१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित, ६४ प्रतिशत मत खस्यो – Nepal Press

१६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित, ६४ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगले मुलुभरमा जम्मा गरेर ६४ प्रतिशत मतदान भएको जनाएको छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईसीओ)मा राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको हो ।

राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ स्थानीय तह भित्रका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार ति स्थानमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय तत्काल तोकेर सूचना प्रकाशन गरी पुनः मतदान गराउन सक्नेछन् ।

आयोगका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी आयोगलाई प्राप्त भएको छैन । मतदानकेन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका संकलन भइसकेका स्थानमा मतगणना सुरु भइसकेको आयोगले जनाएको छ ।

आज भएको स्थानीय तह सदस्य निर्वाचन छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न मतदान गर्ने मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचनमा भाग लिने राजनीतिक दल एवम् उम्मेदवार, आम सञ्चारमाध्यम, पर्यवेक्षक लगायत सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ ।

यसैविच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा मतदान उत्साजनक रहेको बताएका छन् । शुक्रबार साँझ आयोलले मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  उनले आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरे पनि अपेक्षाकृत मतदान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत तराई मधेसका कतिपय स्थानीय तहमा तुलनात्मक रूपमा कम मत खसेपछि कुल प्रतिशत बढ्न नसकेको उनको भनाई थियो । आयोगका अनसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ।

आयोगले अपेक्षा गरेभन्दा कम मत खसे पनि समग्रमा मतदान उत्साहजनक रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले समग्र विश्लेषण भने आजै गर्न नमिल्ने बताए ।

आयोगले खडा गरेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र र निर्वाचन पर्यवेक्षण समिति (नियोक) को कल सेन्टरबाट निर्वाचनको अनुगमन गरेको थियो । आयोगबाट स्वीकृतिप्राप्त ६८ संस्थाका करिब ५० हजार पर्यवेक्षकले पठाएका प्रारम्भिक प्रतिवेदन पनि आयोगमा आउने क्रम जारी रहेको छ। ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको र राजनीतिक दल र उम्मेदवारले साना तिना विषयमा पनि विवाद झिकेर लोकतान्त्रिक उच्च संस्कार प्रदर्शनमा कमजोरी दर्शाएकाले केही स्थानमा स्थगन हुने स्थिति देखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर