णनगरमा १ मा राप्रपाका टुकनाथ चौधरीले प्यानलसहित जित हासिल गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ नम्बर वडा अध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भए । यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिका-१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान) ले जितेका छन् ।

चितवनको माडी नगरपालिका(चितवन) वडा नं. १ को अध्यक्ष पदमा अमित लामा विजयी हुँदा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ को अध्यक्षमा छेदीलाल श्रीवास्तवले प्यानलसहित जित हासिल गरे ।

नवलपरासी, रामग्राम-१ को अध्यक्षमा राप्रपाका रुद्रप्रसाद सिंह लगायत सम्पूर्ण उमेदवारहरु निर्वाचित भए । डोटीको केआई सिंह गाउँपालिका-७ को अध्यक्षमा राप्रपाका दिलबहादुर बलायर प्यानलसहित विजयी भएका छन् ।

यस्तै, बैतडीको सुर्नया गाउँपालिका-२ मा र गणेशबहादुर विष्ट प्यानलसहित निर्वाचित भएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-७ को अध्यक्षमा उमेश कार्कीले पनि प्यानलसहित जितेका छन् । धादिङको खनियाबास गाउँपालिका-१ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी हुँदा रुपहेन्दीको ओमसतियामा बेलबहादुर बरालको प्यानलले जितेको छ । यस्तै, कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्षमा बिक्रम चन्दसहित प्यानल विजय भएको छ । 

कुन-कुन पालिकामा सम्भावना ?

राप्रपाले अघिल्लो चुनावमा नेपालगञ्ज उपमहानगर पालिकामा मेयर जितेको थियो । सो पार्टीबाट डा. धवलशम्शेर राणा मेयर निर्वाचित भएका थिए । झापामा गौरीगञ्ज, कचनकवल र हल्दिवारी गाउँपालिकामा राप्रपा विजयी भएको थियो । यस्तै, धादिङको रुविभ्याली गाउँपालिकामा पनि राप्रपा उम्मेदवार विजयी भएका थिए । नेपालगञ्ज र धादिङमा अन्य दलसँग राप्रपाले तालमेल गरेको थियो ।

यसपालीको अग्रता हेर्दा पहिलेभन्दा राम्रो नतिजा आउने निश्चित भइसकेको छ । कपिलवस्तुका दुई पालिकामा राप्रपाले अध्यक्ष जित्ने सम्भावना देखिएको छ । जिल्लाका शिवगञ्ज र कृष्णनगरमा राप्रपाका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

काठमाडौंको शंकरापुर नगरपालिकामा राप्रपा उम्मेदवार अगाडि छन् । झापाका हल्दिवारीसहित दुईवटा पालिकामा राप्रपाले अग्रता लिएको छ । हन्दिवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको पालिका हो । नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाका नन्दलाल वैश्य पनि प्रतिस्पर्धामा अगाडि छन् । वैश्य माओवादीबाट राप्रपामा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुखमा पनि राप्रपाका राम थापाले अग्रता लिएका छन् । उनी सत्ता गठवन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिकामा राप्रपाले अग्रस्थान कायम गरिरहेको छ । रुपन्देहीको सिद्धार्थनगर, रोहिणी र ओमसतिया तथा परासीको रामग्राम नगरपालिमा पनि जितको नजिक रहेको प्रवक्ता शाहीले बताए ।

अहिलेसम्म आएको नतिजा सन्तोषजनक रहेको भन्दै शाहीले भने, ‘हामीले कम्तिमा देशभरि खुट्टा टेक्ने ठाउँ पाएका छौं ।’

विभाजनकाे असर न्यून

राप्रपाकाे हालै सम्पन्न महाधिवेशनपछि पार्टीमा विभाजन उत्पन्न भएकाे थियाे । पूर्व अध्यक्ष कमल थापा पार्टीबाट बाहिरिएर राप्रपा नेपाल गठन गरेका छन् । उनकाे पार्टीले पनि चुनाव लडिरहेकाे छ । तर, स्थानीय चुनावकाे हालसम्मकाे मतपरिणा हेर्दा राप्रपालाइ विभाजनले खासै असर गरेकाे देखिँदैन । कमल थापाकाे पार्टीले कतै पनि उल्लेख्य भाेट ल्याउन सकेकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर