झापामा मतदाता बढे, मतदान गर्ने घटे – Nepal Press

झापामा मतदाता बढे, मतदान गर्ने घटे

सुरुङ्गा (झापा) । झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०।४८ प्रतिशत मत खसेको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । विसं २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार ८४० ले मतदान गरेका थिए ।

१५ वटा स्थानीय तह रहेको झापामा हाल छ लाख ४६ हजार २६४ मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको सङ्ख्या तीन लाख २१ हजार ५२० रहेको छ भने महिला मतदाताको सङ्ख्या तीन लाख २४ हजार ७०५ जना रहेको छ । त्यस्तै अन्यमा नौ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।

झापामा सबैभन्दा धेरै मत झापा गाउँपालिकामा ७४।६६ प्रतिशत खसेको छ । यो गाउँपालिकामा २३ हजार ९४४ मतदाता रहेका थिए । मतदातामध्ये पुरुषको सङ्ख्या आठ हजार २० रहेको थियो भने महिलाको सङ्ख्या आठ हजार ५९७ रहेको थियो । यहाँ कूल मतदातामध्ये १७ हजार ८७७ ले यो गाउँपालिकामा मतदान गरेका छन् । यो कूल मतदाताले खसालेको मतको ७४।६६ प्रतिशत रहेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक मतदान अधिकृत तथा सूचना अधिकारी गणेश पाण्डेले बताए ।

त्यस्तै झापापछि बाह्रदशी गाउँपालिकामा धेरै मत खसेको छ । यो पालिकामा ७४।४१ प्रतिशत मत खसेको हो । यहाँ मतदाताको सङ्ख्या २५ हजार ८२६ रहेको छ । कूल मतदातामध्ये यो गाउँपालिकामा १९ हजार २१७ ले मतदान गरेका छन् ।

त्यस्तै सबैभन्दा कम मत भद्रपुर नगरपालिकामा ६६।३६ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो नगरमा ५१ हजार २६० मतदाता रहेकोमा ३४ हजार १५ ले मात्रै मतदान गरेका छन् । यो कूल मतदानको ६६।३६ प्रतिशत मात्र हो ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा यो वर्ष २८६ वटा मतदानस्थलका ७५५ मतदान केन्द्रबाट मतदान भएको थियो । अघिल्लो निर्वाचनमा २८३ मतदानस्थल र ६३७ मतदान केन्द्र कायम थिए ।

झापामा ६८५ जना जनप्रतिनिधि चयनका लागि दुई हजार ७८६ ले उम्मेदवारी दिएका थिए । त्यसमध्ये आठ÷आठ जना नगर प्रमुख र उपप्रमुख तथा सात÷सात जना अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै १६९ जनाको उम्मेदवारी रहेको थियो ।

झापामा प्रमुख र अध्यक्ष १५ जना, उपप्रमुख र उपाध्यक्ष १५ गरी ३० जना, वडाध्यक्ष १३१, महिला सदस्य १३१ र दलित महिला सदस्य १३१ गरी ३९३ जना र खुला सदस्य २६२ गरी जम्मा ६८५ जना जनप्रतिनिधि चयन हुनेछन् ।

कचनकवल गाउँपालिका र मेचीनगरमा भने एक÷एक जना उम्मेदवार यसअघि नै सर्वसम्वत भएका छन् तर मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले आधिकारिक घोषणा गरेको छैन । कचनकवल गाउँपालिका–४ मा नेपाली कांग्रेसकी दलित महिला सदस्य पदकी उम्मेदवार विजली दाशको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्वत भएकी छन् ।

मेचीनगर–११ मा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दलित महिला सदस्य पदकै उम्मेदवार रञ्जिता नेपाली सुन्दासको मात्रै उम्मेदवारी परेपछि उहाँ पनि सर्वसम्मत भएको हो।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर